कम्युनिस्ट सरकारका मन्त्री र पिएले मन्त्रालयमै मच्चाए काण्ड, काेइरालाले गरिन् भण्डाफाेर

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई मन्त्रालयमा समय लिएर भेट्न पुगेका नेपाल कपास उद्योग तथा सिरक डसना व्यवसायी महासंघको पदाधिकारीको ज्ञापनपत्र खोसिएको छ ।

ज्ञापनपत्र खोसिएपछि आक्रोशित बनेका व्यवसायीहरूले मागको बेवास्ता गरेकाले आफूहरू प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी महासंघले अवैधानिक घुम्ती उद्योग रोकेर कारबाही नगरे आफूहरूले अवैधानिक कार्यविरुद्ध प्रतिकारमा उत्रन बाध्य हुनुपर्ने चेतावनी दिएको छ ।

कम्युनिस्ट सरकारका मन्त्री यादव र उनका पिएले ज्ञापनपत्र नै गायब बनाएर काण्ड मच्चाएपछि महासंघका पदाधिकारहरूले बाध्य भएर पत्रकार सम्मेलन गरेर मन्त्री र उनका पिएकाे काण्डकाे भण्डाफाेर गरेका हुन् ।

महासंघकी अध्यक्ष चन्दना कोइरालाले घुम्ती उद्योग रोक्ने माग देखेर मन्त्री यादवले भेट रोकेको बताइन् । उनले तत्काल अवैधानिक घुम्ती उद्योग नरोके प्रतिकारको विकल्प नभएको बताइन् । उनले भनिन्, ‘हामी प्रतिकारमा उत्रदा उत्पन्न हुने परिस्थितिको जिम्मा राज्यले लिनुपर्छ ।’

आइतबार अपरान्ह उद्योग व्यवसायलाई धराशायी बनाउने गरी अवैधानिक घुम्ती उद्योगलाई प्रश्रय दिएको लगायतका समस्या लिएर सिंहदरबारस्थित मन्त्रालय पुगेका उद्योगी व्यवसायीको ज्ञापनपत्र मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले खोसेर मन्त्रालयभित्र गायव बनाएको व्यवसायीले जानकारी गराए ।

नेपाल कपास उद्योग तथा सिरक डसना व्यवसायी महासंघले मन्त्री यादवले गुनासो सुन्नुपर्नेमा उल्टो बेवास्ता गरेको भन्दै राज्यले घुम्ती उद्योग नरोके प्रतिकारमा उत्रने चेतावनी दिए ।

महासंघले पत्रकार सम्मेलनमार्फत् आफूहरुमाथि भएको दुर्व्यवहारको घटनाको समेत जानकारी गराएको छ ।

महासंघकी अध्यक्ष कोइरालाले १६ दिनदेखि भेट्ने समयका लागि मिहेनत गरेपछि पाँच दिनअघि तय भए अनुसार ज्ञापनपत्र लिएर कुर्दा खोसेर गायब बनाइएको बताइन् । उनले भनिन्, ‘ज्ञापनपत्र गायब बनाएर मन्त्रीज्यूसँगको भेट रद्द गराएर मन्त्रालयबाट हटाइयो ।’

मन्त्रीसँग भेट रद्द भएपछि व्यवसायीले मन्त्रालयको मूल ढोकामा कुरेर बसेको र मन्त्री यादव निस्कदा छेकेर आफ्नो कुरा राख्न खोज्दा सुरक्षाकर्मीले हटाएको कोइरालाले जानकारी दिइन् ।

उनले भनिन्, ‘मन्त्रीज्यूले देशलाई वार्षिक ८९ करोड कर तिर्ने व्यवसायीको समस्या नसुनी बेवास्ता गर्नुभयो ।’ मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले ज्ञापनपत्र समेत गायब बनाएर भेट रोकेको उनले बताइन् ।

Published : Sunday, 2019 June 23, 9:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया