चितवनमा कांग्रेसले कम्युनिस्टहरू चकित पर्ने नतिजा ल्यायाे, प्रचण्ड र रेणुलाई धक्का

भरतपुर । चितवन जिल्लाको मझुवा सामुदायिक वन उपभोक्ता समितिको नेतृत्वमा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।

साविक शारदानगर र गुञ्जानगरमा अवस्थित सामुदायिक वनको अध्यक्षमा राजकुमार तामाङ विजयी बनेका छन् ।

तामाङले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बुद्धिमान तामाङलाई ६ मतले पराजित गरेका हुन् । राजकुमार तामाङले ४५ मत ल्याए विजयी भएका छन् ।

बुद्धिमान तामाङ निवर्तमान अध्यक्ष पनि हुन् । राजकुमार तामाङ अघिल्लो कार्यकाल अध्यक्ष बनेका थिए ।

कार्यसमितिको पदाधिकारीमा पनि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेकाहरू विजयी बनेका छन् ।

उपाध्यक्षमा गुणराज पौडेल (४४), सचिवमा संगीता महतो (४५), सहसचिवमा पुष्पराज अधिकारी (४६), कोषाध्यक्षमा भरतराज पौडेल (४४) मत ल्याएर विजयी बनेका छन् ।

स्थानीयदेखि केन्द्रमा नेकपाको वर्चस्व कायम रहेका बेला चिवतनमा सामुदायिक बनको निर्वाचनमा नेपाली कांग्रेसले नेकपाकै उम्मेदवारलाई पराजित गरेको छ ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ चुनावको अघिल्लो दिनमा स्थानीयसँग छलफल गरेर नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका थिए ।

कांग्रेसका उम्मेदवारहरूलाई जिताउन वडाध्यक्षहरू भरतपुर–१७ का ललितमान तामाङ, १८ का दीपक लामा, १९ का कर्णबहादुर गुरुङ, २० का मनिलाल तामाङ सक्रिय बनेका थिए ।

स्थानीय कांग्रेसका नेता सूर्यहरि मरहट्ठाले पार्टीको आन्तरिक कलह त्यागेर ऐक्यवद्धता जनाउने काम शुरु भएको उदाहरण मतपरिणामले देखाएको बताए ।

नेपाली कांग्रेसको जनजागरण अभियानले स्थानीयलाई पार्टीप्रतिको विश्वास जगाएको मरहट्ठाले बताए ।

करीव १ सय ९६ हेक्टरमा फैलिएको सामुदायिक वन पर्यटन क्षेत्रका लागि महत्वपूर्ण क्षेत्र समेत मानिन्छ ।

नवनिर्वाचित अध्यक्ष राजकुमार तामाङले मझुवालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

‘दोस्रो पटक अध्यक्ष बनेको छु, पर्यटन पूर्वाधारका लागि ध्यान दिनेछु’, उनले भने, ‘आसपासका क्षेत्रमा होमस्टे प्रर्वधन गरिनेछ ।’

हाल सञ्चालनमा रहेको होमस्टेलाई विस्तार गर्दै अन्य स्थानीयलाई समेत होमस्टे सञ्चालन गर्न प्रोत्साहन गरिने बताए ।

‘अब पर्यटक घुम्न पैदल मार्ग बनाइनेछ, भ्यूटावर बनाइनेछ’, अध्यक्ष राजकुमार तामाङले भने, ‘गैँडा, बाघ, जरायो लगायतका जनावर सहजै हेर्ने व्यवस्था मिलाइनेछ ।’

हाल सञ्चालनमा रहेको पीकनिक स्पटमा आवश्यक पूर्वाधार थप गरिने बताए । नारायणगढबाट करीव १४ किलोमिटरको दुरीमा रहेकाले विदेशी तथा स्वदेशी पर्यटक रमाउने केन्द्रका रुपमा विकास गर्न सकिने उनले बताए ।

सामुदायिक वन नजिकका स्थानीयको जीवनस्तर सुधारका लागि वनको आम्दानीबाट योजना तथा कार्यक्रम कार्यान्वयनमा ल्याइने उनले बताएका छन् ।

सामुदायिक वनमा पनि नेकपाकाे बर्श्व गुम्न थालेपछि नेकपाका दाेस्राे तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई तनाव बढेकाे छ ।

एक महिना अगाडि भएकाे अर्काे सामुदायिक वनकाे निर्वाचनमा पनि नेकपाका उम्मेदवारहरू सबै पराजित बनेका थिए ।

Published : Tuesday, 2019 June 18, 11:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया