ईदका दिन परेका परीक्षाहरू सार्न आयोगको आग्रह

काठमाडौं । मुस्लिम आयोगले मुस्लिम समुदायको धार्मिक पर्व ईदुलफित्र (ईद)मा जुध्ने परीक्षाहरूको मिति परिवर्तन गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

आयोगका अध्यक्ष समिम अन्सारी स्वयं आफैले शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग भेट गरी ईदका बेला जुधेका परीक्षाहरूको मिति परिवर्तन गर्न आग्रह गरेका हुन् ।

‘ईद पर्वका बेला विश्व विद्यालय र विद्यालयहरूबाट नियमित रुपमा सञ्चालन हुन गईरहेका परीक्षाको मिति परिवर्तन गरी व्यवस्थापन गर्न आग्रह गरेका छु’, उनले भने, ‘मन्त्रीज्यूले पनि सकारात्मक रुपमा लिएको जानकारी दिनुभएको छ । त्यस विषयमा केही व्यवस्था गर्ने छौँ भन्ने आश्वासन पाएका छौँ ।’

यसअघि आयोगले शिक्षा मन्त्रालयलाई पत्र पठाइ ईद पर्वका बेला पर्ने परीक्षाहरूको अलग व्यवस्था गर्न भनेको थियो ।

‘नेपाल सरकार (मन्त्रिपरिषद्)को निर्णयानुसार मुस्लिम समुदायको धार्मिक पर्व ईदुलफित्र (ईद) मा सार्वजनिक विदा दिने घोषणा गरिसकेको व्यवहोरा अवगत नै छ । अतः यस महान पर्वलाई ध्यानमा राखी मिति २०७६ जेठ २२ र २३ गते विश्व विद्यालय एवम् विद्यालयबाट नियमित रुपमा सञ्चालन हुन गइरहेका परीक्षाको मिति परिवर्तन गरी व्यवस्थापन गरिदिनुहुन आयोगको निणयानुसार अनुरोध गर्दछु’, सचिव शुभबहादुर खड्काद्वारा मन्त्रालयलाई पठाइएको पत्रमा उल्लेख छ ।

यसअघि आयोगकै आग्रहमा नेपाल सरकारले ईद पर्वका बेला सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

Published : Friday, 2019 May 31, 6:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया