प्रचण्ड देश बाहिर जानेवित्तिकै ओलीद्वारा मन्त्री नियुक्ति, पूर्वएमालेभित्र खुसीयाली

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देश बाहिर गएको ४८ घण्टा वित्न नपाउँदै पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले मन्त्री नियुक्ति गरेर माओवादी पृष्ठभूमि भएका नेता र सांसदहरू झट्का दिएका छन् ।

बुधबार पूर्वएमाले निकटका सांसद एवम् युवा नेता योगेश भट्टराईलाई ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाएर ओलीले माओवादी पृष्ठभूमि भएका नेताहरूलाई झट्का दिएका हुन् ।

प्रचण्डले मन्त्रिमण्डलबाट केही मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरू बनाउने कुरा सार्वजनिक रुपमा भन्दै आएका थिए ।

एक महिना अगाडि प्रचण्डले पोखरामा पत्रकारहरूसँग कुरा गर्दै मन्त्रिमण्डल हेरफेर हुने बताएका थिए । प्रचण्डको भनाइलाई काट्ने गरेर ओलीले तत्काल मन्त्रिमण्डलमा कुनै हेरफेर नहुने भनेका थिए । त्यसपछि ओली र प्रचण्डबीच मनमुटाव भएको चर्चा थियो ।

तर, ओलीले प्रचण्ड देश बाहिर जानेवित्तिकै नयाँ मन्त्री नियुक्ति गरेर के सन्देश दिन खोजेका हुन् भनेर माओवादी पृष्ठभूमि भएका नेताहरू चकित परेका छन् ।

ओलीले बुधबार भट्टराईलाई मन्त्री बिनाउने निर्णय गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।

पद तथा गोपनीयताको शपथ लिएपछि भट्टराईले सिंहदरबारस्थित मन्त्रालयमा गएर कार्यभार सम्हालेका छन् । भट्टराईका लागि मन्त्री पद सुखद् कुरा हो ।

तर, नेकपाका दोस्रो तहका अध्यक्ष प्रचण्डले काठमाडौं छाडेर पत्नी, छोरी र नातीनतिनाहरूसहित घुम्न यूएई गएको अर्को दिन ओलीले एमाले पृष्ठभूमि भएका नेतालाई मन्त्री बनाएर झट्का दिएका छन् ।

हुन त पर्यटन मन्त्रालय एमालेकै भागमा परेको थियो । एमालेकै नेता मन्त्री बन्नु स्वभाविक पनि थियो ।

माओवादी पृष्ठभूमि भएका नेताहरूका अनुसार प्रचण्ड स्वदेशमा रहेका बेला मन्त्रिमण्डल विस्तार गरेको भए सकारात्मक सन्देश दिने थियो ।

‘प्रचण्ड नेपालमै भएका बेला मन्त्री नियुक्ति गरेको भए देशभरि राम्रो र सकारात्मक सन्देश जाने थियो’, माओवादी पृष्ठभूमि भएका सांसद समेत रहेका एकजना केन्द्रीय सदस्यले भने, ‘मन्त्री नियुक्तिको विषयले पार्टी एकीकरणको सन्देश बाहिर जान सकेन ।’

नाम उल्लेख नगर्ने सर्तमा नेकपाका ती नेताले भने, ‘एमाले पृष्ठभूमि भएकै नेतालाई मन्त्री बनाइयो । प्रधानमन्त्री ओली ज्यूले ठूलो छाती बनाएर माओवादी पृष्ठभूमि भएको सांसदलाई मन्त्री बनाएको भए कति राम्रो सन्देश देशभरि जाने थियो । तर, त्यसो हुन सकेन ।’

संयोग पनि मान्नुपर्छ । तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना योगेश भट्टराईको निर्वाचन क्षेत्र ताप्लेजुङमा भएको थियो । अधिकारीसहितको टोलीको निधन पनि ताप्लेजुङमा भएको हो ।

रविन्द्र अधिकारीले सम्हालेको मन्त्रालय सम्हाल्न तिनै योगेश भट्टराई बुधबार सिंहदरबार भित्रिएका छन् । गुटको कुरा गर्ने हो भने रविन्द्र अधिकारी नेता बामदेव गौतम निकटका थिए । गौतमको कोटाबाट पर्यटनमन्त्री बनेका थिए ।

यस पटक ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल गुटका भट्टराई पर्यटनमन्त्री बनाएका छन् । गौतमको भागबाट खोसेर ओलीले नेपाल समूहलाई पर्यटन मन्त्रालय दिएको चर्चा पूर्वएमालेभित्रै हुन थालेको छ ।

योगेश भट्टराईलाई मन्त्री बनाएर ओलीले ताप्लेजुङका मतदाताहरू समक्ष निर्वाचनका बेला गरेको प्रतिवद्धता पूरा गरेका छन् । निर्वाचन प्रचारका क्रममा ओलीले ताप्लेजुङमा भट्टराईलाई जिताएर पठाएमा आफूले मन्त्री बनाउने प्रतिवद्धता जनाएका थिए ।

Published : Wednesday, 2019 July 31, 7:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया