विधान उल्लंघन नगर्ने कांग्रेसका शीर्ष नेताहरूको प्रतिवद्धता

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले पार्टीको १४औँ महाधिवेशनका बारेमा आफूअनुकूलका कुरा गरेका छन् ।

नेताहरूले आफू अनुकूल कुरा राखेपनि विधानलाई उल्लंघन गर्न नहुने सबैको एकमत थियो । नेताहरूले लोकतान्त्रिक फोरमलाई पनि मिलाएर लैजानुपर्ने धारणा राखेका थिए ।

नेपाली कांग्रेसको मुख्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठक शीर्ष नेताहरूले विधानलाई आ–आफ्नै रुपमा तर्क गरेर महाधिवेशनका बारेमा धारणा राखेका हुन् ।

बैठकमा नेता रामचन्द्र पौडेल, डा.मीनेन्द्र रिजाल, धनराज गुरुङले महाविधेशन समयमा गर्नुपर्ने धारणा राखेका थिए । त्यसका लागि कार्यतालिका बनाउन उनीहरूले माग राखे ।
अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि महाधिवेशनको प्रक्रिया शुरू गर्न सुझाव दिए ।

उपसभापति विजय गच्छदारले पार्टी समायोजनको कुरा गरेका थिए । उनले लोकतान्त्रिक फोरमलाई छिटोभन्दा छिटो कांग्रेसमा समायोजन गर्न माग गरे ।

तर, उपसभापति विमलेन्द्र निधि, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महतले आफैले बनाएको विधानअनुसार पार्टीमा काम गर्नुपर्ने बताए ।

उनीहरूले विधानको प्रावधानलाई टेकेर जानुपर्ने भन्दै विधानभन्दा बाहिर जानेबारेमा कसैले पनि नसोचेको बताएका थिए ।

केन्द्रीय सदस्य शंकर भण्डारीले विधानका साथै पार्टीले हिन्दूराष्ट्रका विषयमा पनि सोँच्नुपर्ने बताएका थिए ।

नेपाली कांग्रेसको असार २२ गतेदेखि शुरू भएको केन्द्रीय कार्यसमितिको बैठक साउन १७ गते शुक्रबार दिनको १ बजे पुनः बस्ने गरेर स्थगित भएको छ ।

000

श्रावण १५, २०७६

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो ।

गत असार २२ गतेदेखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु— कृष्णप्रसाद सिटौला, महेश आचार्य, डा. मिनेन्द्र रिजाल, धनराज गुरुङ, शंकर भण्डारीले आ–आफ्नो विचार व्यक्त गर्नु भएको थियो ।

बैठकको निर्णय देहाय बमोजिम रहेको छ—

बुढीगण्डकी जलाशययुक्त जलविद्युत परियोजना निर्माण गर्दा डुवानमा पर्ने गोरखा र धादिङ जिल्लाका धेरै गाउँपालिकाहरुको जग्गा जमिनको मुआब्जा वितरण भैसकेको तर सोही दुवै जिल्लाका आरुघाटबजार, खहरेबजार र आरखेत बजार क्षेत्रको घर जग्गाको मुआब्जा निर्धारण गरी वितरण गर्ने कार्य संघीय सरकारको ठाडो आदेशद्वारा एकाएक रोक्का गरिएको सम्बन्धमा यो बैठकको ध्यान आकर्षण भएको छ ।

सो परियोजनाको डुबान क्षेत्रमा पर्ने उक्त बजारहरुको घरजग्गा ४/५ वर्षदेखि बिक्री, नामसारी गर्न नपाउने गरी जिल्ला मालपोत कार्यालयबाट रोक्का गरिएकोबाट सो क्षेत्रका बासिन्दा, व्यापारी, उद्योगपति एवं नागरिकहरुलाई साहै्र मर्का परिरहेको सन्दर्भलाई ध्यानमा राखी सो बजार क्षेत्रहरुमा रहेको घर–जग्गाको उचित मूल्याङ्कन गरी मुआब्जा अविलम्व वितरण गर्न आजको यस बैठकले माग गर्ने निर्णय गर्दछ ।

केन्द्रीय कार्यसमितिको बैठक २०७६ श्रावण १७ गते शुक्रबार दिनको १ बजे पुनः बस्नेछ ।

समवेदना

नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङ्दम्वेकी ममतामयी ७७ वर्षीया हजुरआमा वेघमाया आङ्दम्वेको आज श्रावण १५ गते पाँचथरमा र धनुषा जिल्ला लक्ष्मीमियाँ गाउँपालिका वडा नं. ४ का क्रियाशील सदस्य रामसुन्दर यादवको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दछ ।

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको नेपाली कांग्रेस स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामना गर्दछ । साथै, उहाँहरुका सबै शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गर्दछ ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

Published : Wednesday, 2019 July 31, 8:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया