कम्युनिस्ट सरकारद्वारा देउवासहित कांग्रेस नेताहरूको टेलिफोन ट्यापिङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको बताएका छन् ।

वीपी कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा शहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा देउवाले लोकतन्त्रका अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाई अवरुद्ध तुल्याउन खोजिए सह्य नहुने बताएका हुन् ।

‘लोकतान्त्रिक मूल्य र मान्यतालाई कटौती गर्ने ढङ्गले विधेयक ल्याइएमा सदन अवरुद्ध मात्र होइन’, देउवाले भने, ‘सडक संघर्षमा उत्रन पनि बाध्य हुने अवस्था हुन्छ ।’

‘मिडिया काउन्सिल र मानव अधिकार आयोगसम्बन्धी विधेयक मानव अधिकार तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने ढङ्गबाट ल्याएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ’, उनले भनेका छन् ।

सभापति देउवाले अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा व्यक्ति विशेषलाई दुःख दिने नियतबाट काम भइरहेको बताए । उनले व्यक्ति विशेषको कुराकानीको टेलिफोन ट्यापिङ गरेर विरोधीलाई सिध्याउने खेलमा सरकार लागेको आरोप पनि लगाएका छन् ।

सभापति देउवाले टेलिफोन ट्यापिङको कुरा सार्वजनिक रुपमा उठाएर सबैलाई झस्काइदिएका छन् । देउवाले भने जस्तै टेलिफोन ट्यापिङ भएको छ भने त्यो विषय गम्भीर र लोकतन्त्रका लागि खतराको संकेत रहेको कांग्रेस नेताहरूले बताएका छन् ।

वीपीको विकासको सोँचका आधारमा देशलाई अघि बढाउन सकिए छोटो समयमा समृद्धि हाँसिल गर्न सकिने उनको भनाइ छ ।

सभापति देउवाले भने, ‘वीपीको विचार अहिले पनि सान्दर्भिक छ, लेखक, कथाकार, समाजवादी चिन्तकका रुपमा स्थापित उहाँको व्यक्तित्व साच्चिकै असाधारण छ ।’

राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई एकसाथ अघि बढाउनुपर्छ भन्ने मान्यतामा दृढ वीपीलाई राष्ट्रप्रति माया भएकै कारण मेलमिलापको नीति लिएर स्वदेश फर्किएको उनले स्मरण सुनाए । देउवाले भने, ‘मुख्य कुरा भनेको प्रजातन्त्र हो, प्रजातन्त्रविनाको समाजवाद हुँदैन भन्ने उहाँको प्रष्ट धारणा थियो ।’

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वीपीले जनतालाई केन्द्रबिन्दुमा राखेर राष्ट्रियता, लोकतन्त्र र समाजवादको वैचारिक आधार अघि सार्नुभएकाले देशका लागि प्रजातन्त्र नै अपरिहार्य शर्त हो भन्ने पक्षलाई सबैले मनन गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्रको विजयको हिसाबले वीपीको विचारले निकै ठूलो उचाइँ प्राप्त गरेको बताएका छन् ।

‘अहिले मुलुकका सबै राजनीतिक दलका नेतृत्वको प्रेरणको स्रोत वीपी भएको र सबैले गौरवका साथ स्वीकार गरेको अवस्था हो’, उनले भने, ‘राजा र कम्युनिष्टले वीपी विचारलाई बुझेको भए यो देश र यहाँका र जनताले यति धेरै दुःख भोग्नुपर्ने थिएन ।’

प्रतिष्ठानका संस्थापक एवम् नेपाली कांग्रेसका नेता ढुण्डीराज शास्त्रीले वीपीले लिएको प्रजातान्त्रिक समाजवादको बाटो लोकतान्त्रिक सिद्धान्त र मानव कल्याणको उचित गन्तव्य थियो भन्ने विद्यमान राजनीतिक घटनाले पुष्टि गरेको बताए ।

प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहाल र उपाध्यक्ष अञ्जली श्रेष्ठले वर्षमा एकपटक वीपीको योगदानको कुरा मात्र नगर्न र शहीद परिवारप्रति गर्नुपर्ने कर्तव्यप्रति सोँचेर काम गर्न सुझाव दिएका छन् ।

सभापति देउवाले वीपी र कृष्णप्रसाद भट्टराईको तस्वीरमा माल्यार्पण गर्नाका साथै प्रतिष्ठानका संस्थापक एवं पूर्वमन्त्री शास्त्रीलाई सम्मान र प्रतिष्ठानद्वारा प्रकाशित शहीद नामक पुस्तक लोकार्पण गरेका थिए ।

Published : Monday, 2019 July 22, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया