ओलीको हुकुमी आदेशको कांग्रेसद्वारा प्रतिवाद, कम्युनिस्ट मन्त्रीहरू चिन्तित

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको ठाडो आदेशको विरोध गरेकी छिन् ।

संसदको सोमबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद समेत रहेकी सचेतक भुसालले प्रधानमन्त्री ओलीले हुकुमी शैलीबाट आदेश दिएर मुलुक चलाउन खोजेको बताइन् ।

उनले विधिको शासन मान्ने हो भने ओलीले हुकुमी शैलीबाट आदेश दिन नमिल्ने बताइन् । प्रधानमन्त्री ओलीले वीर अस्पतालमा उपचार गराइ रहेका रेशमलाल चौधरीका सन्दर्भमा दिएको आदेशका विषयमा भुसालले कानूनमन्त्रीको जवाफ समेत माग गरेकी छिन् ।

‘प्रधानमन्त्रीले रेशम चौधरीलाई हत्कडी खोल्न लगाउनु भयो । उहाँले हत्कडी लगाउनेलाई कारबाही गर्न ठाडो हुकुमी आदेश दिनुभयो’, उनले भनिन्, ‘हाम्रो कारागार ऐनको दफा ११ हेर्ने हो भने कुनै पनि थुनुवा, कैदी स्वास्थ्यको कारणले अस्पतालमा भर्ना हुँदा खेरी चिकित्सकको राय लिएर हत्कडी, नेल हटाउन पाउने उल्लेख छ । दफा २५ मा त्यस्तो नमान्नेलाई कारबाही गर्न पाउने व्यवस्था छ ।’

‘प्रधानमन्त्रीज्यूले विधिको शासन नमानिकन हुकुमी शासनबाट आदेश दिनुभएको छ । यो मुलुकमा अब विधिको शासन नचाहिने हो कि ? अब हुकुमी शासनले यो देश चलाउने हो की ?’, नेपाली कांग्रेसकी सचेटक भुसालले भनिन्, ‘कानून मन्त्रीसँग प्रश्न गर्न चाहन्छु । अब यो देशमा कानून चाहिन्छ वा चाहिँदैन या यो मुलुक हुकुमी शासन अगाडि बढ्न खोजेको म जवाफ चाहुन्छु ।’

प्रधानमन्त्री ओलीले मिडियामा कुरा आउनेवित्तिकै आदेश दिएर कार्यान्वयन गर्न दिने परम्परा बसाल्दै आएको आरोप कांग्रेसको छ ।

नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाई संविधान, ऐन र कानूनलाई टेकेर मात्रै काम गर्न सुझाव दिएको छ ।

Published : Monday, 2019 June 24, 11:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया