नेकपाका अरिँगालहरूद्वारा कांग्रेसका क्षेत्रीय सभपातिमाथि आक्रमण, मन्त्री बिना मगर रमिते

कञ्चनपुर । कञ्चनपुर जिल्लामा कम्युनिस्ट सरकारकी खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलाई नेपाली कांग्रेसका कार्यकर्ताले कालो झण्डा देखाउने सत्तारुढ नेकपाका कार्यकर्ताले आक्रमण गरेका छन् ।

पुनर्वास नगरपालिकामा नेपाली कांग्रेस कार्यकर्ताले खानेपानीमन्त्री मगरलाई मंगलबार कालो झण्डा देखाउन लाग्दा नेकपाका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि आक्रमण गरेको नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं. १ का सभापति गोपीप्रसाद उपाध्यायले जानकारी दिएका छन् । उपाध्यालाई पनि चोट लागेको छ ।

आक्रमण भएपछि कांग्रेसका कार्यकर्ता र नेकपाका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा परी नेपाली कांग्रेसका ४ जना कार्यकार्ता घाइते भएका छन् । केही घाइतेको टाउको फुटेको छ ।

पुनर्वास नगरपालिकाको नगर अधिवेशन उद्घाटन गर्न निर्वाचन क्षेत्र आउँदै गरेकी खानेपानी तथा सरसफाई मन्त्री मगरलाई नेपाली कांग्रेस कार्यकर्ताले कालो झण्डा देखाउन लाग्दा नेकपाका कार्यकर्ताले आक्रमण गरेको कांग्रेसको भनाइ छ ।

नेकपाका कार्यकर्ताको आक्रमणबाट घाइते हुनेमा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्याय, नेपाली कांग्रेस बेलौरी नगरका सचिव बिक्रम चन्द, नेता हरेन्द्रसिंह बिष्ट र कृष्णबहादुर चन्द रहेका छन् । उनीहरूको सेती अञ्चल अस्पताल धनगढीमा उपचारभइ रहेको छ ।

क्षेत्रीय सभापति उपाध्यायले शान्तिपूर्ण बिरोध प्रदर्शन गर्ने हकलाई सरकारी पैसा खाएर मोटाएका नेकपाका सरकारी अरिँगालहरूले कुण्ठित गर्न खोजिएको आरोप लगाए ।

‘हामीले कालो झण्डा देखाएर शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने संवैधानिक अधिकार हो’, उनले भने, ‘सरकारी सुविधा र पैसा खाएर मन्द्राएका नेकपाका सरकारी अरिँगालले सांघातिक आक्रमण गरेका छन् । उनीहरूलाई कारबाही गर्नुपर्छ ।’

दलबलसहित कञ्चनपुर आएकी मन्त्री मगरले स्थानीय सुरक्षाकर्मीहरूलाई पनि दुरुपयोग गरेको आरोप नेपाली कांग्रेसले लगाएको छ । नेपाली कांग्रेसका क्षेत्रीय सभापति उपाध्यायका अनुसार मन्त्री मगरले कार्यकर्तालाई नियन्त्रणमा नराखेर रमिते बनेकाे आराेप लगाएका छन् ।

Published : Tuesday, 2019 June 25, 4:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया