यी हुन् वाम गठबन्धनलाई टक्कर दिन नसक्ने कांग्रेसका ठूला नेता, खाँड पनि डराए

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धनबाट सबैभन्दा धेरै नेपाली कांग्रेसका नेताहरू डराएका छन् । धेरै डराउनेमा सधै सत्ताको आसपास घुमफिर गर्ने र मन्त्री भएका नेताहरू नै छन् ।

सत्ताबाट बिमुख हुनु पर्ने हो कि भनेर कांग्रेसका नाम चलेका नेताहरू समानुपातिकमा बसेर संसदमा आफ्नो सिट सुरक्षित बनाउन पहल गरिरहेका छन् । विशेष गरेर शीर्ष नेताहरूको नजिक रहेका नेताहरू नै समानुपातिक सिटमा बसेका छन् ।

टिकट वितरण गर्ने संसदीय समितिमा बसेका नेताहरू नै आफू खुसी समानुपातिक सिटमा बसेर वाम गठबन्धनलाई जित्न सहज बनाइदिएको आरोप कांग्रेसभित्र लागेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले नाम चलेका शीर्ष नेताहरू समानुपातिकमा बस्न नहुने सुझाव दिन्छन् ।

‘शीर्ष नेताहरू समानुपातिक कोटामा बस्ने हो भने अरु उम्मेदवारहरूलाई त्यसको नकारात्मक असर पर्न सक्छ’, केन्द्रीय सदस्य गिरीले भने, ‘सकेसम्म नाम चलेका र ठूला नेता जसरले निर्वाचन जित्न सक्छन् उनीहरू कुनै पनि हालतमा समानुपातिकमा बस्नु हुँदैन ।’

कांग्रेस पूर्वमहामन्त्री एवम् कांग्रेस सभापतिमा नराम्रोसँग पराजित नेता कृष्णप्रसाद सिटौलाले आफ्नो गृह जिल्लामा प्रतिस्पर्धा गर्न डराए । टिकट वितरण गर्ने संसदीय समितिको सदस्य समेत रहेका सिटलाले सभापति शेरबहादुर देउवालाई दवाव दिएर आफ्नो नाम समानुपातिकमा राख्न लगाएका हुन् ।

स्रोतले भन्यो, ‘एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट डराएर कृष्णप्रसाद सिटौला जस्तो नेताले समानुपातिकमा नाम राख्नु लाजको विषय हो ।’ तर, सिटौलाले आफू प्रत्यक्षमा उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने दाबी गरिरहेका छन् । उनले आफ्नो नाम समानुपातिकको सूचीबाट फिर्ता गराउन खासै भूमिका नखेलेको आरोप छ । सिटौलाको निर्वाचन क्षेत्र झापा – ३ हो ।

कांग्रेसमा यसअघि रुपन्देही ३ बाट झिनो मतअन्तरले चुनाव जितेका बालकृष्ण खाँड यसपटक समानुपातिक उम्मेदवारमा छन् । एमालेका उपमहासचिव घनश्याम भुसाललाई खाँडले झिनो मतअन्तरले पराजित गरेका थिए । आफ्नो निर्वाचन क्षेत्रमा अलोकप्रिय बन्दै गएका कांग्रेस नेता खाँडलाई यसपटक भुसालसँग प्रतिस्पर्धा गर्ने हिम्मत आएन । देउवाको किचन क्याबिनेटका सल्लाहकार खाँडले आफ्नी पत्नी मञ्जु खाँडलाई पनि समानुपातिक सूचीमा राखेका छन् । खाँड दम्पत्तिले कांग्रेसभित्र शक्तिको दुरुपयोग गरेको भन्दै ठूलो आलोचना भइरहेको छ ।

पार्टी कोषाध्यक्ष सीतादेवी यादवसमेत यसपटक समानुपातिकमा छिन् । उनी सिरहा– ३ बाट यसअघि निर्वाचित भएकी थिइन् ।
केन्द्रीय सदस्य सुजाता कोइराला, महालक्ष्मी उपाध्याय ‘डीना’ यसपटक पनि समानुपातिकमै परेकी छन् । डिना राप्रपासँगको गठबन्धनकै कारण समानुपातिकमा गएकी हुन् ।

केन्द्रीय सदस्यहरू कुलबहादुर गुरुङ, दिलेन्द्र बडु, किशोरसिंह राठौर, बहादुर लामा, पार्वती डीसी चौधरी, मानबहादुर विश्वकर्मा, सीता गुरुङ, पुष्पा भुसाल, लक्ष्मी परियार र सुजाता परियार पनि समानुपातिकमा छन् ।

कुलबहादुर गुरुङ, मानबहादुर विश्वकर्मा, सुजाता परियार, लक्ष्मी परियार र सीता गुरुङले अघि पनि समानुपातिकबाट सुविधा लिइसकेका हुन् । चौधरी र लामा दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित हुन् ।

नाम चलेका शीर्ष नेताहरू नै वाम गठबन्धनसँग डराएर सुरक्षित हुन खोजेपछि नयाँ पुस्ताले असन्तुष्टि जनाएको छ । वाम गठबन्धनसँग नडराउनेमा युवा नेताहरू दीपक गिरी, विश्वप्रकाश शर्मा, राजु खनाललगायतका नेताहरू परेका छन् ।

केन्द्रीय सदस्यहरूमध्ये यसअघि समानुपातिकमा रहेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने सुनसरी– ४ बाट चुनाव लड्ने भएका छन् । उनको गृह जिल्ला भोजपुर हो । भोजपुरबाट कार्कीले कहिल्यै पनि जित्न सकेनन् । अर्का केन्द्रीय सदस्य डा.प्रकाशशरण महत काठमाडौं ५ र डा.मीनेन्द्र रिजालले मोरङ– २ बाट चुनाव लड्ने तयारी गरेका छन् ।

Published : Friday, 2017 October 20, 9:29 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया