कम्युनिस्टहरूले अब देख्ने छन् कांग्रेसकाे असली शक्तिः मीनकृष्ण महर्जन (अन्तर्वार्ता)

मीनकृष्ण महर्जन, युवा नेता, नेपाली कांग्रेस, ललितपुर

नेपाली कांग्रेस ललितपुरका जिल्ला सदस्य समेत रहेका युवा नेता मीनकृष्ण महर्जन प्रदेश सभाको निर्वाचनमा झिनो मतले पराजित भए । महासमिति सदस्य समेत रहेका महर्जनले ललितपुरलाई कांग्रेसको किल्ला बनाउने गरेर अहिलेको कांग्रेस नेतृत्व सक्रिय भएर लागेको बताउँछन् । पार्टी सभापति मदनबहादुर अमात्यलाई साथ दिँदै आएका महर्जनले गुटउपगुट र अन्तर्घात गर्ने साथीहरूलाई पनि मूलधारमा ल्याएर कांग्रेसको संगठन बनाउनुपर्ने बताउँछन् ।

नेपाली कांग्रेसको पकड हुँदाहुँदै पनि आफ्नै पार्टीका साथीहरूका कारण पारजित हुन पुगेका महर्जनले पार्टीलाई सुदृढीकरण गरेर लैजानुपर्ने मत राख्छन् । उनले युवापुस्तालाई पार्टीमा धेरैभन्दा धेरै स्थान दिनुपर्ने बताउँछन् । राष्ट्रिय जागरण अभियानबाट उत्साहित भएको बताउँदै आएका महर्जन कराते खेलमा साफ गेमका गोल्ड मेडलिस्ट हुन् । उनी अन्तर्राष्ट्रिय रेफ्री पनि हुन् ।

नेपाली कांग्रेसको संगठन निर्माणका साथै कराते खेलको विकास र खेलाडीहरूको क्षमता वृद्धिमा उनी सधै सक्रिय हुने गरेका छन् । ललितपुर कांग्रेसभित्र युवा पुस्तामा लोकप्रिय मानिने महर्जन गोदावरी नगरपालिकाको चापागाउँका स्थानीयबासिन्दा हुन् । हालैसम्पन्न भएको नेपाली कांग्रेसको एक महिने जागरण अभियानका बारेमा युवा नेता मीनकृष्ण महर्जनसँग गरिएकाे कुराकानीको सम्पादित अंश :

जागरण अभियानको बेला के–के सुझाव दिनुभयो ?

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले रोडम्याप बनायो । कार्यक्रमहरूको सूची बनायौं । पार्टीम शुद्धीकरण ल्याउनु प¥यो । कम्युनिस्टहरूको दुईतिहाइको दम्भ छ त्योसँग लड्न पनि एक हुनुपर्छ भन्ने सुझाव आएको छ । तानाशाही अधिनायकवादी सरकारको ज्यादती दिनदिनै बढ्दै गएको छ । राजनीतिक आस्थाका आधारमा विकास निर्माणदेखि असरमा भेदभाव गर्ने कार्यबाट जनता पीडित भएका छन् ।

कम्युनिस्टहरूलाई नै भोट दिने जनताहरू दिक्क भएका छन् । त्यसलाई नेपाली कांग्रेसले क्यास गर्नुपर्छ भन्ने सुझाव आएको छ । नेपाली कांग्रेसले यसलाई रोडम्याप बनाएर लैजानुपर्छ । जनताको मन जित्नुपर्छ भनेर सुझाव र सरसल्लाह दिएका छौँ । पार्टीभित्र पनि गुटबन्दी छ । गुटबन्दी मौलाएको छ ।

गुटबन्दीको अन्त्य गर्नु पर्‍यो । तेरो र मेरो मान्छे नभनेर पार्टीलाई मजबुत बनाउनका लागि सम्पूर्ण नेता तथा कार्यकर्ताहरू एकढिक्का हुनु प¥यो । यी सबै समस्या समाधानका लागि मसिनो गरेर सुझाव दिएका छौँ ।

तपाईहरूले दिएको सल्लाह र सुझाव कार्यान्वयन हुन्छ भन्ने ठान्नु भएको छ ?

कार्यान्वयन हुनुपर्छ । नेपाली कांग्रेसलाई बलियो बनाउने हो भने ललितपुरको मात्रै होइन कि देशैभरिबाट आएका सुझावलाई अक्षरंश कार्यान्वयन गर्नुपर्छ । इतिहाँस बोकेको नेपाली कांग्रेस पार्टी ‘प्रजा परिषद्’ जस्तो भएको छ । पार्टी निकै कमजोर भएको छ । प्रत्येक जिल्लामा अन्तर्घात मौलाएको छ । यो अन्तर्घातको अन्त्य गर्नुपर्छ । त्यस्ता व्यक्तिहरूको पहिचान गर्नुपर्छ ।

तपाईहरूको जागरण अभियान कसरी सफल भयो ? जागरण अभियान चल्नुभन्दा अगाडिदेखि नै ललितपुर कांग्रेसभित्र ठूलो विवाद थियो । अबस्था कुटाकुटसम्म पुगेको थियो । यस्तो अवस्थामा कसरी सफल हुनु भयो ?

जागरण अभियानका बेला कुटाकुट भएन । ३–४ महिला अगाडि पार्टीको कार्यक्रम गर्ने विषयमा सामान्य विवाद भएको हो । हामी जारण अभियानमा सफल भएका छौँ । हजारौँ स्थानीय नेता र कार्यकर्ताहरू सहभागी हुनुभएको छ । सयौँको संख्यामा विभिन्न दलका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्नुभएको छ । कार्यकर्ताहरूमा उर्जा थपिएको छ । हामीलाई पनि संगठन गर्ने हौसला मिलेको छ । सानातिना मतभेदहरू पनि भुलेका छौँ । मिलेर जाने प्रतिवद्धता जनाएका छौँ ।

तपाईहरूले असन्तुष्ट समूहलाई बोल्न मञ्च नै दिनु भएन रे ?

यो बिल्कुलै गलत कुरा हो । हाम्रो पहिलो कार्यक्रम नै ललितपुरको पाटनढोकाको अशोक पार्टी प्यालेसमा उद्घाटन गरिएको थियो । केन्द्रीय प्रतिनिधि सुरेन्द्रराज पाण्डज्यू आउनु भएको थियो । हाम्रो पार्टी सभापतिले बोल्ने क्रममा आजदेखि जो–जोले अन्तर्घात गरेको छ, जसलाई हामीले जिल्ला कार्यसमितिबाट कारबाहीका लागि केन्द्रमा सिफारिस पठाएका छौँ । उनीहरूलाई आजबाट फुकुवा भयो भनेर घोषणा गर्नुभयो । त्यहीबाट विवाद अन्त्य भयो । खुला मनले अभियानमा सबैलाई सहभागी गराएका छौँ ।

त्योभन्दा अगाडि विवाद थियो । उहाँहरूलाई कार्यक्रमहरूमा बाहिस्कार गर्ने भनेरै ललितपुरभित्र परिपत्र गरिएको थियो । अन्तर्घातीहरूलाई हामीले बहिस्कार पनि गरेको हो । राष्ट्रिय जागरण अभियानको पहिलो कार्यक्रममा नै पार्टी सभापतिज्यूले फुकुवा गरिदिनुभयो । सबै मिलेर अगाडि बढ्ने सहमति भएको छ । जिल्ला कार्यसमितिको बैठक बसेर यसलाई हामीले अनुमोदन गर्नुपर्छ । छिट्टै जिल्ला कार्यसमितिको बैठक हुँदै छ । त्यहाँबाट अनुमोदन हुन्छ ।

जागरण अभियानले ललितपुरलाई फाइदा भएन, संगठन पनि राम्रो बनेन भन्ने आलोचकहरू पनि छन् नि ?

ललितपुर जिल्लामा नेपाली कांग्रेसको संगठन कमजोर होइन । तपाई भ्रममा पर्नुभयो । कसैको कुरा सुनेर गलत आरोप लगाउनुभयो । नेपाली कांग्रेस निकै बलियो छ । ०७० सालमा नेपाली कांग्रेसले तीन वटै सिट जितेको थियो । त्योपनि अत्याधिक बहुमतले जितेका थियौँ । विपक्षी उम्मेदवारको भन्दा दोब्बर मतले जितेका हौँ । यस पटक हार्नुको कारण कम्युनिस्टहरू मिले । एमाले र माओवादी केन्द्रबीच निर्वाचनमा मिलेर चुनाव लडे । त्यसको असर पनि नेपाली कांग्रेसमा प¥यो । नेपाली कांग्रेस ललितपुरमा कमजोर छैन । कांग्रेसलाई कांग्रेसकै केही अन्तर्घातीहरूले नै हो कमजोर बनाउने । कम्युनिस्टहरूसँग भिड्ने क्षमता नेपाली कांग्रेस ललितपुरसँग भरपुर रुपमा छ ।

ललितपुरमा नेपाली कांग्रेस बलियो भएको आधार के हो ? दाबी त जे गरेपनि हुन्छ । होइन र ?

मैले पहिला पनि भने ललितपुरमा कांग्रेस कमजोर होइन । कमजोर बनाइएको हो । केही ठूला भनाउँदा अन्तर्घाती नेताहरूले कांग्रेसलाई कमजोर बनाएका हुन् । हामीले अब त्यो हुन दिँदैनौँ । जागरण अभियानका क्रममा युवाहरूको उल्लेख्य उपस्थिति रह्यो । पार्टी सभापति मदनबहादुर अमात्य आफै भिड्नु भयो ।

केन्द्रीय प्रतिनिधि सुरेन्द्रराज पाण्डेले पनि कार्यक्रमहरू राख्न हौसला दिनुभयो । जति पनि कार्यक्रमहरू भए एक महिनाको दौरानमा ती सबैमा उल्लेख्य कार्यकर्ताहरू सहभागी हुनुभएको छ । समापन कार्यक्रममा स्वयं पार्टी सभापति शेरबहादुर देउवाज्यू नै आफै आउनुभयो ।

पार्टी सभापतिले कारबाही फुकुवा गरेपछि त झन् अर्कै खालको माहौल बन्यो । त्यति मात्रै होइन समापन कार्यक्रममा तत्कालीन नेकपा (एमाले) ललितपुरका प्रभावशाली नेता रामकृष्ण हुमागाइँलाई नेपाली कांग्रेसमा प्रवेश गराउन सफल भयौँ । हाम्रा लागि उपलब्धि पनि हो । नेकपालाई काउन्टर पनि हो ।

दुई पटक गाविस अध्यक्ष भइसकेको र ०३६ सालदेखि कम्युनिस्ट बनेको व्यक्ति नेपाली कांग्रेसमा भित्रिनुलाई हामीले उच्च मूल्यांकन गरेका छौँ । उहाँ पनि पार्टीमा लागेर दुःख पाएको व्यक्ति हो । ठूलो योगदान गर्नुभएको व्यक्ति नेपाली कांग्रेसमा प्रवेश गर्दा हामीलाई फाइदा भएको छ । कम्युनिस्टहरूलाई ठूलो धक्का लागेको छ ।

ललितपुरको जागरण अभियान सबै सुगममा मात्रै भयो । दुर्गमका गाउँहरूमा कार्यक्रम नै भएन भन्ने आरोप छ नि ?

योपनि गलत कुरा हो । हाम्रो ललिपुर क्षेत्र नं. १ भनेको दोस्रो कर्णालीको रुपमा लिने गरिन्छ । मकवानपुर, काभ्रे र सिन्धुलीसँग जोडिएको छ । केन्द्रीय प्रतिनिधिहरूलाई लगेर त्यस्ता दुर्गम गाउँहरूमा गएर कार्यक्रम पनि गरेका छौँ । २ र ३ क्षेत्र एक दिनमा पूरै घुम्न सकिन्छ । भौगोलिक हिसावले १ नं. क्षेत्रमा कार्यक्रमहरू गर्न केही कठिनाइ छ ।

प्रत्येक गाउँ र क्षेत्र, गाउँपालिका र नगरपालिकामा हाम्रा केन्द्रीय प्रतिनिधिहरूलाई लगेर कार्यक्रम गरेका छौँ । बाहिर आएका हल्लाको पछाडि नलाग्नुस् । केन्द्रीय प्रतिनिधिज्यूलाई सोधे पनि हुन्छ ।

गुटको कारणले कार्यक्रम पनि जसरी हुनुपर्ने त्यसरी हुन सकेन भन्छन् नि ?

सरासर गलत कुरा हो । केन्द्रीय प्रतिनिधि पनि हामीले बौद्धिक व्यक्तित्व पयौँ । बिचार दिन सक्ने नेता, प्रष्ट वक्ता पायौँ । जे सुन्नुभएको छ त्यो गलत हो । सबै गाउँपालिका, नगरपालिका र वडाहरूमा हामी पुगेका छौँ । कार्यक्रम गरेका छौँ ।

अन्तर्घातीहरूलाई ललितपुर कांग्रेसले किन माफी दियो ?

पार्टी कमजोर भइरहेको अवस्थामा पार्टीलाई बलियो बनाउने चुनौती पनि हामीलाई छ । अहिले हामी मिलेर जानुपर्ने समय हो । दुईतिहाइको कम्युनिस्टहरूको दब्दवा रहेको अवस्था छ । कम्युनिस्टहरूको अधिनायकवाद, भ्रष्टाचार मौलाएको, कानूनी व्यवस्थाको उपहास भएको, तस्करी बढेको कारणले गर्दा अब नेपाली कांग्रेस मिलेर देशको नेतृत्व कांग्रेसले गर्नुपर्छ । देशमा समृद्धि र विकास गर्ने भनेको कांग्रेसले नै हो ।

यस्तो अवस्थामा स–साना कुरा र मतभेदहरूलाई भुलेर जानुपर्छ भन्ने सोँचका साथ भनेर कारबाही फिर्ता भएको हो । हामी जुध्नु हुँदैन, मिलेर जानुपर्छ, एकताको सन्देश दिनुपर्छ, मिलेर जानुपर्छ भनेर लागेका हौँ । हिजोका दिनमा जतिलाई कारबाही गरिएको छ कारबाही फिर्ता गरेर उनीहरूलाई सँगै लिएर गई विवाद अन्त्य गरेका हौँ ।

प्रदेश र प्रतिनिधि सभामा ललितपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरू त पराजित भए नि ? होइन र ?

हाम्रो पार्टी सभापति जम्मा आठ सय मतले पराजित हुनु भएको हो । यहाँ कम्युनिस्टहरूको भोट जोड्दा छ सात हजार फरक हुनुपर्ने थियो । त्यो भएन । म प्रदेश सभामा करीव पाँच सय भोटले पराजित भएको हुँ । मलाई पनि आफ्नै पार्टीका मान्छेहरू विरोधमा लागे ।

कांग्रेसो संगठन नगर्ने ? अनि अन्तर्घात भयो भनेर कराउने ?

कांग्रेसको संगठन ललितपुरमा राम्रो छ । कांग्रेसले जित्ने यथेस्ट सम्भावना हुँदा हुँदै पनि हामी हा¥यौँ । ०७४ सालमा भएको प्रदेश र प्रतिनिधि सभाको चुनावमा ललितपुर जिल्लामा विशेष गरी ललितपुर जिल्लाका पार्टी सभापति पूर्वमाननीय मदनबहादुर अमात्यज्यूलाई ठूलो अन्तर्घात भयो ।

उहाँलाई ठूलो शक्ति नै लाग्यो । स्वयम् पार्टीमा एउटा ईतिहाँस बोकेको, १४ वर्षकै उमेरमा राजा महेन्द्रलाई विराटनगरमा बम हान्नलाई बम बोकेको मान्छे, कलिलै उमेरमा जेल जीवन विताउनु भएको नेता, लोकतन्त्र र प्रजातन्त्रका लागि ठूलो संघर्ष गरेको तथा पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठले खुलेरै पार्टी सभापति मदनबहादुर अमात्यलाई हराउन लाग्नुभयो ।

ओमकारप्रसाद श्रेष्ठको टिम छ । एउटा गिरोह नै छ । ओमकारप्रसाद श्रेष्ठले तत्कालीन माओवादी केन्द्रको उम्मेदवार पम्फा भुसालसँग पटक पटक मिटिङ गरेर उहाँकै पैसा ल्याएर कांग्रेसको आधिकारिक उम्मेदवारलाई हराउन पैसा बाँड्ने काम गर्नुभयो । मदनबहादुर अमात्यका विरुद्ध पर्चा पम्प्लेट बाँड्ने काम भयो ।

पार्टीलाई कमजोर बनाउने काम गरे । उहाँहरूलाई कारबाहीको सिफारिस पनि गरियो । म प्रदेश सभा १ ‘ख’ र उदयशम्शेर राणा क्षेत्र नं. १ मा उम्मेदवारी दिएको क्षेत्रमा पनि अन्तर्घात भयो । हामीलाई पनि एउटा गिरोह लाग्यो । क्षेत्र नं. १ का नेपाली कांग्रेसका नेता हुँ भन्नेहरूले हराउन भूमिका खेले ।

जागरण अभियानमा भ्रातृ संगठनहरू जसरी सक्रिय हुनुपर्ने भएनन् नि ?

होइन भ्रातृ संगठनहरू सक्रिय नै छन् । उनीहरूको साथ र सहयोग नभएको भए जारण अभियान सफल हुने थिएन । बरु नेविसंघ ललितपुरमा अलिकति कमजोर नै छ । तरुण दलको केन्द्रीय अध्यक्ष जितजंग बस्नेतजी हाम्रै ललितपुरको हुनुहुन्छ । उहाँ त्यत्तिकै सक्रिय हुनुहुन्छ । ललितपुर क्षेत्र नं. १ मा ६–६ महिनामा तरुण दलले कार्यक्रम गर्दै आएको छ । बरु नेविसंघभित्र विवाद छ । नेविसंघको अध्यक्ष राजनीतिक व्यक्ति हुनुहुन्न ।

नेविसंघका लागि मथुरा शर्मा उपयुक्त व्यक्ति हो । उहाँ अलिकति राजनीतिक व्यक्ति पनि हो । मथुराजी विद्यार्थी राजनीतिबाट आउनु भएको छ । उहाँलाई काम गर्न दिइएको छैन । नेपाल महिला संघ सक्रिय छ । महिला संघको नेतृ मुना अधिकारी स्वयं नै गोदावरी नगरपालिकाको उपमेयर हुनुहुन्छ । उहाँ जागरण अभियानको कार्यक्रममा आफै खटिनु भएको छ । नेपाल दलित संघ पनि सक्रिय छ । नेविसंघको विवाद मिलाउने भनेर स्वयं सभापति मदनबहादुर अमात्यले नै भन्नुभएको छ । यो विवाद अन्त्य हुन्छ ।

काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामध्ये ललितपुर जिल्ला नेपाली कांग्रेसको संगठनमा निकै कमजोर छ भन्ने आरोप छ नि ?

होइन यो आरोप गलत हो । उपत्यकाभित्र सबैभन्दा बलियो संगठन नेपाली कांग्रेसको ललितपुरमा नै छ । यो मेरो दाबी हो । ०७० सालको परिणाम हेर्नुस् । तीन वटै सिट जितेका थियौँ । भक्तपुरमा दुई सिट थियो । एक सिट मात्रै जितेको हो । अहिले पनि ललितपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरू थोरै मतले हारेका छन् । एमाले र माओवादी केन्द्र नमिलेको भए सबै सिट जित्ने थियौँ । यति बलियो संगठन छ ।

तपाई नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्कासँग निकै निकट हुनुहुन्थ्यो नि ?

हो म आदरणीय नेता खुमबहादुर खड्क निकट नै थिएँ । म खुमबहादुर दाइँसँग ०५२ सालतिर निकट हुन पाएको हुँ । मलाई नेपाली कांग्रेस हाल केन्द्रीय सदस्य एवम् पूर्ववन मन्त्री शंकर भण्डारी दाईले लगेर चिनाउनु भएको हो । मेरो खेल जीवनको बारेमा र राजनीतिक जीवनको बारेमा शंकर भण्डारी दाईले खुमबहादुर दाईलाई सुनाउनु भयो । खुमबहादुर दाईले भन्नु भयो, मेरो टीममा बसेर काम गर्नु म तपाईलाई नेता बनाउँछु भन्नु भयो । खुमबहादुर दाईको कुराले उहाँप्रति निकै प्रभावित भएँ । उहाँसँग नजिक भएँ ।

मैले धेरै नेताहरूको नजिक भएर पार्टी संगठनको निम्ति काम गरेँ । उहाँ जत्तिको नेता कार्यकर्तालाई माया गर्ने नेता मैले देखिन । उहाँले त यतिसम्म भन्नु हुन्थ्यो कि मीनकृष्णजी तपाईलाई मन्त्री बनाएर मात्र म यो धर्तीबाट विश्राम लिन्छु भन्नु हुन्थ्यो । उहाँ कै विशेष पहलमा मैले गएको प्रदेश सभा निर्वाचन नेपाली कांग्रेसको उम्मेदवार हुने मौका पाएँ । मभन्दा सिनियर नेता पनि थिए ।

तर उहाँलाई कुन क्षेत्रमा कसलाई टिकट दिँदा चुनाव जित्छ त्यो खुमबहादुर दाईलाई कन्ठै हुन्छ । मलाई अचम्म के लाग्छ भने खुमबहादुर दाईलाई जुनसुकै निर्वाचन क्षेत्र होस् त्यो क्षेत्रको नेताको नाम थाहा हुन्थ्यो । क्षेत्रमा कसको कति प्रभाव छ ? त्यो उहाँलाई थाहा हुन्थ्यो । आज नेपाली कांग्रेस पार्टी कमजोर अवस्थामा छ । कार्यकर्ताहरू खुमबहादुर खड्का जस्तो महान नेताको खोजीमा छन् । साँच्चै भन्नु पर्दा उहाँको स्वर्गारोहणपछि एक्लो भएको छु ।

खुमबहादुर खड्कालाई फसाउन पार्टी नेताहरू हुन् भन्छन नि हो ?

हेर्नुस् यो कुरा दुनियाँलाई थाहा भएकै कुरा हो । कसले र किन फसायो भनेर । पार्टीमा खुमबहादुर दाई बलियो भएको एकथरी नेताहरूलाई मन परेको थिएन । किनकि खुमबहादुर दाई पार्टीमा बलियो हुँदा केही नेताहरूले आफ्नो भविष्य समाप्त हुँदै गएको देखेरै फसाएका हुन् । खुमबहादुर दाईले सबै नेतादेखि कार्यकर्तालाई उत्तिकै माया गर्नु हुन्थ्यो ।

खुमबरहादुर खड्का र कोइराला परिवारका बारेमा तपाईलाई कुनै कुरा जानकारी छ ?

धेरै थाहा छ । ०६५–६६ सालको कुरा हो । एकदिन गिरिजा बाबुले खुमबहादुर दाईलाई बोलाउनु भएछ । खुमबहादुरजी तपाईले मलाई सहयोग गर्नु प¥यो भन्नु भएछ । खुमबहादुर दाईले भैहाल्छनी गिरिजाबाबु पहिले पनि मैले हजुरलाई सहयोग गरेकै हो हजुरले नै मलाई टाढा राखेको हो मैले के सहयोग गर्नु पर्‍यो भन्नुस् म सहयोग गर्न तयार छु । अनि गिरिजाबाबुले भन्नु भएछ, मेरो छोरी सुजातालाई नेपाली कांग्रेसको नेतृत्वमा सरकारमा पठाउनु पर्‍यो तपाईले सहयोग गर्नुपर्‍यो भन्नु भएछ ।

अनि खुमबहादुर दाईले भैहाल्छ्नी गिरिजाबाबु म सहयोग गर्न तयार छु भन्नु भएछ । अनि खुमबहादुर दाईले गिरिजाबाबुसँग एउटा प्रस्ताव राख्नु भएछ । मलाई कांग्रेसको महामन्त्री बनाउनुस् म तपाईंको छोरीलाई सहयोग गर्न तयार छु, भन्नु भएछ, अनि गिरिजाबाबुले म तपाईलाई महामन्त्री पनि बनाउँछु गृहमन्त्री पनि बनाउँछु भन्नु भएछ, अनि खुमबहादुर दाई जवाफ दिनु भएछ गिरिजाबाबु म गृहमन्त्री हुन्न सुजाताको नेतृत्वमा म कसरी गृहमन्त्री हुन जाने ?

म ०३३ मै तपाईं कै दाजु वीपी कोइरालाको पालाको केन्द्रीय सदस्य भैसकेको व्यक्ति हो भन्नु भए छ । अनि गिरिजाबाबुले भन्न भएछ, मेरो छोरीलाई मन्त्रालयको ज्ञान छैन । चलाउने तपाईले नै हो भन्न भएछ । गिरिजाबाबुले कर गरेपछि खुमबहादुर दाईले नाई भन्न सक्नु भएन । खुमबहादुर दाई गृहमन्त्री हुन राजी हुनु भयो, त्यो बेलामा प्रधानमन्त्री माधव नेपाल हुनु हुन्थ्यो ।

गुठी विधेयक र आन्दोलनका बारेमा तपाईको भनाइ के छ ?

०४६ सालको जनआन्दोलन काठमाडौं उपत्यकाका नेवारहरू नउत्रेसम्म आन्दोलन त्यति चर्केको थिएन । जब नेवारहरू आन्दोलनमा उत्रिए अनि राजाले पञ्चायत शासन बाध्य भएर छोड्नु पर्‍यो । अनि नेपालमा प्रजातन्त्र आयो । फेरि ०५९ तत्कालीन राजा ज्ञानेन्द्रले प्रजातन्त्र ‘कु’ गरे । नेपालमा फेरि शाही शासन लागू भयो । ०६२–६३ आन्दोलन भयो । शुरू–शुरूमा त्यति आन्दोलन चर्केको थिएन । अनि जब उपत्यकाका नेवारहरू आन्दोलनमा होमियो राजा ज्ञानेन्द्रले सत्ता छोड्न बाध्य भए ।

उपत्यकाका नेवारहरुलाई खासै राजनीतिमा चासो राख्दैन । नेवारहरू आ–आफ्नो व्यापार व्यवसायमा व्यस्त हुन्छन् । यो सरकरले गुठीमाथि धावा बोलेर ठूलो गल्ती गर्‍यो । अहिलेको सरकार गुठी बिधेयक फिर्ता लिएको छ । फिर्ता भनेर हुँदैन, खारेज नै गर्नुपर्छ । नत्र यिनीहरूको आफ्नो अनुकूल मिल्ने बितिक्कै फेरि गुठी बिधेयक ल्याउँछन् ।

गुठीको जवाफ उपत्यकाका नेवार समुदायले अर्को चुनावमा दिनेछन् । चुनावमा यी कम्युनिस्टहरूको उपत्यकामा एक सिट पनि आउँदैन । यो गुठी बिधेयक फिर्ता लिनु हुँदैन भनेर बोल्ने नारायणमान बिजुक्छेलाई जनताले दण्ड दिने छन् । भक्तपुरका हजारौँ जनता पनि गुठी बिधेयकको बिरुद्धमा उत्रिएका छन । अर्को चुनावमा नारायणमान बिजुक्छेको पार्टीलाई पनि नेवार समुदायले सजाय दिनेछन् ।

तपाई करातेको खेलाडी पनि यो विषयमा नेपाली कांग्रेसले धेरै ध्यान दिएको देखिदैन किन हो ?

मलाई पनि त्यो अनुभूति भएको छ । नेपाली कांग्रेसका शीर्ष नेताहरूलाई भेटेको बेला खेलको विकास र खेलाडीहरूलाई संरक्षण गर्नेबारेमा कुरा राख्दै आएको छु । केही दिन अगाडि पनि सभापति शेरबहादुर देउवाज्यूसँग बुढानिलकण्ठमा भेट भएको बेला कांग्रेसले खेलाडीहरूको विषयमा अलिक धेरै जोड दिनुपर्‍यो भनेको छु । उहाँले हुन्छ भन्नुभएको छ । देशमा कम्युनिस्टहरूले खेललाई अस्तव्यवस्त बनाएका छन् । कम्युनिस्टहरूले खेलकुद क्षेत्रलाई अस्तव्यस्त बनाएका छन् । सबैतिर डावाडाेल छ । कांग्रेसले खेल र खेलाडीलाई बचाउनुपर्छ ।

Published : Friday, 2019 June 28, 11:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया