कांग्रेस कमजोर छैन, कम्युनिस्टहरूको षड्यन्त्र बुझेनौँः डा.प्रकाश शरण महत

नुवाकोट । नेपाली कांग्रेसका महामन्त्री डा.प्रकाश शरण महतले कम्युनिस्टहरू कै कारण देश समृद्ध हुने अवस्था नरहेको बताएका छन् । कम्युनिस्टहरूकै कारण देश झन् बर्बाद भएको उनले बताए ।

नुवाकोट जिल्लाको चौघडामा नेपाली कांग्रेसको क्षेत्र नं. १ र २ ले शनिबार आयोजना गरेको संयुक्त आमसभालाई सम्बोधन गर्दै सहमहामन्त्री डा.महतले देश समृद्ध नभए पनि कम्युनिस्ट नेताहरू समृद्ध हुने बताए ।

‘खड्गप्रसाद ओलीजीले भने जस्तो देश समृद्ध त हुने भएन । तर, कम्युनिस्ट मन्त्री र नेताहरू पक्कै पनि समृद्ध हुन्छन्’, उनले भने, ‘नेपाली कांग्रेसले गरेका कामहरूलाई मैले गरेको हो भनेर कम्युनिस्टहरूले जनतालाई झुक्याइरहेका छन् । कांग्रेसले यस कुराको भण्डाफोर गर्नुपर्छ ।’

बुढीगण्डकी हाइड्रोपावर, बालुवाटारको जग्गा काण्ड, वाइड बडी विमान खरिद काण्ड कम्युनिस्ट सरकारले गरेको भन्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा.महतले देशलाई भ्रष्टाचारमा चुर्लुम्म पारेको बताए । नेपाली कांग्रेसले यी भ्रष्टाचारहरूविरुद्ध लगातार बोलिएरहेको भन्दै उनले दोषीलाई कारबाहीको लागि निरन्तर दवाव दिइरहने बताए ।

बालुवाटारको सरकारी जग्गा काण्डमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जबर्जस्ती तानेर फसाउन खोजेको आरोप उनले लगाए ।

‘०४८ सालमा शेरबहादुर देउवाज्यू गृहमन्त्री बन्नुभएको थियो । नेकपाका महासचिव विष्णु पौडेलले बालुवाटारको जग्गा अहिले आफ्नो छोराको नाममा राख्नु भएको छ’, डा.महतले प्रश्न गर्दै भने, ‘सभापति देउवाले कसरी विष्णु पौडेललाई सरकारी जग्गा दिनुभयो । कम्युनिस्ट सरकार र विष्णु पौडेल जग्गा काण्डमा बद्नाम भएपछि कारबाहीबाट बच्न र कांग्रेसको दवावबाट जोगिन सभापति देउवाज्यूलाई मुछिएको छ । सरकारको विरोध गर्दै नेपाली कांग्रेसले बालुवाटारको जग्गा काण्डका दोषीहरूलाई कारबाहीको कुरा गर्दा रातारात समाचार लेखाएर कांग्रेस र सभापति देउवाको बद्नाम गराइयो ।’

महामन्त्री डा.महतले भने, ‘बिडम्बना हाम्रै साथीहरूले कम्युनिस्टहरूको चाल र षड्यन्त्र बुझ्न सक्नु भएन । सामाजिक सञ्जालमा नानाथरी कुरा लेख्नुभयो ।’ डा.महतले भ्रष्टाचारमा कम्युनिस्ट सरकारले जर्बजस्ती जोडेर कांग्रेस र कांग्रेस नेताहरूको बद्नाम गर्न खोजेको भन्दै कांग्रेसविरुद्ध जति नै षड्यन्त्र गरे पनि भ्रष्टचारमा संलग्नहरूलाई कारबाहीका लागि दवाव दिइरहने बताए ।

पार्टीभित्रको विवादका बारेमा सहमहामन्त्री डा.महतले सभापति देउवाले मिलाएर लैजान खोजेकै कारण अहिलेको अवस्था आएको बताए । ‘सभापतिज्यूले सबैलाई मिलाएर लैजान खोज्दा यो अवस्था आएको हो । होइन भने एकलौटी रुपमा गरेर जाने हो भने जे पनि हुन सक्थ्यो’, उनले भने, ‘सभापति र केन्द्रबाट मुहान धमिलो भएको छैन । धमिलो मुहान बनाउन खोज्ने नेताहरू को–को छन् कांग्रेसका कार्यकर्ताले पत्ता लगाउनुपर्छ ।’

नेपाली कांग्रेसका दुई केन्द्रीय सदस्य डा.अर्जुन नरसिंह केसी र डा.रामशरण महतले आमसभा कार्यक्रमलाई बहिस्कार गरेको विषयमा सहमहामन्त्री डा.महतले भने, ‘म पदाधिकारी हुँ । मैले र उहाँहरूले सम्बोधन गर्ने मर्यादामा समस्या भयो भन्ने कुरा समाजिक सञ्जालबाट थाहा पाएँ । आमसभामा उहाँहरूको भन्दा अगाडि नै मेरो बोल्ने पालो राखिदिनु होला भनेर भनेको थिएँ । सिनियर नेताको मानमर्दन गर्ने मेरो कुनै पनि उदेश्य र योजना छैन ।’

नुवाकोटको चौघडामा आयोजित आमसभालाई केन्द्रीय सदस्यद्वय अर्जुन नरसिंह केसी र डा.रामशरण महतले बहिस्कार गरेर असन्तुष्टि पोखेका छन् ।

सहमहामन्त्री डा.महतले भने, ‘यसअघि भएका कार्यक्रममा नुवाकोटमा कसैलाई पनि बोल्न दिइदैन थियो । कार्यक्रममा बोलाइँदैन थियो । यस पटक त्यो सबै कुरा तोडिएको छ । सबै नेताहरूले बोल्न पाउनु भएका छ । पहिला–पहिला भएका नुवाकोट कांग्रेसको कार्यक्रमको पीडा यहाँ नेताहरूले राखी सक्नुभएको छ । त्यसको पीडित म पनि हुँ ।’

नेपाली कांग्रेसभित्र रहेका समस्यालाई सार्वजनिक ठाउँमा नभन्न नेताहरूलाई उनले आग्रह गरेका छन् । ‘पार्टीभित्र विवाद छ भने आउनुस् पार्टीभित्रै छलफल गरौँ’, उनले भने, ‘सार्वजनिक ठाउँमा त्यस्ता असन्तुष्टिहरू भन्ने गर्दा कार्यकर्ताहरूको मनोबल कमजोर हुन सक्छ ।’

Published : Saturday, 2019 June 15, 7:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया