होली वाइन काण्डका ‘नाइके’द्वारा ओलीसँग राष्ट्रिय सभाको सांसद माग

काठमाडौं । होली वाइन काण्डका प्रमुख नाइके एकनाथ ढकालले राष्ट्रिय सभामा सांसद पद माग गरेका छन् ।

युरोपबाट फर्किएकै अर्को दिन सोमबार बिहानै प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई सरकारी निवास बालुवाटारमा भेटेर ढकालले राष्ट्रिय सभामा आफूलाई सांसद मनोनीत गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न उनकै मन्त्रिपरषदका मन्त्री, आफ्नै दलका सांसद र केन्द्रीय नेताहरूले समय पाउँदैनन् । तर, ढकालले ओलीलाई सहजै भेट्ने क्षमता राख्छन् ।

नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री समेत रहेका ढकालले प्रधानमन्त्री ओलीसँग भेट गरी पूर्वसहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको आफ्नो फेसबुकमा उल्लेख गरेका छ ।

तत्कालीन नेकपा (एमाले) र नेपाल परिवार दलबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि ढकालले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको जनाएका छन् ।

गएको चुनावका बेला परिवार दलले तीन बुँदे सहमति अनुसार वाम गठबन्धनलाई सघाएको थियो । सहमतिमा परिवार दलको संसदमा प्रतिनिधित्वको सुनिश्चित गर्ने उल्लेख छ ।

यसको अर्थ अध्यक्ष ढकालले प्रधानमन्त्री ओलीसँग सहमतिअनुसार सांसद पद माग गरेका हुन् । ढकालले राष्ट्रियसभामा प्रतिनिधित्व माग गरेको उनी निकटका एक नेताले बताए ।

ढकालले नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेटेर राष्ट्रिय सभाको सांसद बनाउन दवाव दिनेछन् ।

ढकाल युनिफिकेशन चर्चका प्रमुख समेत रहेका ढकालले प्रधानमन्त्री ओलीलाई सोल्टी होटेलमा तीन दिनसम्म राखेर एक लाख डलरको पुरस्कार प्रदान गरेका थिए ।

पूर्वसांसद समेत रहेका ढकाल दक्षिण कोरियाको क्रिश्चियन धर्मप्रचारक मुनका अनुयायी समेत हुन् ।

काठमाडौंको बौद्ध पाँच तारे होटेल ह्यातमा होली वाइन खुवाएर विवादमा परेका ढकालले फेरि राष्ट्रिय सभाको सांसद माग गरेर चर्चामा आएका छन् ।

ढकालले नेपालमा क्रिश्चियन धर्म प्रचारका लागि उच्च राजनीतिक नेतृत्वदेखि उच्च कर्मचारी र पत्रकारहरूलाई प्रभावमा पार्दै आएका छन् । उनले क्रिश्चियन धर्म प्रचारका लागि दक्षिण कोरिया र अमेरिकाबाट मोटो रकम नेपाल भित्र्याउने गर्छन् ।

पूर्वमन्त्रीको हैसियतमा नेपाल सरकारबाट निर्णय गराएर ढकालले (पिएसओ) सुरक्षाकर्मी लिने गरेका छन् ।

Published : Monday, 2019 June 17, 5:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया