पाँचथर हत्याकाण्डमा प्रहरीलाई हुने चुनौतीहरू

काठमाडौं । पाँचथरको हत्याकाण्डका विषयमा प्रहरीले उच्च सुझबुझका साथ आफ्नो कामलाई अगाडि बढाएको छ ।

प्रहरीले नौ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डका दोषीलाई कानूनको कठघारामा ल्याएर छाड्ने जनाएको छ । यस पटक निर्मला पन्तको हत्यामा भएको जस्तो लापरबाही गर्ने पक्षमा प्रहरी छैन ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ को आरुबोटेमा सोमबार राति दुई परिवारका नौजनाको हत्या भएको छ ।

ससुराली बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको परिवार लगभग सखाप भएको छ । दुई परिवारको हत्यामा अर्का ज्वाइँ मानबहादुर मोखिमको संलग्नता रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

मानबहादुर पनि मुख्य घटनास्थलभन्दा करिब २५ किलोमिटर टाढा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मानबहादुरसँग मोटरसाइकललगायत कुनै सवारीसाधन नभएको स्पष्ट भएको छ ।

सोमबार राति ससुरा र ज्वाइँको घरमा सुतेका नौजनाको हत्या गरेर मानबहादुर बिहान हुनुअघि २५ किलोमिटर टाढा कसरी पुगे ? प्रहरीले जवाफ दिन बाँकी छ ।

घटनामा ससुरा बमबहादुर फियाक, श्रीमती पुर्सीमाया र ३५ वर्षीया छोरी मनकुमारीको हत्या भएको छ । बमबहादुरकी साइँली छोरीका छोरा आसे फियाकको पनि त्यही घरमा हत्या भएको छ ।

बमबहादुरका ४१ वर्षीय माइँला ज्वाइँ धनराज शेर्मा, उनकी ४० वर्षीया श्रीमती जस्मिता, कक्षा ९ मा पढ्ने १४ वर्षीया छोरी युहाना, कक्षा ४ मा पढ्ने आठ वर्षीया मुना र कक्षा १ मा पढ्ने ६ वर्षीया इच्छाको पनि हत्या भएको छ ।

सो गाउँमा सिलाइ–कटाइसम्बन्धी तालिम चलेको र गत साता धनराजको घरमा खाजा खाने सबैजसो गाउँले बिरामी भएको स्थानीय अस्पतालले पनि पुष्टि गरेको छ । नुनमा सिसाको धुलो मिसाएर हत्याको प्रयास गरेको भन्दै ज्वाइँ मानबहादुरमाथि नै आशंका गरिएको थियो ।

साढुको घरमा आएर भान्सामा पसेर उनले तरकारीमा सिसा कसरी मिसाए ? अहिलेसम्म खुलेको छैन । उनी त्यो दिन गाउँमा आएको कसैले पुष्टि गरेको छैन ।

तालिममा सहभागी भएर खाजा खाएका सातजना स्थानीय बिरामी भएका थिए । पाँचजनालाई जिल्ला अस्पताल लगिएको थियो भने दुईजना गम्भीर बिरामीलाई स्थानीय समर्पित हस्पिटल लगिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले मानबहादुरले माइतमा बस्दै आएकी श्रीमती, ससुराली र साढुदाइको परिवार सखाप पार्ने योजनाअनुसार हत्या गरेको संकेत गरेको छ ।

उनीहरूको घरेलु विवाद रवि इलाका प्रहरी कार्यालयसमेत पुगेको थियो । प्रहरीले मिलापत्र गराए पनि श्रीमती माइत बस्दै आएकी थिइन् ।

पारिवारिक विवादले मानबहादुर मानसिक तनावमा भएको स्थानीयहरूले बताएका छन् । मानसिक रूपमा विचलन भएको व्यक्तिले खुकुरीले दुई परिवार सखाप कसरी गरे ? एकजना व्यक्तिले नौजनाको हत्या गर्दा छिमेकीले कसरी थाहा पाएनन् भन्ने प्रश्न अनुत्तरित छ ।

ससुराको घरमा श्रीमतीसहित चारजना र १० मिनेट टाढा साढुको घरका पाँचजनाको हत्या गरेपछि करिब २५ किलोमिटर टाढा लुमाङदिनको जंगलमा गएर मानबहादुरले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

करीब दुई किलोमिटरअगाडि उनको झोला भेटिएको छ । झोलामा सेन्डोसहित तीनवटा टिसर्ट र एउटा हाफपाइन्ट भेटिएको छ । यी सबै कपडा रगताम्मे छन् । एउटा व्यक्तिले तीन–तीनवटा टिसर्ट किन लगायो ? सबैमा रगत कसरी लाग्यो ? यो प्रश्नले घटनालाई रहस्यमयी बनाएको छ ।

रगतले लतपतिएका सेन्डोसहित तीनवटा टिसर्ट झोलामा भेटिएका छन् । खुकुरी पनि त्यहीँ छ । तर, दुई किलोमिटर पर झुन्डिएको अवस्थामा फेला परेका मानबहादुरले कालो पाइन्टमाथि हरियो टिसर्ट लगाएका छन् ।

हरियो टिसर्टभित्रको सेतो सेन्डो पनि लत्रिएको अवस्थामा देखिन्छ । तर, यी कुनै पनि लुगामा रगतको निसाना देखिँदैन । हत्यापछि आत्महत्या गर्न हिँडेका मानबहादुरले सम्पूर्ण कपडा किन फेरे ? उनीसँग दुईवटा सेन्डोसमेत कसरी भए ? घटना लुकाउनु थियो भने २३ किलोमिटर हिँडिसकेका उनले कपडा किन लुकाए ? थप दुई किलोमिटर हिँड्नासाथ आत्महत्या कसरी गरे ? यो प्रश्न झन् रहस्यमयी छ ।

जुन रूखमा मानबहादुर झुन्डिएका छन् त्यसको फेदमा चप्पल भेटिएका छन् । तर, चप्पलमा रगतको कुनै निसान छैन । चप्पल पनि हतासिएको मान्छेले राखेजस्तो छैन । ढोकामा जस्तै मिलाएर राखिएको अवस्थामा छन् ।

त्यत्रो नरसंहारमा संलग्न भएको मान्छेको शरीर, लुगा र चप्पलमा समेत रगतको निसान किन छैन ? आत्महत्या नै गर्नु थियो भने उनले रगत किन पखाले ? उनले रगत लागेको कपडा फेरेका हुन् भने प्रमाण लुकाउन चाहन्थे । तर, प्रमाण लुकाउन खोजेको मान्छेले आत्महत्या किन गर्‍यो ? हत्या गर्न खुकुरी बोकेर हिँडेको मान्छेले आत्महत्या गर्न डोरी कसरी बोक्यो ? यी प्रश्नको जवाफ प्रहरीले खोज्नुपर्नेछ ।

Published : Wednesday, 2019 May 22, 10:39 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया