ओली सरकार गर्ल्यामगुर्लुम ढल्दैछ, सूचना पाएको छुः मनीष सुमन

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेश ३ का सांसद मनीष सुमनले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरूसँग सूचना रहेको खुलासा गरेका छन् ।

रिपोर्टर्स क्लव नेपालले काठमाडौंमा मंगलबार गरेको साक्षत्कारमा उनले भने, ‘ओली सरकारले देश तथा मधेश कसैको पनि हित गर्दैन् भन्ने राजपाको ठम्याइ छ ।’

‘हामी यो सरकार ढाल्ने ल्याकत राख्दैनौं । र, ल्याकत छैन पनि’, उनले भने, ‘बरु यो सरकार आफैं ढल्ने मसँग सूचना छ ।’ उनले नेकपाभित्र अहिले ठूलो समस्या रहेको पनि टिप्पणी गरेका छन् ।

महासचिव सुमनले सरकारको पछिल्लो भूमिकाप्रति आफूहरू चिन्तित रहेको बताए ।

पार्टीका केन्द्रीय सचिव तथा निलम्बित सांसद रेशम चौधरीप्रति कारागारमा पनि अमानवीय व्यवहार भएको भन्दै उनले सुत्दापनि हतियारधारी सुरक्षाकर्मी राखिएको बताए ।

सुमनले भने, ‘उहाँ अहिले बिरामी हुनुहुन्छ । उपचार गराइरहनुभएको छ । यसरी हतियार बन्द कोठामा राख्दा औषधिले पनि काम गर्दैन् । उहाँमाथि मनोवैज्ञानिक त्रास फैलाइएको छ ।’

फरक प्रसँगमा उनले राजपा र समाजवादी पार्टीबीच एकताको लागि प्रशस्त संभावना रहेको सुनाउँदै त्यसको लागि उपेन्द्र यादवले तत्काल सरकार छोड्नुपर्ने आफूहरूको अडान रहेको स्पष्ट पारे ।

उनले भने, ‘उपेन्द्रजीले तत्काल सत्ता त्याग्नुपर्छ । उहाँहरू र हामीबीच अरु धेरै कुरामा सैद्धान्तिक असहमति पनि छन् । जस्तो, राष्ट्रपतिबारे उहाँहरू प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली भन्नुहुन्छ, हामीले संसदबाट निर्वाचित हुनुपर्छ भनेका छौं ।’

मधेशी जनताले मधेशमा एउटै पार्टी भएको हेर्न चाहेको सुनाउँदै उनीहरूको मनोकांक्षा पूरा गर्नको लागि पनि एकता आजको आवश्यकत्ता रहेको सुमनको भनाई छ । उनले भने, ‘जनताले हामीलाई एकताको लागि उत्प्रेरणा दिइरहेका छन् ।’

Published : Tuesday, 2019 June 25, 5:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया