देउवाले जागरण अभियानका केन्द्रीय प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने

काठमाडौं । नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराई– मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’का केन्द्रीय प्रतिनिधिहरूसँग छलफल एवम् अन्तरक्रिया गर्ने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबार सभापति शेरबहादुर देउवा आफैले केन्द्रीय प्रतिनिधिहरूसँग सुझाव र परामर्शहरू लिने छन् ।

बुधबार बिहान ११ बजेदेखि ललितपुरको सानपास्थित पार्टी मुख्यालयमा छलफल र अन्तरक्रिया हुनेछ ।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘हिमाल, पहाड, तराई– मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को प्रथम चरणको ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिहरूसँगको छलफल एवं अन्तरक्रिया कार्यक्रम राखिएको छ’, सञ्चारकर्मीहरूलाई पठाइएको निमन्त्रणामा उल्लेख छ ।

नेपाली कांग्रेसले वैशाख २५ देखि जेठ २५ गतेसम्म ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियानका कार्यक्रमहरू गरेको थियो ।

पहिलो पटक केन्द्रबाट केन्द्रीय प्रतिनिधि खटाएर नेपाली कांग्रेसले सुझाव संकलन गरेको छ । ती सुझावहरूलाई कांग्रेसका सभापतिसहितका पदाधिकारीहरू आफैले सुन्ने छन् ।

सोही सुझावअनुसार दोस्रो चरणको जागरण अभियान चलाइनेछ । पार्टीलाई पनि चलायमान बनाइनेछ ।

निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेसले संगठनलाई कसरी बलियो बनाउने भनेर जागरण अभियान चलाएको हो ।

कम्युनिस्टहरूको दब्दबा भइरहेका बेला कांग्रेसले गाउँका कार्यकर्ताहरू सुझावहरू अनुसार अगाडि बढाउने प्रतिवद्धता जनाएको छ ।

Published : Tuesday, 2019 June 25, 3:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया