सिटौला समूहले देखायाे कांग्रेसभित्र औकात, कार्यकर्ताकाे मन दुख्याे

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहले काठमाडौंमा अलग भेला आयोजना गरेका छन् ।

काठमाडौंको जमलस्थित सांस्कृतिक केन्द्रमा सिटौला समूहका नेता तथा कार्यकर्ताहरू मात्रै सहभागी गराएर भेला आयोजना गरिएको हो ।

जीपी कोइराला अध्ययन केन्द्रको अन्तरक्रियाका नाममा गरिएको भेलामा राष्ट्रिय जागरण अभियानको विरोध गरिनुका साथै महाविधेशनको माग गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले पार्टी पुनर्जागरणका लागि युवालाई नेतृत्वमा ल्याउन आवश्यक रहेको बताएका छन् ।

सिटौलाले ६५ वर्ष उमेर कटेका नेताले पार्टीबाट नेतृत्व छाड्नुपर्ने बताएका हुन् ।

‘६५ नाघेका हामीजस्ताले पार्टी नेतृत्व युवालाई हस्तान्तरण गर्नुपर्छ’, उनले भने, ‘युवा साथीहरू अगाडि आउनुपर्‍यो ।’

सत्ता र प्रतिपक्ष दुवै गलत बाटोमा हिँडिरहेको उनको भनाइ थियो ।

युवा नेता गगन थापाले पार्टी नेतृत्वले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

पार्टीको संगठनात्मक संरचना नरहेको अवस्थामा जागरण अभियान गर्नुको तुक नभएको उनको भनाइ छ ।

‘हामीले आउँदो फागुनमा महाधिवेशन गर्न नसके पनि यो मितिमा गर्छौँ भनेर कार्यतालिका ल्याउनै पर्छ’, उनले भने, ‘पार्टी बलियो बनाउन महधिवेशनको विकल्प छैन ।’

केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी पुनर्जागरणका लागि नेतृत्वमा गम्भीरता नदेखिएको आरोप लगाए । नेतृत्वमा भविष्यको चिन्ता नरहेको उनको भनाइ थियो ।

कार्यक्रममा सिटौला समूहले अरु नेता तथा कार्यकर्ताहरूलाई बोलाएका थिएनन् ।

Published : Tuesday, 2019 June 25, 6:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया