ओलीले सांसद, मन्त्री र एक करोड दिएपनि कांग्रेस मै बस्छुः हुमागाइँ (अन्तर्वार्ता)

झण्डै ३७ वर्ष माले हुँदै नेकपा (एमाले)मा काम गरेका रामकृष्ण हुँमागाइँको मन भाँच्चिएको छ । ललितपुर जिल्लामा तत्कालीन नेकपा (एमाले) को प्रभावशाली नेताका रुपमा परिचित हुमागाइँ दुई पटक गाविसको अध्यक्ष समेत भएका छन् । मन भाँच्चिएपछि जेठ २४ गते ललितपुरको लगनखेलमा आयोजित नेपाली कांग्रेसको सभामा हुँमागाइँले सभापति शेरबहादुर देउवाको हातबाट सदस्यता लिएर कांग्रेस बन्नुभएको छ । हुँमागाइँ ललितपुर कांग्रेकाे जिल्ला सदस्यमा नियुक्त पनि भइसक्नु भएकाे छ । यति लामो कम्युनिस्ट राजनीति छाडेर कांग्रेस प्रवेश गर्नुभएका रामकृष्ण हुँमागाइँसँग भएको कुराकानीको सम्पादित अंश

तपाईले नेपाली कांग्रेसमा के देखेर प्रवेश गर्नु भयो ?

मेरा कुराहरू सार्वजनिक गरिसकेको छु । मेरो राजनीतिक जीवन भनेको पूर्वमाले त्यसपछि नेकपा (एमाले) हुँदै म राजनीति गर्दै आएको हो । ०४९ सालमा मदन भण्डारीको नेतृत्वमा ‘जनताको बहुदलीय जनवाद’ (जबज) भन्ने कार्यक्रम आएपछि त्यो कम्युनिस्ट भित्रको पनि डेमोक्रेटिक कार्यक्रम थियो । प्रजातान्त्रिक कार्यक्रम थियो । म त्यसैबाट स्कुलिङ हुँदै आएँ ।
गत साल जेठ ३ गते दुइटा पार्टी नेकपा (एमाले) र माओवादी केन्द्र मर्ज गरेर नेकपा बन्यो । मेरो पार्टी नेकपा (एमाले) सिद्धियो त्यहाँ । त्यति मात्रै भएन कि जनताको बहुदलीय जनबाद पनि स्थगित भयो । बैचारिक हिसावमा त्यही ‘जबज’लाई प्रयोग गरेर कम्युनिस्टहरू सरकारमा पुग्ने । ०५१ सालमा सरकारमा पुग्ने । पछि पनि पटक–पटक सरकारमा जाने काम भयाे । केपी ओली योभन्दा अगाडि सरकारमा जाने । अनि त्यही बिचारलाई छोडेपछि म त्यो एकताको प्रक्रियामा सहभागी भइन ।

कम्युनिस्टको जनवादी केन्द्रीयता भन्ने एउटा सिद्धान्त हुन्छ । त्यो हो संगठनात्मक सिद्धान्त । त्यो निर्णय हुनुभन्दा अगाडि आफ्नो बिचार मजाले राख्ने हाे । त्यो जनवाद हो । शुरूमा निर्णय गर्नुभन्दा अगाडि जनवाद हुन्छ । निर्णय गरिसकेपछि सबैले मान्नुपर्छ । त्यसलाई केन्द्रीयता भन्ने गरिन्छ । केन्द्रीय प्रणाली हुन्छ । माथिदेखि तलसम्म । अहिले केही प्रणाली छैन । देखिएको छैन । केपी ओली र प्रचण्ड दुई जना चक्रवर्ती सम्राटले फरमान जारी गरेपछि नेकपा भन्ने कम्युनिस्ट पार्टी चल्छ । डेढ वर्ष भइसक्यो कुनै कमिटीको बैठक बस्दैन । केन्द्रीय कमिटीकै अवस्था हेर्नुस् कति विजाेग छ ।

अनि यो समग्र पार्टी एकता हेरियो । पार्टी एकता त भने जस्ताे भएन–भएन । देशमा राम्रो गर्छ भन्ने लागेकाे थियाे, देश पनि राम्राेसँग चलाउन सकेनन् । केपी ओलीले योभन्दा अगाडि जुन नाकाबन्दीको विरुद्धमा राम्रोसँग उभिनु भएको थियो । त्यसै गरी राम्रो गर्नु हुन्छ भन्ने आशा थियो । तर, यो पटक सरकारमा गएपछि दुई तिहाइको घमण्ड, अनि माओवादीसँग मिसिएपछि हामी जस्ता कार्यकर्ता पनि चाहिने भएन । आफ्ना ‘एस’ म्यानहरू अथवा आफ्ना परिपरिका आसेपासे भन्ने गर्छु म । आसेपासेहरूले भनेपछि त्यहाँ सिद्धियो ।

अहिले भन्नु हुन्छ भने बामदेव गौतम, माधव नेपाल, झलनाथ खनाल जस्ता मान्छेहरूको पनि यो पार्टीमा सुरक्षा छैन । स्थायी समिति सदस्य रघु पन्तहरूको पनि सुरक्षा छैन भने म जस्ता मान्छेलाई हेर्ने त कुरो भएन । अनि कतिपयले टिकट नपाएको भनेको हुनाले कांग्रेसमा छिर्‍यो भनेका छन् । एउटा कुरो त जीवनभरि मैले अरुलाई बोकेर हिँड्ने । मिठारामलाई दुई पटक जिताउन हिँडे, सुशीला नेपाललाई अर्को पटक जिताउन हिँडे, मधुसुदनले जित्न सक्नु भएन तर दुई पटक हिँडे । सधैँ हिँड्ने । सबै जिताउने अनि मेरो पालो चाहिँ कहिले नआउने ? मेरा पनि इष्टमित्र छन्, दाजुभाई छन् । छरछिमेकी छन्, शुभेच्छुक छन् । तेरो चाहिँ पालो कहिले आउँछ ? सधैँ तँ झोला बोकेर बुढो हुने भन्ने स्थिति भयो ।

कमसेकम मलाई यो पटक प्रदेशको टिकट पाइन्छ भन्ने थियो । केपी ओलीले पाउँछस् पनि भन्नुभएको थियो । अन्तिममा आएर त्यो टिकट पनि पाइएन । भनेपछि यो कम्युनिस्ट पार्टी पनि नरहने । राष्ट्रलाई पनि यसले राम्रो दिशातिर न लैजाने । अनि म व्यक्तिगत रुपमा मलाई पनि न्याय हुँदैन भने अनि म यो पार्टीमा बसेर यी नेताहरूलाई आदर्श पुरुष मानेर बस्नुको कुनै जरुरी भएन ।

पार्टी छाड्दै गर्दा कुनै नेताको सम्पर्कमा जानु भएन ?

मेरो स्वभाव र शैली के छ भने म मेरा कुरा पब्लिकली राख्छु । भोकल्ली राख्छु । अनि म चाकढी गर्न नेताहरूलाई मेरो यस्तो पर्‍यो हजुर, कमरेड मलाई यो गर्नु पर्‍यो भनेर चाकढी गर्न जान्न । मैले नौ महिनादेखि निरन्तर आफ्ना असन्तुष्टिहरू सामाजिक सञ्जालमा राख्दै आएको छु । बजेट आएपछि विरोध गर्दै आएको छु । बजेटलाई मैले चुनावी घोषणापत्र हात्ती जत्रो थियो । नीति कार्यक्रम आउँदा पाडो जत्रो भयो । बजेट आउँदा बोको जत्रो भयो । कार्यान्वयन हुँदा मुसो जत्रो हुन्छ भनेको थिएँ मैले । मुसो जत्रो भो ।

मेरो असन्तुष्टि बुझेपछि जिल्ला र केन्द्रका नेताहरूलाई थाहा थियो । विद्या भण्डारी, केपी ओली, सुरेन्द्र पाण्डेहरू धेरैलाई थाहा थियो । उहाँहरूले वास्ता गर्नुभएन । एक पटक रघु पन्तले फोन गरेर तपाईले मैले सबै बुझेको छु । अन्याय पनि परेको हो । दाजुभाई बसेर कुरा गरौँला, अहिले केही निर्णय नगर्नुस् । सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त नगर्नुस् भन्नुभयो । तपाईले भन्नुभयो । तपाईलाई नेता मान्छु । तपाई आफ्नै सुरक्षा छैन मेरो सुरक्षातिर नलाग्नु होला । म मेरो दिमाग र शरीरको मालिक आफै हुँ । आफै निर्णय गर्न सक्षम छु । मैले यो पटक बोल्ड निर्णय गर्छु । राजनीतिक कोर्स करेक्सन गर्छु भनेको थिएँ । कांग्रेसमा जान्छ वा जाँदैन उहाँलाई पनि थाहा थिएन । यो एक वर्ष मेरो पनि संक्रमणकाल हो । एक वर्ष म कुनै पनि पार्टीमा थिइन ।

कांग्रेसमा किन प्रवेश गर्नुभयो ?

सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस । तीन वटा क्रान्तिको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । इतिहाँस कसैले यो होइन भन्न पाएन । ०७ सालको क्रान्ति, ०४६ सालको क्रान्ति र ०६२–०६३ सहित तीन वटा क्रान्तिको यद्यपि अरु पार्टीहरू पनि छन् । ०४६ र ०६२–०६३ को आन्दोलनमा अरु पनि छन् । हामी पनि छौँ । नेकपा (एमाले) लगायत अरु पनि छन् । माओवादीको पनि भूमिका छ ०६२–६३ मा । तर, क्रान्तिको नेतृत्व गरेको कसले भन्दा नेपाली कांग्रेसले । क्रान्तिको नेतृत्व गर्न हुने । सरकारमा जाँदा प्रायः जसो नेपाली कांग्रेसको नेतृत्वमा सरकार गएका छन् । गिरिजाप्रसाद कोइराला नेतृत्वमा त कति पटक सरकारमा गएको छ एमाले । सुशील कोइरालाको नेतृत्वमा एमाले सरकारमा गएको छ ।

कांग्रेस नेतृत्वको सरकारमा एमाले सरकारमा जान हुने । पुरानो र लोकतान्त्रिक पार्टी, आन्दोलन गर्छ । होला कांग्रेस पनि जनताको पक्षमा जति काम गर्नु पर्ने हो त्यति काम गर्न सकेन होला । त्यो कमजोरी हुन सक्छ । कांग्रेसले सच्चाउनुपर्छ । त्यस कारणले पनि हारेको हो कांग्रेसले । जनताको सबै मन जितको थियो भने त कांग्रेसले जिति हाल्थ्यो त कांग्रेसले । त्यो सच्चिनु पर्ला कांग्रेसलाई । कांग्रेसलाई सबक पनि होला । त्यो सबै गर्न हुने कांग्रेसमा जान नहुने भन्ने भएन नि ? अनि कम्युनिस्ट चाहिँ कांग्रेसमा किन गएको भन्छन मान्छेले । बरु अरु पार्टीमा गएको भए हुन्थ्यो पनि भन्छन् ।

कांग्रेसमा आउनु भएको छ । अब तपाईले के पाउनु हुन्छ ?

कांग्रेसमा मैले दुइटा कुरा खोजेको छु । धेरै कुरा खोजेको छैन । आत्म सम्मान, स्वाभिमान, माया ममता, प्रेम र हार्दिकता टिमभित्र बसेर एउटै एकल कांग्रेस त्यो गुटफुट कुनै पक्षमा भन्दा पनि संस्थागत रुपमा कांग्रेस जाने र यसमा एउटा कुनै ठाउँमा जिम्मेवारी मेरो योग्यता, क्षमता र चाहनाअनुसार जिम्मा दिएर सँगै एउटा टिमको सदस्य भएर जाने मेरो इच्छा छ । मैले पाउँछु भन्ने नै छ । सभापति शेरबहादुर देउवा र ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्यले कतै स्थान दिन्छौँ भन्नुभएको छ ।

उदय शम्शेर राणा, मीनकृष्ण महर्जन, मथुरा, रविन दाई सबैले तपाई हामी एउटै लेबलको मान्छे हो भन्नुभएको छ । हामीले बाँडेर गरौँ । यहाँ लुछाचुँडी गर्नुपर्ने केही छैन भन्नुभएको छ । कांग्रेसमा म कसैको बिकल्पमा आएको होइन । कसैलाई विस्थापित गरेर त्यो ठाउँ लिन आएको होइन । म कम्लिमेन्ट्री परिपुरक हुने हो । उहाँहरू हुँदाखेरी असी किलो हुनुहुन्थ्यो भने म आउँदा ८५ किलो बनाउने । नब्बे किलो बनाउने त्यो परिपुरक बनाउन म आएको हुँ । मलाई आत्म सम्मान, हार्दिकता र क्षमता अनुसारको जिम्मेवारी हुन्छ भन्ने छ ।

भोलिका दिनमा जननिर्वाचित निकायहरूको सन्दर्भमा राईट पर्सन राइट प्लेस इन राइट टाइम भन्ने एउटा फर्मुला छ । राईट पर्सन राइट प्लेस इन राइट टाइम भने लगाइँ जितिदैन । मलाई पठाउँदा पार्टी बलियो हुन्छ भन्ने लागेर जिम्मेवारी दिइयो भने म जिम्मा लिन तयार छु । त्यो जिम्मेवारी कुनै बेला पाउँछु भन्ने मेरो आशा छ । म तमसुक गरेर बचन बद्ध भएर यो पाउने नै भनेर सर्त गरेर आएको छैन । विना सर्त कांग्रेसमा आएको छु ।

तत्कालीन एमालेका नेताहरूले पार्टीमा फर्कनुस् भनेर आह्वान गर्नु भयो भने के गर्नु हुन्छ ?

मैले त्यो कल्पनै गरेको छैन । मलाई केपी ओली मन्त्री बनाए भने (मन्त्री बनाउन संविधानले दिँदैन), राष्ट्रिय सभामा सांसद बनाउने, केन्द्रीय सदस्य दिने र अर्को एक करोड पैसा दिए पनि म अहिलेको नेकपा भन्ने पार्टी चाहिँदैन । म त्यता जाँदैन । कांग्रेसमा धेरैले पाएका छैनन् । कांग्रेसमा के पाउँछस् भन्ने पनि छन् । ०५२ वर्षको भएँ । मैले ०३७ वर्ष राजनीति गरेँ ।

अब म सक्रिय राजनीति गर्ने भनेको १५ वर्ष गरौँला । त्यति समय म कांग्रेसमा बसेर बिताउन नसक्ने मान्छे छैन । कांग्रेसले केही पनि दिएन । मलाई नदिँदा कांग्रेसलाई न्याय भयो । कांग्रेस बलियो । देशलाई राम्रो भयो भने र केही नपाए पनि म फर्केर नेकपा जान्न । बरु राजनीति छाड्छु । म फर्किएर कतै पनि जान्न । सामाजिक काम अहिले पनि गरेको छु ।

Published : Tuesday, 2019 June 18, 1:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया