पाँचथर हत्याकाण्डमा कुकुर र प्रविधिको प्रयोग, झस्कियो प्रहरी

फिदिम । पाँचथर जिल्लाको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका व्यक्ति मृत भेटिएका छन् ।

घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दुरीको लिम्बा गाउँमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

स्थानीय बासिन्दासँगको कुराकानी र घटनास्थल अवलोकनपछि प्रहरीले हत्यामा संलग्न रहेको शङ्का गरेका व्यक्ति मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

मानबहादुर हत्या गरिएको परिवारका कान्छा ज्वाइँ हुन् । उनको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । बेमेल भएपछि श्रीमती माइत बस्दै आएकी थिइन् ।

प्रदेश १ प्रहरी प्रमुख डिआईजी केदार रिजालका अनुसार घटनाको प्रकृतिका आधारमा शङ्का गरिएका व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन् ।

बाँच्न सफल १२ वर्षीया सीता खजुमले घटनाका बेला एक जना मात्र व्यक्ति देखेको प्रहरीलाई बताएकी छन् । घटनास्थलमा कुनै हतियार फेला परेको छैन ।

घटनास्थल मिक्लाजुङ ३ आरुबोटेभन्दा केही टाढा रहेको वडा ७ लिम्बा भन्ने स्थानको एक रुखमा मानबहादुर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटना भएका दुवै घर सिल गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको छ ।

आफूसहितको टोली पनि घटनास्थलतर्फ गइरहेको उनले बताए। घटनास्थल पाँचथर सदरमुकाम फिदिमभन्दा करिब ६० किलोमिटर टाढा पर्छ ।

पाँचथरका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार दशमी र राँकेस्थित प्रहरी चौकीबाट टोली घटनास्थल पुगिसकेको छ ।

प्रदेश १ प्रहरी कार्यालयले पाँचथर हत्याकाण्डको अनुसन्धान गर्नका लागि प्रहरीको विभिन्न विभागको टोली परिचालन गरेको जनाएको छ ।

अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश १ प्रहरी कार्यालयको अनुसन्धान समूह, धरानस्थित संघीय प्रहरी इकाइबाट वरिष्ठ प्रहरी उपरीक्षकसहितको टोली सक्रिय बनाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले बताएको छ ।

अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि प्रयोग गरिएको कार्यालयले जानकारी दिएको छ ।

Published : Tuesday, 2019 May 21, 8:24 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया