कम्युनिस्ट सरकारले प्रदर्शनकारीमाथि वर्षायो लठ्ठी, कांग्रेसद्वारा विरोध (तस्वीर)

काठमाडौं । कम्युनिस्ट सरकारको निर्देशनमा नुवाकोट जिल्लाको सिसडोलका स्थानीय बासिन्दामाथि प्रहरी दमन र धरपडक भएको भन्दै नेपाली कांग्रेस नुवाकोटले अपात्ति जनाएको छ ।

नुवाकोट कांग्रेसका सभापति जगदीश्वर नरसिंह केसीले शनिबार विज्ञप्ति जारी गरेर प्रहरी दमनको विरोध गरेका हुन् ।

काठमाडौंको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा पुनः आन्दोलनमा उत्रिएपछि दमन गर्न प्रहरीले शनिबार बल प्रयोग गरेको थियो ।

नुवाकोट जिल्लाको ककनी गाउँपालिका–२ सिसडोलका बासिन्दाले पूर्वसहमति कार्यान्वयन लगायतका माग गर्दै सिसडोल ल्याण्डफिल्ड साइडमा आन्दोलन चर्काएका छन् ।

उनीहरूले एक हप्तादेखि फोहोर फाल्न दिएका छैनन् । काठमाडौं महानगरपालिकाको टोलीसँग कुरा नमिलेपछि स्थानीयले प्रदर्शन गरेका थिए । सो प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले अन्धाधुन्द लाठी प्रहार गरेको थियो ।

प्रहरी दमनमा केही प्रदर्शनकारी घाइते भएका छन् । केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले वार्ताका लागि सहमति नजुटेपछि धकेलाधकेल हुँदा केही प्रहरी र केही स्थानीयवासी सामान्य घाइते भएको जानकारी दिए ।

एक हप्तादेखि काठमाडौंको फोहर उठ्न नसक्दा उपत्यकाको चोकचोकमा फोहरको थुप्रो जम्मा भएका छन् ।

नेपाली कांग्रेस नुवाकोटका सभापति केसीले भनेका छन्, ‘नुवाकोट जिल्लास्थित ओखरपौवा ल्यान्डफिल साइट प्रभावित छेत्रका पीडितहरूले आफूप्रति भएको अन्यायका विरुद्धमा आफ्ना जायज माग राखी केही दिनदेखि गरेको आन्दोलनका सन्दर्भमा कम्युनिस्ट सरकार (प्रहरी) ले शनिबार असार १४ गरेको क्रुरुतापूर्ण दमन गरेको छ ।’

‘दमनका कारण स्थानीय प्रभावितहरूका अध्यक्ष चक्रमान बलामी, ज्ञानेन्द्र गजुरेल र मनोज राणा लगायत करीब २ दर्जनभन्दा बढी आन्दोलनकारी घाइते र त्यति नै गिरफ्तार भएका छन्’, केसीले भनेका छन् ।

घाइतेको वीपी स्मृति अस्पताल काठमाडौंमा उपचार भैरहेको छ । यसबाट सरकारको निरंकुश र अधिनायकवादी चरित्र उदाङ्गिएको केसीले बताएका छन् ।

‘ल्याण्डफिल साइट तथा उक्त घटनाबाट प्रभावितहरूको जायज माग पूरा गर्नुको सट्टा उल्टै निर्ममतापूर्वक दमन गरिएको प्रति नेपाली कांग्रेस नुवाकोट दुःख व्यक्त एवं जोडदार भर्त्सना गर्दै घाइतेहरूको शीघ्र स्वास्थलाभको कामनाका साथ गिरफ्तार भएकाहरूको यथाशीघ्र रिहाइको लागि नेपाली कांग्रेस नुवाकोट जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

Published : Saturday, 2019 June 29, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया