सुरक्षाकर्मीहरूकाे हत्या भएकै ठाउँमा लक्ष्मण थारुले भेला गर्ने, आन्दोलन गरेर उत्पात मच्चाउने

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिले शान्तिपूर्ण थरुहट आन्दोलनका क्रममा टीकापुर घट्नापश्चात षड्यन्त्रपूर्वक विभिन्न अभियोगमा झुठा मुद्दा लगाई फसाइएका थरुहट राजबन्दीहरूलाई सरकारले मुद्दा फिर्ता, खारेजी तथा आममाफी गरी बन्दीलाई निःशर्त रिहाई गर्नुपर्ने माग गरेको छ ।

समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बन्दीहरूको रिहाइ माग गरेको हो । थरूहट आन्दाेलनका क्रममा कैलालीकाे टीकापुरमा नाबालकसहित नाै जना सुरक्षााकर्मीहरूकाे सामूहिक हत्या भएकाे थियाे । नाै जनाकाे हत्या र सयाैँ सर्वसाधारणा घाइते भएकाे क्षेत्रमा लक्ष्मण थारूले थारूहरूकाे भेला गरेर आन्दाेलनकाे तयारी गरेपछि फेरि पहिलाकै काण्ड दाेहाेरिने हाे कि भनेर कैलालीसहितका जिल्लाहरूमा त्रास शूरू भएकाे छ ।

समितिले टीकापुर घट्नाबारे सत्य, तथ्य छानबिन गर्नका लागि तत्कालीन नेपाल सरकारले पूर्व न्यायाधीश गिरिशचन्द्र लाल दास नेतृत्वको न्यायिक समिति, सर्वदलीय संसदीय समिति र राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनहरू तुरुन्त सार्वजनिक गर्नुपर्ने पनि माग राखेको छ ।

थरुहट नेता लक्ष्मण थारुले आफू ४२ महिना लामो जेल जीवनपछि पहिलोपटक मिडियामा आएको सुनाउँदै आफूहरू फेरि मर्न तयार भएर शान्तिपूर्ण आन्दोलनमा जुटेको बताए ।

उनले भने, ‘हामीलाई झुठा मुद्दा लगाएर ४२ महिनासम्म जेल राखियो, अझैपनि हाम्रा धेरै साथीहरू जेलमै छन् । अब हामी फेरि मर्न तयार भएर शान्तिपूर्ण आन्दोलनमा जुटेका छौं ।’
उनले आफूहरूले न्याय र अधिकार नपाएको गुनासो पोखे । लक्ष्मण थारुले भने, ‘हामीलाई राज्यबाट जहिलेपनि हेप्ने काम भयो । कम्युनिस्ट सरकारले भ्रष्टाचारीलाई कारबाही गर्दैन्, तर झुठा मुद्दा लगाएर यो देशका २५ लाख थारुहरूलाई तर्साउने काम गरेको छ ।’

उनले आफूहरूको घर, पसलमा आगो लगाइएको र उल्टै राज्यबाट झुठा मुद्दा खेप्नु परेको पीडा पनि पोखे ।

लक्ष्मण थारुले टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर्न माग गरेका छन् । उनले आफूहरूले कुनैपनि हालतमा ७ वटा प्रदेश नमान्ने घोषणा गरे ।

उनले भने, ‘अखण्ड सुदूरपश्चिम माग्नेले त्यही पाए, मधेश प्रदेश माग्नेले पनि पाए, किराँतहरूले पाउँदैछन्, हामी थारुहरूले किन नपाउने ?’ आगामी भदौ ७ गतेबाट देशभरिका पाँच लाख थारुहरू उतारेर सम्मेलन गर्ने पनि थारुको भनाई छ ।

समितिले थरुहट आन्दोनलको क्रममा दुःखद् टीकापुर घट्नापश्चात् २०७२ भदौ ८ गते निषेधाज्ञा कर््फ्यू लागेकै समय थारुहरूको घर, पसल तथा व्यवसायिक केन्द्रहरूमा गरिएको आगजनी, लुटपाट, डाँकाचोरी गर्ने तथा संलग्न अपराधीलाई तुरुन्त पक्राउ गरी कानूनबमोजिम कडाभन्दा कडा कारबाही गर्नुपर्ने पनि माग गरेको छ ।

समितिले अघि सारेका मागहरूमा थुरुहट संयुक्त संघर्ष समिति र नेपाल सरकारबीच मिति २०६५ चैत १ गते भएको ६ बुँदे सम्झौता र थारु संयुक्त संघर्ष समितिबीच मिति २०८९ जेठ १० गते गरिएको १० बुँदे सम्झौताको अक्षरंश अविलम्ब कार्यान्वयन गर्नुपर्ने, विशुद्ध संविधानको अन्तरवस्तुमा पहिचानसहितको नामाङ्क, सीमांकन एवम् अधिकारका लागि संघर्ष समितिको १३ बुँदे माग मुद्दाहरू अविलम्ब पूरा गर्नुपर्ने, संघीय निजामती कर्मचारी विद्येयक संशोधन गर्नुपर्ने, लोकसेवाको विज्ञापन संविधानको मूल मर्म भावना विपरीत भएको हुनाले क्लष्टर अनुसार जातीय जनसंख्याको आधारमा अनुपात मिलाई समावेश आरक्षणको कोटा सुनिश्चितता गर्नुपर्ने, आदिवासी थारु समूदायको राष्ट्रिय पर्व ‘माघ’ (माघे संक्रान्ति लगायत आदिवासी जनजातिका ल्होसार उभौली, उद्यौली आदि लगायत राष्ट्रिय सांस्कृतिक पर्वहरूमा राष्ट्रिय रुपमा सार्वजनिक विदा गरिनुपर्ने र राना थारुहरूको छुट्टै भेष भुषा, संस्कार, संस्कृति एवं पहिचान रहेको हुनाले आदिवासीको रुपमा छुट्टै सुचिकृत गरिनुपर्ने रहेका छन् ।

आफूहरूले अघि सारेको माग पूरा नभए चरणवद्ध रुपमा संघर्षमा उत्रिने समितिले घोषणा गरेको छ ।

समितिले आगामी साउन २० गतेसम्म केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, नगर, गाउा वडासम्म तयारी समिति तथा आन्दोलनका लागि विभिन्न उपसमितिहरु गठन तथा पुःनगठन गरी सोको विस्तृत विवरण केन्द्रीय तयारी समितिमा पठाई सक्नुपर्ने, प्रचारात्मक अभियान (पत्रकार सम्मेलन, अपील, पोष्टर, पर्चा, भित्तेलेखन, माईकिङ, तुल, ब्यानर, साईनबोर्ड, झुण्ड्याउने, राख्ने, विभिन्न मिडियाहरूमा लेख रचना, अन्तर्वार्ता निरन्तरता दिने, प्रतिनिधि तथा प्रदेश सभामा थारु सांसदहरूबाट माग मुद्दा सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराउँदै संसदमा बोल्न दबाब सृजना गर्ने, २०७६ भदौ ७ गते बृहत राष्ट्रिय भेला टीकापुर कैलालीमा थरुहट थारुवान राष्ट्रिय सम्मेलन भव्य रुपमा गर्ने, २०७६ असोज ३ गते थारु, थरुहट, आदिवासी जनजाति, मधेशी, मुस्लिम विरोधी संविधानमा रहेका व्यवस्थाका धाराहरू जलाउने एवम् कालो दिनको रुपमा विरोध गर्दै देशव्यापी सशक्त मनाउने र २०७६ असोज ३ गते थरुहट युथ फोर्सको राष्ट्रिय सम्मेलन गर्ने रहेका छन् ।

समितिले समग्र आन्दोलनको समिक्षा एवम् विश्लेषण गरी आगामी संघर्षको बाटो तय गर्नको लागि देशैभरिका थरुहट नेता, अभियन्ता, पत्रकार, पेशाकर्मी, महिला, युवा, विद्यार्थी, संघ संस्थाको प्रतिनिधिहरूको सक्रिया सहभागितामा यही जेठ १८ गते काठमाडौंमा ‘थरुहट थारुवान राष्ट्रिय सम्मेलन तयारी समितिको’ भेला पनि सम्पन्न गरेको जानकारी दिएको छ । समितिले जारी गरेको विज्ञप्तिमार्फत सरकारले आफूहरूको माग मुद्दाहरू हालसम्म पनि सम्बोधन नगरेको हुनाले थरुहट आन्दोलनलाई निरन्तरता दिँदै भावी संघर्षका कार्यक्रमहरू तय गर्नको लागि कैलालीको टीकापुरमा थरुहट थारुवान राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको समितिका संयोजक मीनराज चौधरीले जानकारी दिए ।

Published : Sunday, 2019 June 2, 6:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया