अधिकारीचौरमा खिमबहादुरलाई अपहरण गरि कुटपिट, चन्दा नदिए हत्याको चेतावनी
बाग्लुङ । बाग्लुङ जिल्लामा माओवादीका कार्यकर्ताहरूको समूहले स्थानीय खिमबहादुर अदै मगरलाई अपहरण गरि कुटपिट गर्नुका साथै चन्दाको ठूलो रकम माग गरेका छन् ।
अधिकारीचौर गाविस वडा नं. ५ निवासी मगरलाई हिजो राति माओवादीका कार्यकर्ताहरूले अपहरण गरेर कुटपिट गरेका हुन् । बाग्लुङ प्रहरीका अनुसार मगरलाई माओवादीका कार्यकर्ताहरूले १५ लाख रुपियाँ चन्दा माग गरेको परिवारका सदस्यहरूलाई उदृत गर्दै जनाएको छ । मगरलाई उनीहरूले माओवादी पार्टीमा आबद्ध हुन पनि दवाव दिएका छन् । उनीहरूले मगरलाई १५ लाख चन्दा र पार्टीमा आबद्ध नभएमा जनकारबाही अर्थात् हत्या गर्नेसम्मको चेतावनी दिएको पीडितका आफन्तले जनाएका छन् ।
बाग्लुङ क्षेत्र नं. ३ की नेपाली कांग्रेसकी उम्मेदवार ज्ञानकुमारी छन्त्यालले घटनाको कडा शब्दमा निन्दा एवम् भर्त्सना गरेकी छिन् । उनले मगरलाई अपहरण गरि कुटपिट गरेको घटनाको निन्दा गरेकी छिन् । चन्दा आतंकका साथै कुटपिट संलग्न दोषीहरूलाई उनले कारबाहीको माग गरेकी छिन् । उनले माओवादीको हिंसात्मक सो कार्यलाई कायरताको पराकाष्ठा बताएकी छिन् ।
अधिकारीचौर गाविसमा माओवादीको गतिविधि निकै बढेको छ । उनीहरूको हिंसाका गतिविधि बढ्दै गएपछि स्थानीयहरू चिन्तित बनेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया