कांग्रेसका युवा नेताहरूको काठमाडाैंमा गोप्य भेला, बन्यो कम्युनिस्टसँग भिड्ने रणनीति

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष र ठूला नेताहरूबीच पार्टीभित्र तिकडम चलिरहेका बेला तरुण युवा विद्यार्थीको बैठक बसेको छ ।

काठमाडौंको बत्तीसपुतलीस्थित होटेल श्रीखण्डमा शुक्रबार झण्डै दुई दर्जन तरुण, युवा विद्यार्थीको भेला भएको हो । नेपाल तरुण दलका महासचिव भुपेन्द्र जंग शाहीको पहलमा अधिकांश युवा विद्यार्थी नेताहरूको सहभागिता रहेको थियो ।

नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहले भेलाका बारेमा फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेस पार्टीभित्र हार्दिकता सहितको एकता र आत्म अनुशासनसहितको सहकार्यको माहोल बनाउने कोशिस ।’

भेलामा नेविसंघका पूर्वअध्यक्ष प्रदीप पौडेल, कल्याण गुरुङ, ऋषिकेशजंग शाह, भुपेन्द्रजंग शाही, मनोजमणि आचार्य, प्रतिमा गाैतम, गजेन्द्र कार्की, प्रमाेदहरि गुराइँ, गुरू बराल, रत्न कार्की, गणेश भट्ट , नग्रेन्द्र कुमाल, सराेज थापा, बलदेव तिमिल्सिना, कुन्दन काफ्ले, दीपक भण्डारी, युवराज पाण्डे, पुष्षकुमार शाही, दीपक भट्टराईसहितका नेता तथा त्यस बेलाका कार्यसमितिका पदाधिकारी सदस्यहरूको सहभागिता रहेको थियो ।

भेलामा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र ‘थर्ड पोल’ भनेर चिनिएका नेता कृष्णप्रसाद सिटौला समूहका नेताहरूको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसको पहिलो चरणको राष्ट्रिय जागरण अभियान सम्पन्न भएकै बेला सबै गुटका तरुण, युवा र विद्यार्थीको भेला हुनुलाई सुखद् रुपमा हेरिएको छ ।

भेलामा धारणा राख्ने नेताहरूले केन्द्रमा शीर्ष नेताहरूको व्यक्तिगत स्वार्थले पार्टी संकटमा परेको भन्दै यही अवस्थामा कम्युनिस्ट सरकारसँग भिड्न नसक्ने जनाएका छन् ।

उनीहरूले कांग्रेसलाई सही दिशामा लैजान तरुण, युवा र विद्यार्थीले विशेष पहल गर्नुपर्ने भन्दै केन्द्रीय नेतृत्वलाई दवाव आवश्यक रहेको बताए ।

भ्रातृ संगठनहरूमा देखिएको विभाजनलाई पनि अन्त्य गर्न युवा नेताहरूको सुझाव थियो ।

पार्टीभित्रको आन्तरिक विवादले कम्युनिस्टहरूलाई संविधान विपरितका क्रियाकलाप गर्न उत्साह बढेको भन्दै नेताहरूले कम्युनिस्ट सरकारको गलत क्रियाकलापविरुद्ध भिड्न अब पार्टीलाई मुख ताकेर नबस्ने उनीहरूले निस्कर्ष निकालेका छन् । साथै विभाग र भ्रातृ संगठनहरूलाई पूर्णता छिटोभन्दा छिटा दिन पनि उनीहरूले माग गरेका छन् ।

युवा नेताहरूले पार्टीभित्रको विवादलाई सार्वजनिक ठाउँमा भन्दा पनि आन्तरिक बैठकहरूमा राख्न सुझाव दिएको नेताहरूले बताएका छन् ।

Published : Saturday, 2019 June 29, 2:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया