साँखुमा अरिँगालहरूकाे बिगबिगी, माधव नेपालविरुद्ध नारावाजी गर्दा हातपात

काठमाडौं । काठमाडौंको आफ्नै मतदाताले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गाडी छेकेर निर्वाचनमा गरेका प्रतिवद्धताहरू कहिले पूरा हुन्छ भनेर प्रश्न गरेका छन् ।

बिग्रिएको सडकको अवस्थाबाट आजित बनेका काठमाडौं क्षेत्र नं. २ अन्तर्गत साखुँका स्थानीयवासीले नेता नेपालको बाटो छेकेर विरोध जनाएका हुन् ।

नेता नेपालविरुद्ध नारावाजी गर्दै सडकमा गाडी छेकेर आफ्नै मतदाताले विरोध जनाएपछि सुरक्षाकर्मीहरूलाई रेस्क्यु गर्न हम्मे–हम्मे परेको थियो ।

शंकरापुर नगरपालिकाले सोमबार आयोजना गरेको नगरसभा कार्यक्रममा पुगेका नेकपाका वरिष्ठ नेता नेपालले पटक–पटक आश्वासन दिने तर, सडक निर्माणमा चासो नदिने भन्दै साँखुका स्थानीयवासीले बाटो छेकेर विरोध जनाएका छन् ।

नेता नेपाल साँखु क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् । तर, उनले निर्वाचनमा दिएका विकासका कार्यक्रम र बाचाहरू पूरा नगरेको मतदाताहरूको आरोप छ ।

इन्द्रायणीका मिलन खड्काले जनताको समस्या सुन्नका लागि समय दिनुपर्ने माग गरेका छन् । खड्काले बिग्रिएको सडकका कारण दुर्घटना हुने गरेको भन्दै पटक–पटक सडक मर्मतका लागि आग्रह गर्दा समेत काम हुन नसकेको भन्दै नेता नेपालको आलोचना गरे ।

स्थानीयवासीले जनताको समस्या सुन्नका लागि नेता नेपाल समक्ष आग्रह गरेका थिए । तर, नेता नेपालले पछि आउँछु भनेर कार्यक्रमस्थलबाट गाडी चढेर हिँडेका थिए ।

सोही क्षेत्रबाट निर्वाचित भएर पनि जनताको गुनासो सुन्न समय नदिएर हिँडेको भन्दै स्थानीयवासीले नेकपाका नेता एवम् सांसद नेपालविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

चावहिल–साँखु सडकखण्डका सर्वसाधारण लामो समयदेखि बिग्रिएको सडकका कारण निकै समस्यामा छन् ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुँदा हैरानी खेप्नुपरेको उनीहरूको गुनासो छ ।

सडक निर्माणमा विलम्ब भएको भन्दै छिटो निर्माण गर्न सम्बन्धित पक्षसँग उनीहरूको माग छ ।

नेता नेपाल गाडीमा चढेर जान लाग्दा स्थानीयले पूर्वप्रधानमन्त्री मर्दावाद भनेर नारा लागेको थियो । नेता नेपालविरुद्ध नारावाजी भएपछि साँखु शंकरापुर नगरपालिकाका मेयर र नेकपाका कार्यकर्ताहरूले नारावाजी लगाउनेहरूलाई हातपात गरेका थिए ।

नारावाजीका क्रममा धक्कामुक्का र हातपाइ भएपछि स्थानीयले राम्राे काम गर्ने हाे भने कसैका विरुद्ध मुर्दावादकाे नारा नलाग्ने बरू जिन्दावादकाे नारा लाग्ने भनेर प्रतिकार गरेका थिए ।

नेकपाका अरिँगालहरूबाट भएकाे हर्कतकाे स्थानीयवासिन्दाले बिराेध जनाएका छन् । उनीहरूले हाम्रै भाेटले जितेर जाने विकासकाे कुरा उठाउँदा अरिँगालहरू दुर्व्यवहार गरेकाे भन्दै चिन्ता जनाएका छन् ।

Published : Tuesday, 2019 June 25, 12:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया