ओली सरकारमाथि गगन खनिएपछि तालीले स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि र मिडिया काउन्सिल विधेयकमार्फत् सरकारले मुख थुन्ने कानून बनाउन लागेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

आइतबार संसदको बैठकमा विशेष समयमा बोल्दै थापाले सरकारी संरक्षणमा व्यक्तिको मानमर्दन, गाली बेइज्जती गरिरहन पाउने तर सरकारलाई मन नपर्दा गाली बेइज्जती शिष्टाचार वा नैतिकताको नाममा जुन बेला मन लाग्यो जसको जतिखेर मुख थुन्ने गरी कानून बनाउन लागेको बताए । सांसद थापाले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध टिप्पणी गर्दा कांग्रेसा सांसदहरूले समर्थन जनाएका थिए ।

उनले सूचना प्रविधि विधेयकमा कुनै पनि व्यक्तिलाई जिस्क्याउने धम्क्याउने, होच्याउने, आशयले सन्देश सम्प्रेषण गरे पाँच वर्ष कैद र १५ लाख जरिवानाको सजाय भोग्नुपर्ने कानून निर्माण भैरहेको जानकारी दिए ।

‘जिस्क्याउने, झुक्याउने, होच्याउनेको परिभाषा के ?’, थापाले सोधेका छन् ।

उनले यस्तै अस्पष्ट व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने भन्दै भारतको सर्वोच्च अदालतले त्यहाँको सूचना प्रविधि विधेयकको दफा नै खारेज गरिदिएको उदाहरण समेत प्रस्तुत गरेका छन् ।

‘जिस्क्याउने, झुक्याउने के हो ? भन्ने अन्तिम अधिकार सूचना प्रविधि अदालतलाई दिन लागिएको छ ’, कांग्रेसका सांसद थापाले भने, ‘याद रहोस् सूचना प्रविधि अदालतको मान्छे सरकारले मनखुसी छान्न पाउनेछ ।’

उनले पशुपति शर्माको गीतमा प्रयोग भएको भाषाका कारण शासकीय शैलीमा प्रश्न गरियो भनेर बन्द गर्न लगाएको उदाहरण दिएका छन् ।

‘संस्कृति र गुठी मास्ने षड्यन्त्रबारे बोल्ने मुख थुन्न लाठी र पानी फ्याँकेको अस्ति मात्रै हो’, थापाले भने, ‘एब्सर्डिस्ट ह्युमरको विधामा रहेर फिल्म समीक्षा गरे बापत प्रनेश गौतम केही दिनदेखि हिरासतमा छन् ।’

उनले भने, ‘घटना घट्योभन्दा पनि सरकारले कसरी लियो महत्वपूर्ण विषय छ ।’

‘सूचना प्रविधि र मिडिया काउन्सिल विधेयक एक ठाउँमा राखेर हेर्‍यो भने सरकारको आशय के हो बुझिन्छ ?’, थापाले भने, ‘लेखक ब्रजेश खनालले भनेको जस्तो – तँ बोल त्यतिमात्रै जे म सुन्न चाहन्छु । तँ हेर त्यतिमात्रै जो म देखाउन चाहन्छु … तेरो स्वतन्त्रताको घेरा मैले कोर्ने हो । मलाई चिनेको छस् । म सरकार हुँ’ भने जस्तै नियत सरकारको देखिएको छ ।’

उनले चलचित्रकर्मीहरूलाई समेत सचेत गराए । ‘होसियार तपाईंको कथा, संवाद, गीतमा अब कसैलाई जिस्काउने कन्टेन्ट छ भनेर प्रनेश गौतमको ठाउँमा हिरासतमा तपाईं बस्नुपर्ला, त्यो पनि केही दिनका लागि होइन पाँच वर्षका लागि’, नेपाली कांग्रेसका सांसद थापाले भने, ‘गुठियारहरू होसियार, गुठी सामन्तवाद भन्ने मुखबारे खबरदारी गरेर लेख्दै गर्दा धम्क्याइएको भन्दै पाँच वर्ष जेल बस्नुपर्ला ।’

थापाले सरकारका अरिगांलमात्र सुरक्षित रहने अवस्था आउन लागेको टिप्पणी गरे ।

‘कागजको पानी जहाज बनाएर सामाजिक सञ्जालमा राख्ने युवक होसियार, समावेशीरसमानुपातिक व्यवस्थाको खिलाफ कानुन बनाइयो भन्ने होसियार, प्रधानमन्त्रीको पार्टी्भित्र फरक मत राख्ने होसियार, यहाँ कोही पनि सुरक्षित छैन’, थापाले भने, ‘यो कानून पारित भएपछि कसरी प्रयोग हुन्छ हामी अनुमान लगाउन सक्छौं । यहाँ केबल अब सरकारको अरिंगाल मात्र सुरक्षित रहन्छन् ।’

उनले बहुमतको आडमा सरकारले सूचना प्रविधि विधेयक पारित गराउन खोजिरहेको बताएका छन् । थापाले जर्मन कवि मार्टिन नमोरको कविता सुनाए ।

‘पहिला समाजवादीलाई लिन आए म बोलिनँ । किनभने म समाजवादी थिइनँ । उनीहरू ट्रेड युनियनकर्मीलाई लिन आए । म बोलिनँ, किनभने म ट्रेड युनियनकर्मी थिइनँ । उनीहरू ज्यूजलाई लिन आए, म ज्यूज थिइनँ । जब उनीहरू मलाई लिन आए मेरो निम्ति बोल्न कोही बाँकी थिएन’, थापाले कविता सुनाउँदै भने, ‘यस्तै अवस्था आउँदैछ ।’

Published : Sunday, 2019 June 16, 12:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया