कांग्रेस नेतृ देवकोटा बोल्दा वास्तविक मोही खुसी, ०५२ का भू-माफिया डराए

काठमाडौं । नेपाली कांग्रेसकी राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले ०५२ सालमा झण्डा गाडेकै भरमा नक्कली मोही बनेका भू-माफियाहरूलाई स्वर्गद्वारी र सिद्धरत्नाथ मन्दिरको गुठीको जग्गा दिन गुठी विधेयक ल्याइएको बताएकी छिन् ।

राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकोटाले गुठीमा बसेका असली मोहीलाई जग्गा दिने गरेर वर्तमान कम्युनिस्ट सरकारले गुठी विधेयक नल्याएको बताइन् । उनले माओवादीका कार्यकर्तातर्फ संकेत गर्दै ०५२ लासमा गुठीको जग्गा कब्जा गरेकाहरूलाई जग्गा दिन नहुने बताइन् ।

उनले कानून बनाएर असली मोहीहरूलाई गुठीको जग्गा दिनुपर्ने पक्षमा नेपाली कांग्रेस भएपनि ०५२ सालदेखि झण्डा गाडेर बसेका भू-माफिया र नक्कली मोहीको विपक्षमा रहेको बताइन् । गुठीको जग्गा हडप्न नक्कली मोही र भूमाफियाहरू सक्रिय भएर लागेको बताएकी उनले सरकारले पनि उनीहरूलाई नै साथ दिएको बताएकी छिन् ।

‘अहिले संविधानको मर्म विपरित । संविधानको भावना विपरित आस्था विश्वास र धर्ममाथि आघात हुने गरेर जुन विधेयक ल्याइएको छ यसले नितान्त भूमाफियाहरूलाई प्रोत्साहित गरेको छ भन्ने कुरा स्पष्ट गराउन चाहन्छु’, उनले भनिन्, ‘यस विधेयकको २२, २३, २४ र ६४ को ३, ४ र ९३ का बुँदाहरूले भूमाफियाहरूलाई प्रोत्साहित गरिरहेका छन् । गुठीयारहरूको अधिकारलाई हनन् गरेर जुन आस्था र विश्वासको आधारमा निर्माण भएका गुठीहरू छन् ती गुठीहरूको भावनालाई यसले ध्वस्त बनाएको छ ।’

नेपाली कांग्रेसकी सांसद देवाकोटाले भनिन्, ‘दाङ र प्यूठानको धरोहरको रुपमा रहेको स्वर्गद्वारी गुठी छ । जो बिक्रम संवत १९५२ मा तपस्वी प्रभु महाराजले स्थापना गर्नुभयो । सन्यासीहरू जो जेष्ठ छन् उनीहरूले त्यहाँ त्यो गुठी सञ्चालन गर्दै आएका छन् ।’

‘गुरुकुल संस्कृति सञ्चालन भएको छ । गौशालाहरू सञ्चालन भएका छन् । अखण्डध्वनी त्यहाँ भएको छ । आस्था र विश्वासको आधारमा हज्जारौँ तीर्थाटन गर्ने तीर्थातीहरू त्यहाँ आउँछन्’, नेपाली कांग्रेसकी सांसद देवकोटाले भनेकी छिन्, ‘त्यो नेपालको पुरातात्विक सम्पदाको रुपमा रहेको छ । सय वर्ष भइसक्यो भने त्यसलाई पुरातात्विक ऐनले पनि पुरातात्विक सम्पदाको रुपमा लिन्छ । तर, नेपाल सरकारले भूमाफियाहरूलाई प्रोत्साहित गर्ने उदेश्यले त्यो जग्गालाई भोगाधिकार आधारमा हडप्ने उदेश्यले यो विधेयक ल्याएको छ ।’

उनले भनेकी छिन्, ‘यसबाट पनि के उदेश्य प्रष्ट हुन्छ भने यो विधेयक अत्यन्त पूर्वाग्रही छ । त्यहाँ स्वर्गद्वारी गुठीको सम्बन्धमा कुरा गर्ने हो भने साँच्चै वास्तविक मोहीहरूलाई जग्गा दिनुपर्छ ।’

‘मोहीहरूलाई कानून निर्माण गरेर जग्गा दिनुपर्छ । तर, जबरजस्तको आधारमा हिजो ०५२ सालदेखि झण्डा गाडेर अतिक्रमण भएकाहरूलाई जग्गा दिइनु हुँदैन’, उनले भनिन्, ‘बहुमूल्य जग्गाहरू भयो भन्ने आधारमा त्यहाँ झण्डा गाडेर अतिक्रमण भएर टहराहरू बनाएर आफ्नो व्यवसायिक प्रयोजनको लागि अतिक्रमण गरेका जग्गाहरूलाई फेरि त्यसलाई आधिकारिकता प्रदान गर्नको लागि अहिले यो विधेयक आएको छ । हामीलाई स्मरण हुँदै छ । रुपन्देहीका सुकुम्वासीले बालुवाटारको जग्गा जसरी प्राप्त गरे त्यही खेलमा अब आफ्ना आसेपासे, आफ्ना कार्यकर्ताहरूलाई पोस्नको लागि यो विधेयकले त्यतातिर उन्मुख भएको छ ।’

सांसद देवकोटाले भनिन्, ‘संविधानले प्रदान गरेको आस्था विश्वास र धर्मलाई आघात पुर्‍याउने गरेर कहिँबाट पनि राज्यले त्यतातर्फ कु–दृष्टि लगायो भने नागरिकहरू फेरि जुर्मुराउन तयार हुनेछन् ।’

‘त्यसैले समयमा सोँच्न म आग्रह गर्न चाहन्छु यो विधेयक अब फिर्ता लिएर सरोकारवालासँग छलफल छलफल गरेर बास्तविक समस्याको पहिचान गरेर, वास्तविक मोहीहरूलाई कसरी जग्गा उपलब्ध गराउन सकिन्छ ?’, उनले प्रश्न गर्दै भनिन्, ‘जग्गा उपलब्ध गराउनेतर्फ गएर जग्गा भोगाधिकारको आधारमा, भूमाफियाको आधारमा त्यहाँको जग्गा बडी भयो भन्ने आधारमा यदि गइयो भने यसले राम्रो असर दिँदैन । यसले दुरगामी असर पर्छ ।’

‘अहिले स्वर्गद्वारी गुठीको ११ सय बिघ जग्गा छ । ०५२ सालमा अतिक्रमणबाट धेरै जग्गाहरू झण्डा गाडेर अतिक्रमण भएका छन्’, उनले भनिन्, ‘त्यहाँ वास्तविक मोहीभन्दा पनि भूमाफियाहरूको बढी चलखेल भएको हुनाले त्यतातर्फ सरकारको ध्यान जान जरुरी छ ।’

नेपाली कांग्रेसकी सांसद देवकोटाले अब जनतालाई आक्रोशित बनाउने, जनताको आशा र विश्वासमाथि आघात बनाउने, जनताको भावनामाथि खेलवाड गर्ने, सडकमा जनताहरू आएर रमिता देखाउने कार्य तत्काल बन्द हुनुपर्ने बताइन् ।

‘यो सरकारको नियत नै यस्तै छ भने केही भन्नु छैन । कम्युनिस्ट सरकार आफू बलियो बनेर नागरिक कमजोर बनाउने नियत हो भने यो किमार्थ स्वीकार्य छैन । कम्युनिस्ट सरकार आएको छ । सत्ता कम्युनिस्ट होइन । समयमै सचेत रहनुपर्छ’, उनले भनिन्, ‘समयमै सोँचेर विधेयकलाई फिर्ता लिएर सरोकारवालाहरूसँग छलफल गरेर यो समस्यालाई सम्वादका माध्यमबाट समस्याको समाधान गरी, पहिचान गरी सरकारलाई आग्रह गर्दछु ।’

उनले गुठीसम्बन्धी विधेयक अत्यन्तै पूर्वाग्रही रहेको बताइन् । ‘यसले भोलिका दिनमा फेरि समस्याहरू ल्याउन सक्छ । त्यस कारण यो विधेयक उपयुक्त छैन’, देवकोटाले भनिन्, ‘यो विधेयकलाई फिर्ता लिनुपर्छ भन्ने पक्षमा हामी उभिएका थियौँ । सरकारले यस विधेयकलाई सैद्धान्तिक रुपमा छलफल गरेर भोटिङमा पनि असहमति राखेका छौँ । लिच्छिवीकालदेखि चलिआएको गुठी सहकारी हो ।’

‘सहकारीका माध्यमबाट समुदायको हितका लागि निर्माण गरिएका गुठीहरू हिजोका दिनहरूमा बैंकहरू थिएनन् । अक्षय कोष राख्ने ठाउँ थिएन’, नेपाली कांग्रेसकी सांसद देवकोटाले भनिन्, ‘जग्गाका माध्यमबाट गुठीहरू राख्ने प्रचलन थियो । त्यही प्रचलनका माध्यमबाट समुदायको हितमा ती गुठीहरू प्रयोग हुँदै आएका थिए ।’

Published : Monday, 2019 June 17, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया