विप्लवद्वारा नेपाल बन्दको घोषणा, ओली सरकारसँग बदला लिने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेको दोहोरो भिडन्तको नाममा वर्तमान सरकारले हत्या गरेको भन्दै बदला लिने चेतावनी दिएको छ ।

नेकपाका महासचिव विप्लवले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर तीथराज घिमिरेको हत्या भएको दाबी गरेका छन् । उनले हत्याको बदला लिने चेतावनी दिएका छन् ।

‘हाम्रो संगठनका तीर्थराज घिमिरे कमरेड राजुलाई केपी ओली सरकारको ठाँडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भिडन्तको नाममा हत्या गरेको छ’, विप्लवले भनेका छन, ‘उसले गरेको जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन् ।’

विप्लवले तीर्थराज घिमिरेको हत्याको छानबिन गर्नुपर्ने माग गर्दै सरकारविरुद्ध आन्दोलनको कार्यक्रमहरू घोषणा गरेका छन् ।

विप्लवद्वारा जारी विज्ञप्तिअनुसार जेठ १० र ११ गते सरकारविरुद्धको भण्डाफोर र कोणसभा कार्यक्रमको आयोजना गरेको छ ।

जेठ १२ गते देशव्यापी रुपमा मसाल जुलुस र १३ गते नेपाल बन्दको घोषणा आह्वान गरिको छ ।

विप्लवले केपी ओली सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेष्टा गरेको आरोप लगाएका छन् ।

Published : Thursday, 2019 May 23, 3:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया