कांग्रेस सांसद देवकोटाको कुरा सुनेर बिना मगर मुसुक्क हाँसिन्

काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभा सांसद अनिता देवकोटाले मेलम्ची खानेपानी आयोजना कुन दशैँसम्म आइपुग्ने हो भनेर कम्युनिस्ट सरकारलाई प्रश्न गरेकी छिन् ।

राष्ट्रिय सभामा आइतबार विनियोजन विधेयकअन्तर्गत खानेपानी तथा सरसफाइ मन्त्रालयको बजेटमाथिको छलफलमा सहभागी हुँदै कांग्रेस सांसद देवकोटाले दशैँसम्म मेलम्चीको पानी राजधानीबासीले खान पाउँछन् भनेर दिएको मन्त्री बिना मगरको आश्वासनलाई स्मरण गराइन् ।

‘मन्त्रीज्यूले मेलम्ची खानेपानी आयोजनाको खानेपानी विगतको दशैँमा आउँछ भन्नुभएको थियो’, उनले भनिन्, ‘त्यो दशैँ कहिलको दशैँ हो ? फेरि अर्को दशैँ आउन थाल्यो । मेलम्चीको पानी आउने ठोस सम्भावना अझै पनि देखिदैन ।’

मेलम्ची खानेपानी आयोजनाका विषयमा सरकार अलमलिएको नेपाली कांग्रेसकी सांसद देवकोटाले बताइन् ।

उनले सरकारको लापरबाहीले गर्दा खानेपानीको पाइपहरू फुटेर दुषित पानी पिउन उपभोक्ताहरू बाध्य भएको बताइन् ।

‘ठाउँ ठाउँमा पानीको पाइप फुटेको छ । पाइप फुट्दा खानेपानीमा ढलको दुर्गन्ध मिसिएको छ’, सांसद देवकोटाले भनिन्, ‘उपभोक्तालाई दुषित पानी खानुपर्ने बध्यता छ । आफ्ना संरचनालाई खानेपानी मन्त्रालयले पुनःनिर्माणमा गराएन । त्यसको सजाय उपभोक्ताले पाएका छन् ।’

नेपाली कांग्रेसकी सांसद देवकोटाले भूकम्प प्रभावित क्षेत्रमा सरकारले खानेपानी पु¥याउन नसकेको बताइन् । ‘भूकम्पपीडितलाई ठोस खानेपानीको योजना छैन’, उनले भनिन्, ‘जनतालाई स्वच्छ पिउने पानीको ठोस योजना चाहियो ।’

उनले विकासतर्फ खर्च बढाउनुपर्ने भन्दै पुँजिगत खर्चमा पनि ध्यान दिन आग्रह गरिन् । ‘पदाधिकारीको लागि भनेर बजेटमा छुट्याइएको इन्धन खर्च धेरै भएको छ । त्यसलाई कटौती गरेर खानेपानीमा हाल्नुपर्छ’, सांसद देवकोटाले भनिन्, ‘फजुल खर्चमा सरकारले मितव्ययिता गर्नुपर्छ । फजुल खर्च रोक्नुपर्छ ।’

‘दुर्गम र मधेस तराई क्षेत्रमा खानेपानीको राम्रो व्यवस्था छैन । आरसेनिकयुक्त खानेपानी खान जनता बाध्य छन्’, उनले भनिन्, ‘स्वच्छ पिउने पानी खान नपाउँदा विभिन्न रोगबाट जनता मृत्यु हुन बाध्य छन् ।’

नेपाली कांग्रेसकी सांसद देवकोटा रोष्टमबाट बोल्दै गर्दा खानेपानी तथा सरसफाइमन्त्री बिना मगर ढिला गरेर राष्ट्रिय सभा बैठकमा प्रवेश गरेकी थिइन् ।

सांसद देवकोटाको आलोचना सुनेपछि मन्त्री मगर आफ्नो सिटमा बसेर मुस्कुराएकी थिइन् । देवकोटाले खानेपानीका विषयमा दिएका सुझाव र सल्लाहलाई मगरले धमाधम आफ्नो डायरीमा टिपोट गरेकी थिइन् ।

Published : Sunday, 2019 June 30, 7:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया