सिंहद्वारा कांग्रेसले दिएको जिम्मेवारी अस्वीकार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा.अमरेशकुमार सिंहले छायाँ मन्त्री बन्न अस्वीकार गरेका छन् ।

छलफल र सहमति नगरी छायाँ मन्त्री बनाइएको भन्दै सिंहले छायाँ मन्त्री बन्न अस्वीकार गरेका हुन् । आफू सांसदकै भूमिकामा रहने बताए ।

सोमबार दिउँसो कांग्रेसले गठन गरेको छायाँ सरकारमा उनी परराष्ट्र मन्त्रालय अन्तर्गतका छायाँ मन्त्री तोकिएका थिए । परराष्ट्रमन्त्रालयको संयोजक नारायण खड्का छन् ।

‘मसँग सोधेर छायाँ मन्त्री बनाइएको होइन । मलाई सांसदकै भूमिकामा बसेर काम गर्न मन छ’, उनले भने, ‘राज्य व्यवस्था समितिमा पनि म सदस्य छु त्यसैले छायाँ मन्त्री बन्न सक्दिन ।’
कांग्रेस नेता सिंहले सभापति शेरबहादुर देउवालाई भेटेर छायाँ मन्त्री नबन्ने जानकारी गराउने बताए ।

संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छायाँ सरकारको रुपमा क्रियाशील रही कार्य सम्पादन गर्नका लागि मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेको कांग्रेस संसदीय दलले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले गरेका ‘जनहित विपरितका कामलाई खबरदारी र निगरानी’ गर्न कांग्रेसले छायाँ सरकार बनाएको हो ।

कांग्रेस संसदीय दलले पुस २४ गते छाँया सरकारमा रहन इच्छुक सांसदलाई मन्त्रालय खुलाएर नाम दिन आग्रह गरेको थियो ।

Published : Tuesday, 2019 May 21, 11:09 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया