बालकृष्ण खाँणद्वारा कांग्रेसका घाइते नेता कार्यकर्तासँग भेट

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक एवम् केन्द्रीय सदस्य बालकृष्ण खाँणले कञ्चनपुर जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरूद्वारा सांघातिक आक्रमणमा परेर घाइते नेता तथा कार्यकर्ताहरूको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

काठमाडौंको महाराजगञ्ज बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका कञ्चनपुरका घाइते नेताहरूलाई शनिबार भेटेर नेता खाँणले स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

प्रमुख सचेतक खाँणले पछिल्लो समय नेकपाका कार्यकर्तामा शक्तिको उन्माद बढेको बताएका छन् । घाइतेहरूलाई भेटेपछि प्रतिक्रिया दिँदै नेता खाँणले कञ्चनपुरमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको टाउको फुटाउने गरी आक्रमण गर्ने घटनाका दोषीहरूलाई कारबाही गर्न माग गरे ।

बाँसबारीस्थित न्युरो अस्पतालमा कञ्चनपुरको क्षेत्र नं. १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायसहितका नेताहरूले उपचार गराइरहेका छन् ।

खानेपानी तथा सरसफाइमन्त्री बिना मगर कञ्चनपुर पुगेका बेला नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले शान्तिपूर्ण रुपमा कालो झण्डा देखाउने क्रममा सुरक्षाकर्मीको सहयोगमा नेकपाका कार्यकर्ताले सांघातिक आक्रमण गरेर टाउको फुटाइदिएका थिए ।

सत्तारुढ नेकपाका कार्यकर्ताको आक्रमणबाट कञ्चनपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगर समितिका सचिव बिक्रम चन्द, महाधिवेशन प्रतिनिधि हरेन्द्र विष्ट, नगरप्रमुखका उम्मेदवार तोयप्रसाद शर्मा, पुर्नवास नगरपालिका वडा नं. २ का सभापति चन्द्रमणि गैरे, नेपाल तरुण दलका कृष्ण चन्दलगायतका कार्यकर्ताहरू घाइते भएका थिए ।

Published : Saturday, 2019 June 29, 7:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया