कांग्रेसको नारा र माग सुनेर सभामुख महरा झस्किए, उड्न सक्छ एउटा पद

काठमाडौं । नेपाली कांग्रेसले सभामुख र उपसभामुख दुबै पद एउटै दलको हुन नहुने भन्दै संसदको बैठकमा नारावाजी गरेपछि सभामुख कृष्णबहादुर महराको सातो उडेको छ ।

सर्लाही घटनामा संसदीय छानविन समिति गठनको माग गर्दै नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले मंगलबारको बैठक पनि अबरोध गरेका थिए ।

बैठक शुरू हुनेवित्तिकै महराले शून्य समय अगाडि बढाउन खोजेपछि कांग्रेस र राजपाले रोष्टम अगाडि पुगेर नारावाजी गरेका हुन् ।

सोही बैठकलाई महराले पेलेर अगाडि बढाउन खोजेका थिए । त्यसपछि नेपाली कांग्रेस र राजपा नेपालका सांसदहरू नारावाजी गर्दै रोष्ट्रम घेराउ गर्दै सभामुख र उपसभामुखध्ये एउटा पद प्रतिपक्ष दललाई दिनुपर्ने माग गरेका हुन्

नारावाजी गर्ने क्रममा नेपाली कांग्रेसका सांसदहरूले सभामुख महराको निरंकुशताको विरोध पनि नारा लगाएको सांसद अमरेशकुमार सिंहले जानकारी दिए ।

‘संसद नियमावलीअनुसार सभामुख र उपसभामुख पद एउटै दलको हुनु हुँदैन’, उनले भने, ‘एउटा पद प्रतिपक्षलाई दिनुपर्छ ।’

नेपाली कांग्रेसका सांसद सिंहे भने, ‘एमाले र माओवादी मिलेर एउटै दल बनेका छन् । निर्वाचन आयोगमा समेत दर्ता भइसकेपछि नेकपाले एउटा पद छाड्नु पर्छ । प्रतिपक्षलाई दिनुपर्छ ।’

मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसदहरूले एउटै दलको सभामुख र उपसभामुख हुन नहुने भन्दै नारावाजी गरेका थिए ।

आफ्नै विरुद्ध नेपाली कांग्रेसका सांसदहरूले नारावाजी लगाएपछि सभामुख महराले सभामुखका विषयमा नबोल्न रुलिङ गरेका थिए ।

सत्तारुढ नेकपाले सभामुख र उपसभामुख कब्जा गरेर राखेको छ । संसदीय परम्पराअनुसार सभामुख र उपसभामुख अलग–अलग दलको हुनुपर्छ ।

नेपाली कांग्रेसले यो विषय राजनीतिक भएको भन्दै सहमतिमा एउटा पद आफूलाई दिनुपर्ने माग राख्दै आएको छ । कांग्रेसकाे माग पूरा भयाे भने सभामुख वा उपसभामुखमध्ये एउटा पद नेकपाले गुमाउनु पर्ने हुन्छ ।

सभामुख र उपसभामुख पदमध्ये एउटा माग गर्दै संसदमा नेपाली कांग्रेसले नारावाजी र होहल्ला गरेपछि कुर्सी हल्लिएको महसुस गरेका महराले सर्वोच्च अदालतमा रहेको यो विषयलाई नउठाउन रुलिङ गरेका हुन् ।

Published : Wednesday, 2019 July 31, 2:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया