दोहोरो सुविधा भ्याउने ओलीका सल्लाहकारको कुण्डली बलियो

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सचिवालयमा बसेका केही सहयोगीहरुले राज्यबाटै दोहोरो सुविधा लिएर मुलुकको राजश्व दोहन गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्याल आरआर क्याम्पसमा उपप्राध्यापक दरबन्दीमा कार्यरत छन् भने प्रधानमन्त्री कार्यालयबाट पनि राज्यमन्त्री सो–सरहको सुविधा र तलव लिने गरेका छन् ।

अर्यालले उपप्राध्यापकमा बढुवाका क्रममा नम्बर कम हुने भएपछि आरआर क्याम्पसबाट पनि तलव सुविधा लिने गरेका हुन् । आरआर क्याम्पसमा उनले दिनमा एउटा मात्रै क्लास लिन्छन् ।

आफू सँगैका प्राध्यापकहरुले बढुवामा उछिन्ने भएपछि अर्यालले पावरको दुरुपयोग गरेर प्रधानमन्त्रीको प्रेस सल्लाहकार र उपप्राध्यापकको सेवा सुविधा लिएको स्रोत बताउँछ । अर्यालमाथि क्याम्पसमा पनि निरन्तर आफ्नो हाजिरी देखाउनुका साथै विद्यार्थीलाई पढाएको कीर्ते कार्य गरेको आरोप छ ।

‘कुन्दन अर्यालजीले बढुवाको लोभले गर्दा आरआर क्याम्पसमा एउटा क्लास पढाउनु हुन्छ’, स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको प्रेस सल्लाहकार पनि गुमाउन चाहनुहुन्न । उहाँले दोहोरो सुविधा लिएको विषयमा आरआर क्याम्पसमा विरोध भइरहेको छ ।’

अर्यालले प्रधानमन्त्रीको सचिवालयबाट सेवा सुविधालिने हो भने आरआर क्याम्पसबाट लिन पाइँदैन । तर, अर्यालले पदको दुरुपयोग गरेर आरआर क्याम्पसमा धम्काएर सुविधा लिने गरेको क्याम्पस स्रोतले बतायो ।

आरआर क्याम्पसमा आमसञ्चार विषय पढाउँदै आएका अर्यालले विद्यार्थीलाई राम्रोसँग पढाउने भन्दापनि राजनीतिक थलो बनाउने गरेको आरोप विद्यार्थीको छ । ‘म प्रधानमन्त्रीको प्रेस सल्लाहकार हो । म जस्तो व्यक्तिसँग तपाईहरुले पढ्न पाउनु भनेको धेरै राम्रो हो’, आरआरका एक जना विद्यार्थीले भने, ‘कुन्दन अर्याल सरले आफूलाई प्रधानमन्त्रीको प्रेस सल्लाहकार हुँ भनेर दम्भ देखाउने गर्नुभएको छ ।’

नियमित कक्षा जानै नभ्याउने अर्याल हप्तामा एक पटक कलेज गएर सातै दिनको हाजिर गर्ने गरेको पनि ति विद्यार्थीले गुनासो गरे । हप्तामा एक पटक कक्षा लिने अर्यालले विद्यार्थीहरुलाई पत्रकारिताको परिभाषा र महत्व दर्शाउँदै सकारात्मक विषय वस्तुमात्रै समाचार हुन् भनेर अथ्र्याउने गरेका छन् । उनले सरकारको विरोध गर्न नहुने र नकारात्मक समाचार समाचार नै होइनन् भनी विद्यार्थीहरुलाई भ्रममा पार्ने गरेका छन् ।

प्रधानमन्त्री ओली निरंकुश बनेर देशमा अराजकता र भ्रष्टाचारलाई बढावा दिएको भनेर आलोचना बढिरहेका बेला प्रेस सल्लाहकार अर्यालको गतिविधिले ओलीको छवीमाथि थप नकारात्मक धक्का दिएको छ । ओलीले आर्थिक अनुशासन कायम गर्ने बताउँदै आएका छन् । तर, उनकै सचिवालयका सल्लाहकारले दोहोरो सुविधा लिएको खुलेपछि नेकपाका कार्यकर्ताहरु नै छक्कै परेका छन् ।

यसअघि अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रेस सल्लाहकारमा बसेर सरकारी सुविधा कुम्ल्याएका थिए । राष्ट्रपतिको प्रेस सल्लाहकार भएर बसेका अर्याललाई ओलीको प्रेस सल्लाहकार नराख्न दवाव थियो । तर, ओलीले कसैको पनि कुरा नसुनेर अर्याललाई प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

स्रोतका अनुसार अर्याललाई प्रेस सल्लाहकारमा नियुक्तगर्न राष्ट्रपति भण्डारीले नै दवाव दिएकी थिइन् । भण्डारीकै इच्छामा बालुवाटार प्रवेश पाएका अर्यालले दोहोरो सुविधा लिएपछि ओलीकै अरु सल्लाहकारहरु अचम्मित परेका छन् ।

Published : Thursday, 2019 May 23, 10:49 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया