कांग्रेसका कार्यकर्ताहरूलाई राहत, ठूला नेतालाई तनाव

काठमाडौं । नेपाली कांग्रेसको विधान नियमावली मस्यौदा समितिले सदस्यता शुल्क घटाएको छ ।

पार्टी सदस्यता र नवीकरण शुल्क वृद्धि भएपछि विरोध भएको थियो । समितिले १० बाट बढाएर ५० रुपियाँ पुर्‍याएको थियो ।

नयाँ प्रावधानप्रति केन्द्रीय समिति बैठकमा धेरै सदस्यले असन्तुष्टि जनाएपछि सदस्यता शुल्क घटाएर २० रुपियाँ कायम गरिएको छ ।

पहिले क्रियाशील सदस्य बन्न दुई सय र नवीकरण गर्न एक सय रुपियाँ तिरे पुग्थ्यो । संशोधित विधानको नियमावली मस्यौदामा एकैपटक बढाएर पाँच सय रुपियाँ पुर्‍याइएको थियो ।

अहिले पुनः त्यसलाई घटाएर तीन सय कायम गरिएको छ । क्रियाशील सदस्यता नवीकरण शुल्क तीन सय ६५ पुर्‍याइएकोमा अहिले दुई सय तोकिएको छ ।

कांग्रेसमा चार लाख ७० हजार क्रियाशील सदस्य छन् । यसअघिको प्रावधानअनुसार वार्षिक नवीकरण गर्दा एक सयका दरले यी सदस्यबाट चार करोड ७० लाख नगद उठ्थ्यो ।

शुल्क वृद्धि भएपछि नौ करोड ४० लाख उठ्ने भएको छ । कांग्रेसले क्रियाशील सदस्य पनि बढाउने भएको छ ।

केन्द्रीय पदाधिकारीले दैनिक २० र सदस्यहरूले दैनिक १० रुपियाँ तिर्नुपर्ने व्यवस्था नियमावलीमा छ । यसलाई भने घटाइएको छैन ।

बरु पार्टी संस्थापन पक्षले यो रकमलाई अझै बढाउने प्रस्ताव गरेको छ । पदाधिकारी र केन्द्रीय समितिमा छलफलपछि यो विषय टुंगो लाग्नेछ ।

नियमावलीमा महाधिवेशन प्रतिनिधिका लागि दैनिक १०, जिल्ला कार्यसमिति, सदस्य, प्रतिनिधिसभा, प्रदेश सभा क्षेत्रका पदाधिकारी ५ र सदस्यलाई २ रुपियाँ लिने उल्लेख छ ।

प्रदेश अधिवेशन प्रतिनिधिसँग दैनिक ३ र पालिका पदाधिकारीसँग दैनिक २ तथा सदस्यसँग एक रुपियाँ लिने उल्लेख छ ।

Published : Wednesday, 2019 July 24, 11:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया