गगनद्वारा कम्युनिस्ट अरिँगालहरूको भण्डाफोर, ओली–राजनहरूको पर्दाफास

गगन थापा

संसदमा कुनै विषय म गम्भीरता पूर्वक उठाउँछु । त्यो दिन मविरुद्ध कुनै प्रोगाण्डा हुन्छ भन्ने कुराको म सजिलै अनुमान लगाउँछु । साथीहरूले मलाई तिम्रो बारेमा यस्तो आयो, उस्तो आयो भनेर सुनाउँछन् । म वास्ता गर्दिन । वास्ता गरेर साध्य पनि हुँदैन । म बरु रमाइलो गरेर भन्छु । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत केही साथीहरूले रोजगारी पाए भनेर वास्ता नगरिकन बस्दै हुनुहुन्छ ।

आजको विषयको सन्दर्भमा पनि मैले यस्तै सोँचाइ बनाएको थिएँ । मेरा केही शुभचिन्तकहरू तथा गुण र दोषको आधारमा समर्थन गर्ने आलोचना गर्ने केही साथीहरू र व्यक्तिहरू तथा मेरा केही मतदाताहरूले यो विषयमा तपाई आफैले प्रस्ट गर्नुपर्छ भनिसके पछाडि मेरा यी धारणाहरू लिएर आएको छु । यो समाचारको सन्दर्भमा स्पष्टीकरण दिन आएको होइन । तपाईहरूप्रति मेरो जिम्मेवारी जवाफदेहिताले तानिएर आएको हुँ ।

असार २३ गते सोमबार साँझ एउटा अनलानमा एउटा समाचार प्रकाशित भयो । गगन थापा अमेरिकी दूतावासका मुख्य सम्पर्क सूत्र प्रमाणसहित । यो समाचार प्रकाशित भइसके पछाडि त्यही साँझ र भोलिपल्ट बिहानसम्म यस्तो समाचार आउने अनलाइनको अरु साथी अनलाइनहरूमा एकै पटक एउटै समाचार तर, शीर्षक फेरेर कतै गगन अमेरिकनको एजेन्ट भएको प्रमाणित, कतै रहस्य खुल्यो, यस्ता विभिन्न शीर्षकमा समाचारहरू आए । समाचारमा बताउन खोजिएको विषय । नयाँ कुराको खुलासा भयो । गगन अमेरिकी दूतावाससँग काम गर्ने प्रमाण हामीसँग छ । उनले यस्तो यस्तो गरेको कुरा थाहा पाइयो । भन्ने ढंगबाट यस्लाई प्रस्तुत गरियो ।

यो बास्तवमा वीकिलिक्स जसले २००६ देखि यस्तो खालको विभिन्न दस्तावेजहरूलाई सार्वजनिक गर्दै आयो । अनुमानित केही मिलियन दस्तावेजहरू सार्वजनिक ग¥यो । नेपालको सन्दर्भमा पनि अमेरिकन दूतावासले आफ्नो मुख्यालयमा पठाउने गरेको आदानप्रदान भएका सूचनाहरू छन् । त्यसलाई सार्वजनिक ग¥यो । यो सार्वजनिक गर्ने क्रममा २०६८ साल भदौ १३ गते आज जुन समाचार आएको छ । खुलासा भयो । प्रमाणसहित भयो भनेर आएको छ । यो कुनै खोल्नुपर्ने कुरै होइन । कसैले खोज्नुपर्ने कुरा पनि होइन । यो पब्लिक डोमेनमा उपलब्ध भएको वर्षौं भइसक्यो । तपाईहरू मध्ये कसैले वीकिलिक्स डट ओआरजीमा गएर अहिले पनि खोज्नु भयो भने यो डकुमेन्टहरू पढ्न पाउनु हुन्छ । हिजो पनि पाउनु हुन्थ्यो । भोलि पनि पाउनु हुन्छ ।

त्यसो भए समाचार लेख्नेहरू झुक्किए त ? उनले भरखर थाहा पाए जस्तो लाग्यो ? त्यसो पनि हुन सक्छ । तर त्यस्तो होइन । किन कि यदि समाचार लेख्नेहरूले भरखर थाहा पाएका थिए भनेपनि जब उनीहरूले यसलाई खोल्छन् र पढ्छन् । त्यहाँ उनले गगन थापाको बारेमा लेखिएको मात्रै होइन । नेपालका अरु सम्पूर्ण सयौँ सयौँ मानिसका बारेमा लेखिएको र यस्तो सयौँ पृष्ठ काहीँ न कहीँ भेटिन्छ । तर, उनीहरू अरु कुनै कुराका बारेमा भन्दैनन् । केवल यसलाई सनसनीपूर्ण ढंगबाट प्रमाण भेटियो खुलासा भयो भन्ने ढंगबाट यसलाई प्रस्तुत गरिन्छ । खोट यहीँबाट देखियो ।

यसमा अरु पुरानो पुरानो विषय पनि छ । यसमा उनीहरू के भन्छन् । गगन थापा कि कन्ट्या । एम्वेसीको कि कन्ट्याक अर्थात मुख्य सम्पर्क सूत्र हो । कि कन्ट्याक भनेको एम्वेसीको नजिकको मान्छे । अर्थात खुफिया मान्छे । एम्वेसीको निम्ती सबै काम गर्ने व्यक्तिकारुका रुपमा प्रस्तुत गर्छौं । यसलाई हामीले पत्ता लगायौँ भन्छन् । कि कन्ट्याक्ट भनेको आज मात्रै एउटा अनलाइनमा अमेरिकन दूतावासका प्रतिनिधिले नेपालमा कि कन्ट्याक्ट शब्द किन प्रयोग गर्नु हुन्छ भन्ने प्रश्नको उत्तरमा – कि कन्ट्याक्ट हाम्रो सामान्य भाषामा प्रयोग गर्ने भाषा हो । समन वी टक अ लट उहाँहरूले भन्नुभएको कुरा यो छ ।

एकछिनलाई मान्नुस् उहाँहरूलाई यो कुरा थाहा थिएन । उहाँहरूले यो कुरा बुझ्नु भएन । पत्याउन मन लागेन । त्यस कारणले गर्दा कि एम्वेसी कन्ट्याक भनेको यस्तै खतरनाक कुरा हो भन्ने उहाँलाई लाग्यो । उहाँले लेख्नुभयो । उहाँहरू झुक्किनुभयो । तर, होइन । यहाँ पनि उहाँहरू झुक्किनु भएन । कि एम्वेसी कि कन्ट्याक्ट लेखिएको कुरा भनेको खतरनाक हो भन्ने उहाँलाई लागेको भए त्यही पृष्ठमा अलिक अगाडि बढ्दै गयो भने भीम रावललाई क्लोज कन्ट्याक्ट, झलनाथ खनाललाई क्लोज कन्ट्याक्ट अझ कृष्णबहादुर महरालाई वर्क डिटेक्टिभ एम्वेसी अनि सुजाता कोइराला, विजयकुमार गच्छदार, प्रकाश शरण महत, सुरेन्द्र पाण्डेलगायत मिनिस्टरलाई कि मिनिस्टर यस्ता कि क्लोज भनेर लेखिएको नेता मात्र होइन केही व्यापारी, केही पत्रकार, दर्जनौँ मान्छेहरू कुरा कही पनि लेखिएको छ । तर, अहँ ! उनीहरू केही पनि कुरा लेख्दैनन् । भन्दैनन् । उनीहरू त्यसबाट केवल छानेर कि एम्वेसी कन्ट्याक गगनलाई भनिएको छ । त्यसकारणले गर्दा गगन थापा खुफिया काम गर्छन् । लुकेर काम गर्छन् । गोप्य काम गर्छन् । खतरनाक काम गर्छन् भनेर यसलाई प्रस्तुत गर्छन् । यहाँ पनि उनीहरू झुक्किएका होइनन् । उनीहरू झुक्काउँछन् ।

यतिले पुग्दैन । उनीहरू भन्छन् कि एम्वेसी कन्ट्याक भएकोले गगनले नेपाली कांग्रेसका गोप्य गोप्य कुराहरू एम्वेसीका प्रतिनिधिहरूलाई बताउँछन् । एम्वेसीको प्रतिनिधिलाई के बताउँछन् भनेर यसमा के लेख्छन् भने एम्वेसीको प्रतिनिधिसँग भएको गोलमेचमा जहाँ अरु पनि युवा नेताहरू हुनुहुन्थ्यो । त्यसमा संविधानसभाको चुनावभन्दा करिव ३४ दिन अगाडि यो पटकको चुनावमा कहाँ कहाँ कांग्रेसको अवस्था कस्तो हुन्छ होला भन्ने प्रश्नको उत्तरमा गगनले बताए । यो पटकको चुनावमा हामीलाई गाह्रो छ । किन कि गिरिजाप्रसाद कोइराला वृद्ध हुनुभएकोले चुनावी सभाहरूमा जान सक्नु हुन्न । पहाडमा पनि गएर आयौँ । पहाडमा पनि नेपाली कांग्रेसलाई गाली गरिरहेका छन् । किन मधेसलाई हरेनौ भनेका छन् । मधेसलाई कांग्रेसले कम दियो भनेर मधेसी रिसाएका छन् । गगनले यस्तो गोप्य सूचना दियो । जुन कुरा सार्वजनिक मञ्चमा सबैले भनिरहेको कुरा । जुन कुरा मैले पनि सार्वजनिक रुपमा भनिरहेको कुरा त्यस बेलामा हामी सबै कांग्रेस मान्छेहरूले भनिरहेको कुरालाई त्यो पनि अरु थुप्रै मान्छेहरूको बीचमा गोप्य सूचना दिए भनेर प्रश्न गर्‍यो भने । एक छिनलाई मानौँ यसलाई पनि झुक्किए रे । उनले यसलाई यसै गरी नै बुझे रे । तर यहाँ पनि उनीहरू झुक्किएको होइन । किन कि त्यही पृष्ठभूमि पल्टाउँदै गयो भने माधवअधिकारकर्मी सुवोध प्याकुरेलले यस्तो भन्नुभयो, अझ रमाइलो कुरा के भने जहाँ उनीहरू गगनले यस्तो भने भनेर त्यसको फोटो राख्छन् त्यसको ठीक मुनिपट्टि विष्णु रिमालले यस्तो भन्नुभयो भनेको कुरालाई उनीहरूले त्यहाँ राख्दैनन् ।

रोचक कुरा के छ भने तत्कालीन परराष्ट्रमन्त्री केपी ओलीले नर्थ कोरियाको बारेमा अमेरिकन राजदूतसँगको भेटमा अमेरिकन जुन पोजिशन छ त्यो पोजिशनको पक्षमा हामीले एउटा निर्णय गरिसकेका छौँ । तर, त्यसलाई प्रधानमन्त्रीबाट अनुमोदन गर्न बाँकी छ भन्ने कुरा भन्नु हुन्छ । माधव नेपाल तत्कालीन सल्लाहकार राजन भट्टराईले एकजना तत्कालीन जनरल तोरणबहादुर सिंहको बारेमा हामी उनको बढुवा गर्दैनौँ । किन कि उनी मानवअधिकार उल्लंघनको घटनामा संलग्न भएको तपाईहरूको चिन्ता हामीलाई थाहा छ भनेर वार्तालाप छ । प्रचण्डले भन्नु हुन्छ हामी संसदीय व्यवस्थामा विस्तारै प्रवेश गर्दै छौँ । हामी वर्षमान पुनमार्फत तपाईहरूसँग भेट्न भेटघाट गरिराख्छौँ । भन्नु हुन्छ । यी कुनै पनि कुरामा मेरो प्रश्न छैन । मेरोे खालि यति मात्र कुरा हो । यस्तो सयौँ सयौँ पृष्ठ छ जहाँ अमेरिकन दूतावासका प्रतिनिधि र अमेरिकाबाट आएका प्रतिनिधि, मन्त्रीहरू आएका छन् । अरु अधिकारीहरू आएका छन् । उनीहरूसँगको भेटघाटमा यहाँ भएको भेटघाटलाई यसलाई यस्तो यस्तो कुराकानी भयो भनेर प्रत्येक दिन पठाउने गरेको दस्तावेजमा थुप्रै थुप्रै भेटघाटका समाचार छ । कुनै पनि कुरा उनीहरू लेख्दैनन् । बताउँदैनन् । किन उनीहरू झुक्किएका होइनन् । उनीहरूले झुक्काएका हुन् ।

यतिले पनि मानिसहरू नझुकिएला भनेर त्यसपछि उनीहरू के भन्छन् भने गगनलाई साँच्चिकै अमेरिकाले पालेको हो । त्यस कारणले गर्दा त केही समय अगाडि अमेरिकाको हावर्ड विश्वविद्यालयको कोर्ष गर्नका निम्ती सबै खर्च अमेरिकन दूतावासले पठाएको हो । वर्ल्ड इकोनोमिक फोरम जसको कार्यक्रममा केही समय अगाडि प्रधानमन्त्री डाबोसमा जानुभयो । त्यही ईकोनोमिक फोरमले योङ ग्लोवल लिडर भन्ने समूह बनाएको छ । संसारभरिबाट केही युवा लिडरहरू छान्छ । केही परिकल्पना भएको । साहस भएको सकारात्मक परिवर्तन गर्न सक्ने लिडरहरू छान्छ । नेपालबाट हामी चार जना योङ ग्लोबल लिडर छौँ । त्योमध्येको म एक जना हुँ । २०१५ मा छानिएको । अनि योङ ग्लोबल लिडरले आफ्ना युवा नेताहरूको यो समूहको सदस्यताका निम्ति उसले हार्डवर्ड युनिभर्सिटी, अक्सफोर्ड, ट्यानफोर्ड लगायतका थुप्रै विश्व विद्यालयहरूमा यसको कोर्षहरू अध्यापन गर्छ । जुन कोर्ष मैले भरखरै छोटो कोर्ष हावर्ड विश्वविद्यालयमा गरेर आएँ । यही वर्षको अक्टोबरमा सिंगापुरमा स्मार्ट सिटीको कोर्षमा सहभागी हुन प्रयास गरिरहेको छु । अर्को वर्ष अक्सफोर्डको कोर्ष छ । गगुलमा गएर हावर्ड विश्वविद्यालय स्ल्यास गगन थापा भनेर सर्च गर्नुभयो भने सबै कुरा थाहा पाइ हाल्नु हुन्छ । कसले लगानी गरको थियो भनेर ।

समाचार लेख्नेलाई यो थाहा नभएको होइन । राम्रोसँग थाहा छ । थाहा नपाएर लेखेको होइन । तर, उनीहरूले यसलाई यसरी लेखेर बताउँछन् । त्यसैले कुनै पनि कुरा अस्पष्ट भएको वा झुक्किएको होइन । सबै कुरा घाम जस्तै छर्लङग छ ।

म एउटा सक्रिय राजनीतिककर्मी हुँ । मेरो राजनीतिक भेटघाट आवतजावत भ्रमण भइराख्छ । म बेलायत जाँदै छु । त्यहाँ पनि राजनीतिक भेटघाट हुन्छ । म फर्किएर आइसके पछाडि संसदको काम सकेपछि फेरि भारत जाँदै छु । त्यहाँ पनि मेरो राजनीतिक भेटघाट हुन्छ । केही समय अगाडि चीन गएको थिएँ । केही समय अगाडि जापान गएको थिएँ । जर्मनीको उच्चस्तरीय टोली आएको रहेछ । भेट्न निम्तो आएको छ । के गर्ने के नगर्ने त्यसको सीमा मलाई थाहा छ । मैले गरेका कामका बारेमा कहाँ जानकारी गराउने त्यसबारेमा मलाई थाहा पनि छ । त्यो गरिपनि रहेको छु ।

त्यसैले यी कुनै पनि अस्वभाविक कुरा होइनन् । अस्वाभाविक काम पनि भएको छैन । यो कुरा लेख्नेलाई थाहा नभएको होइन । मलाई थाहा छ मसँग केही साथीहरू रिसाएका छन् । मेरो भूमिकाबाट रिसाएका छन् । तर, ती साथीहरू रिसाएभन्दैमा मेरो आफ्नो काम गर्न छोड्दिन । योबाट मलाई राम्रै क्षति गरौँला भनेका थिए । क्षति पुगेन भन्ने लाग्यो भने उनीहरूले आजैबाट नयाँ विषयको शरुवात गर्छन् । कुनै न कुनै विषय जसमा मलाई जोड्न सकिन्छ । ती विषयमा मलाई जोड्ने । एउटा संगठित ढंगबाट प्रधानमन्त्रीले कुनै बेला भन्नुभएको एउटा जत्था अरिँगाल परिचालन हुने, प्रायोजित ढंगले लाग्ने कुरा हामी केही समयदेखि देखिरहेका छौँ । यी कुनै पनि कुराहरू मलाई अनौठो लाग्दैन । मेरो जीवन खुला किताव जस्तो छ । मेरो घर परिवार, श्री, सम्पति, संगत, उठबस मेरो बिचार मैले गरेका सांसद र मन्त्रीका रुपमा त्योभन्दा अगाडिका सबै राजनीतिक निर्णयहरू खुला छन् । यी कुनैपनि कुरामा म साँच्चिकै चुकेको भए तपाईलाई के लाग्छ ? सरकारमा यत्रो ठूलो सरकार नै आफ्नो छ । सबै संयन्त्रहरूमा पहुँच छ । सूचनामा पहुँच छ ।

यत्रो पहुँच भएकोले जसले मसँग यत्रो ठूलो घृणा गर्छ । प्रत्येक दिन मलाई कहीँ न कहीँ स्याबोटेज गर्न सकिन्छ कि भनेर कोशिस गर्छ उ सामाजिक सञ्जालमा लेखेर चित्त बुझाएर बस्थ्यो होला ? कुनै कुरा अनलाइनमा लेखेर बस्थ्यो होला । यो बेलासम्म केही कुराहरू मैले गल्ती कमजोरी गरेको भए चुकेको भए त्यसको आधारमा धेरै अगाडि मेरा हातखुट्ट बाँधेर जे गर्नुपर्ने हो गरिसक्दैन थे होला ? यत्ति कुरा बुझिदिए पुग्छ । उनीहरू आफ्नो कुरा गर्दै गर्छन् । धन्दा चलाइ राख्छन् । मलाई राम्रोसँग थाहा छ । मलाई यसको बारेमा कुनै चिन्ता पनि होइन । मेरो एउटा राजनीतिक उदेश्य छ । म नबिराइकन । नचुकिकन । हाम्रै जीवनकालमा नेपालको परिचय बदल्न तपाई हाम्रो अवस्था बदल्नका निम्ति अविराम यात्रीको रुपमा हिँहिरहेको छु । तपाईहरू साथ चाहिन्छ ।

सामाजिक सञ्जालबाट सबैभन्दा धेरै पीडित मान्छे म हुँ । म पीडित हुँदै गर्दा पनि सामाजिक सञ्जालमा कडाइ गर्न ल्याइएको विधेयकमा संशोधन हाल्ने मै हुँ । केही व्यक्तिले सामाजिक सञ्जाल दुरुपयोग गर्दैमा नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रता खोसिनु हुँदैन । मेराबारेमा जति नै दुरुपयोग भएपनि म अभिव्यक्ति स्वतन्त्रता र जनताको पक्षमा लडिरहनेछु ।

(नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद गगन थापाले असार २८ गते शुक्रबार साँझ दिनुभएको फेसबुक लाइभको सम्पादित अशं)

Published : Saturday, 2019 July 13, 2:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया