आफ्नैको घेराबन्दीमा ओली सरकार

सरकार पछिल्लो समय चौतर्फी रुपमा घेराबन्दीमा पर्दै आएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसबाट भन्दा पनि सरकार नेकपाकै नेताहरूबाट घेराबन्दीमा परेको हो ।

प्रधानमन्त्री खड्गप्रसाद ओली र मन्त्रीहरूको कठोर बोली व्यवहारका कारण सरकार आफै घेराबन्दीमा पर्दै गएको हो । यति मात्रै होइन सरकारले गरेका हरेक निर्णयहरूमा विवादमा परिरहेका छन् ।

महत्वपूर्ण र ठूला निर्णय गर्दा ओलीले पार्टीभित्र कुनै सरसल्लाह नगरेकै कारण यो अवस्था आएको हो । ओलीले पार्टीभित्र सरसल्लाह गरेर ठूला निर्णय गर्न चाहँदैनन् ।

उनको यो कार्यशैलीको पार्टीभित्र विरोध हुँदै आएको छ । शीर्ष नेताहरूले ओलीको कार्यशैलीलाई सुधार गर्न भन्दै आएका छन् । प्रधानमन्त्री ओलीले कसैको कुराको सुनुवाई गरेका छैनन् ।

यही कारण ओली सरकारको जग कमजोर बन्दै गएको छ । नेकपाका केही नेताहरूले गोप्य भेला र बैठकहरू गर्दै आएका छन् । उनीहरूले ओलीलाई प्रधानमन्त्री पदबाट विस्थापित गरेर अगाडि बढ्नुको बिकल्प छैन भन्न थालेका छन् ।

प्रचण्डका अभिव्यक्तिहरू पनि ओलीलाई सहयोग मिल्ने गरी आएको छैन । प्रचण्डका गतिविधिहरूबाट ओली शसंकित हुनु स्वभाविक हो ।

नेपाली कांग्रेसले नेकपाभित्रको विवादमा आफूलाई प्रवेश गराएको छैन । पार्टीभित्रको आन्तरिक विवादमा आफूलाई प्रवेश नगराएकै नेपाली कांग्रेसलाई राम्रो हुनेछ ।

तर, नेपाली कांग्रेसले सरकारका कामकारबाहीप्रति निगरानी गरिरहनुपर्छ । ओली सरकारका गलत निर्णय र कार्यहरूको भण्डाफोर गर्नुपर्छ । नेपाली कांग्रेसले आफूलाई बलियो रुपमा अगाडि बढाइ रहेको छ । यो नै सरकारका लागि बलियो झापड पनि हो ।

एक महिने राष्ट्रिय जागरण अभियानपछि उर्जा थपिएको महशुस गरेको नेपाली कांग्रेसले भावी दिनहरूमा ओली सरकारलाई सहज रुपमा अगाडि बढ्न दिनेछैन । कांग्रेसको यो अडानले ओली सरकारका विरोधीहरूलाई सहयोग मिल्नेछ ।

Published : Sunday, 2019 June 30, 10:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया