कांग्रेसका ‘अन्तर्घाती’लाई अध्यक्षको टिकट, वाग्ले–तामाङको दिनदशा बिग्रियो

काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष हंशराज वाग्लेले ‘अन्तर्घाती’ कमल तामाङलाई नेपाल वैदेशिक रोजगार संघको अध्यक्षको टिकट दिएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा उजुरी परेको छ ।

नेपाली कांग्रेस ओखलढुंगाले ‘अन्तर्घात’ गरेर पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै असार ६ गते कमल तामाङविरुद्ध केन्द्रीय कार्यालय सानेपामा पुनः उजुरी दिएको छ । यो उजुरीमा हंशराज वाग्लेलाई पनि कारबाहीको माग गरिएको छ ।

दश वर्ष अगाडि तत्कालीन एमाले निकटको व्यवसायीहरूको प्यानलबाट वैदेशिक रोजगर व्यवसायी संघको महासचिव पद पड्काउन सफल भएका वाग्ले वैदेशिक रोजगार व्यवसायीहरूका माझ ‘अवसरवादी’ रुपमा परिचित छन् ।

ओखलढुंगाका कार्यालय सचिव शान्तबहादुर राईले सभापति शेरबहादुर देउवालाई पत्र पठाइ प्रदेश निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार प्रदीपकुमार सुनुवारलाई हराउन भूमिका खेलेको जानकारी गराएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही असार २७ गते साधारण सभा हुँदै छ । सोही साधारण सभाले संघको नयाँ कार्यसमिति चयन गर्नेछ ।

अध्यक्ष वाग्लेले नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई हराउन विशेष भूमिका खेलेका कमल तामाङलाई पार्टीभित्र सल्लाह नै नगरी टिकट दिएपछि भाँडभैलो मच्चिएको छ ।

नेपाली कांग्रेस निकटका ७५ प्रतिशत व्यवसायीहरू हंशराज वाग्ले र कमल तामाङको विपक्षमा उत्रिएका छन् ।

हंशराज वाग्ले र कमल तामाङविरुद्ध कांग्रेस निकटका व्यवसायीहरूले पार्टी नेतृत्वसँग भेटेर टिकट नदिन दवाव दिइरहेका छन् ।

‘नेपाल लोकतान्त्रिक वैदेशिक राजगार व्यवसायी फोरमले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासीको रुपमा महासमिति सदस्य कमल तामाङलाई उम्मेदवार सिफारिस गरेको छ भन्ने सुनिनमा आएको छ’, पत्रमा भनिएको छ, ‘कमल तामाङ गत ०७४ को संघ र प्रदेशको निर्वाचनमा ओखलढुंगा जिल्ला प्रदेश ‘ख’का स्वतन्त्र उम्मेदवारको बुथ एजेन्ट (प्रतिनिधि) समेत बनि पार्टीको आधिकारिक उम्मेदवार पार्टी सभापति प्रदीपकुमार सुनुवारलाई हराउन ठूलो भूमिका निर्वाह गरेको र निजलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति एवम् संघ र प्रदेश चारै जना उम्मेदवारहरूले समेत कारबाहीको सिफारिस गरी केन्द्रीय अनुशासन समितिमा पठाइएको व्यवहोरा जानकारी गराइएको व्यहोरा अनुरोध छ ।’

‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य हंसराज वाग्लेले समेत संघ र प्रदेशको निर्वाचनमा असहयोग गरी मतदान समेत गर्न नआएको हुँदा निजहरू दुबै जना कमल तामाङ र हंशराज वाग्लेलाई वैदेशिक रोजगार व्यवसायी संघकोचुनावमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी सिफारिस नगराउनु हुन आदेश अनुसार अनुरोध गर्दछु’, पत्रमा भनिएको छ ।

फोरमका अध्यक्ष वाग्लेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पठाएका दुई जना केन्द्रीय प्रतिनिधिहरूलाई समेत अटेर गरी तामाङलाई अल्पमतका आधारमा संघको अध्यक्ष पदका लागि निर्णय गरेका थिए । त्यसपछि वाग्ले र तामाङ कांग्रेस नेतृत्वको निशानामा परेका छन् ।

वाग्लेले कांग्रेसका केन्द्रीय सदस्यद्वय सुरेन्द्रराज पाण्डे र रमेश लेखकलाई बेवास्ता गर्दै तामाङका पक्षमा निर्णय गरेपछि वाग्ले र तामाङको भूमिकालाई लिएर कांग्रेसभित्र बबण्डर मच्चिएको छ ।

Published : Monday, 2019 June 24, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया