राजालाई जस्तै ओलीलाई मञ्चमा बस्ने आशनको व्यवस्था

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली बेलाबेला विवादमा आइरहन्छन् । ओली विवादमा आउनुको कारण कसैलाई थाहा छैन ।

तर, ओली धेरै विवादमा आउन थालेपछि उनका सहयोगी र सल्लाहकारहरूले रोकथाम गर्नुपर्ने हो । त्यो कार्य गरेको देखिदैन । बरु ओलीको आलोचना हुने गरेर बनाइएका कार्यक्रमको सहयोगी र सल्लाहकारहरूले बचाउ गर्ने गरेका छन् । यो कार्यले ओलीको पहिलोको छविमा ह्रास आएको चर्चा हुन थालेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई विलाशी गाडी किन्न १७ करोड रुपियाँ दिनेदेखि महँगो सुविधा सम्पन्न हेलिकप्टरसम्मका कुरामा ओली विवादित भएका छन् ।

बजेटमा ‘मेरो सरकार’ शब्द राखेर ओली र भण्डारी झनै विवादित हुन पुगे । उनीहरूको जनस्तरसम्म विरोध भयो । राष्ट्रपति भण्डारीको सवारी पनि राजाकै शैलीमा भयो भनेर आलोचना पनि हुने गरेको छ ।

ओलीलाई शनिबार त्यस्तै खालेको अर्को विवादमा फेरि पारिएको छ । काठमाडौंको कोटेश्वरमा वृक्षारोपण दिवसका दिन आयोजित सरकारी कार्यक्रममा ओलीलाई विवादित बनाउने गरी मञ्चमा राखिएको छ ।

वन मन्त्रालय आयोजक रहेको सो कार्यक्रममा मञ्चमा ओली बस्ने कुर्सीलाई सबैभन्दा अगाडि राखिएको छ । ओलीको पछाडि लस्करै मन्त्री र उच्च कर्मचारीहरूलाई राखिएको छ ।

ओलीको कुर्सी पछाडि ओलीकी पत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा, कानूनमन्त्री भानुभक्त ढकाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित लगायतका रहेका छन् । ओली मन्त्रीहरूसँग कुर्सीको एउटै लहरमा बस्न नहुने गरी राजालाई जस्तो गरेर राखिएकोमा सामाजिक सञ्जाजलमा आलोचना भएको छ ।

एउटै मञ्चमा बसेर पनि ओलीलाई मात्रै अगाडि बस्ने व्यवस्था गरेर के सन्देश दिन खोजिएको हो भनेर सामाजिक सञ्जालमा प्रश्न उठेका छन् ।

रिपब्लिका दैनिकले प्राप्त गरेको तस्वीरमा वन मन्त्री शक्ति बस्नेत रोष्टमबाट बोल्दै गरेका छन् । अमिल्दो र असुहाउँदो गरेर मञ्च व्यवस्थापन र ओलीलाई राखिएकोमा नेपाली कांग्रेसले समेत आलोचना गरेको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले दुईतिहाइको दम्भले गर्दा सरकारले आँखा नदेख्ने भएको टिप्पणी गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै बराबरी हुन्’, उनले भने, ‘हाम्रा प्रधानमन्त्रीजीलाई निरंकुश राजा बन्ने भुत चढेको छ जस्तो मैले बुझेको छु ।’

Published : Saturday, 2019 June 29, 10:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया