मध्यभोटेकोशी हाइड्रोका सीईओ र सञ्चालकको अनियमितता, अर्बौंको घोटाला आरोप, सावाँ व्याज २१ अर्ब पुग्यो

बाह्रबिसे । सन् २०१३ मा शुरु गरि सन् २०१६ मा सम्पन्न गर्ने गरि शुरु गरिएको १०२ मेगावाट क्षमताको सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत् आयोजना हाल जुन २०२४ सम्म ११ वितिसक्दा समेत बत्ति उत्पादन हुनेमा अनिश्चित अवस्थामा रहेको छ ।

कर्मचारी सञ्चय कोषले ५० प्रतिशत ऋण लगानी गरेको यस आयोजनाको कुल लागत १४ अर्ब ७२ करोड रहेको थियो । हाल यस आयोजनाको लागत बढेर ब्याज बाहेकर १६ अर्ब पुगेको छ । साँवा र ब्याज समेत गरि करीव २१ अर्ब पुगेको छ ।

करीव ६ अर्ब लागत बढिसकेको यस आयोजनाको लागत अझै कति बढ्ने हो अनिश्चित अवस्थामा छ । वार्षिक ५४२.२ गिगावाट आवर विजुली उत्पादन गर्ने यस आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रतियुनिट ८.४ र वर्षाको समयमा ४.८ को दरले विद्युत खरिद विक्री सम्झौता गरेको थियो । जसमा यस आयोजनाको आम्दानी वार्षिक २ अर्ब ८० करोड हुन आउँछ । तोकिएको समयमा यो आयोजना सम्पन्न भएको भए हालको मितिसम्म ८ अर्बमा करीव २२ अर्ब ५० करोड आम्दानी गरिसकेको हुन्थ्यो ।

ठेकेदार कम्पनीको माग बमोजिम ११ पटक समयसीमा थप गरिएको छ । हाललाई परामर्शदाताले साउन २४, २०८१ सम्म समय थप गर्न सिफारिस गरेको छ ।

भूकम्पले खासै असर नगरेको आयोजनाले केही प्राकृतिक प्रकोपको सामना गर्नु परेको भएतापनि मुख्य रुपमा व्यवस्थापकहरूको आन्तरिक द्वन्द्व, लापरबाही र आर्थिक अनियमितताका कारण यो आयोजना धरासाही बन्दै गइरहेको छ ।

हाल अन्तिम अवस्थामा आएर आयोजनाको सुरुङबाट पानी भर्ने क्रममा पानी लिकेज भएकोले यो आयोजना थप अनिश्चिततातर्फ धकेलिएको कर्मचारीहरूले बताएका छन् ।

लगभग समाधानको दिशामा उन्मुख भइसकेको प्रशारण लाइनको विवाद झनै पेचिलो बनेको छ । सुरुङमर्मत गर्न कति समय लाग्ने हो र मर्मत कार्य कतिको प्रभावकारी हुने हो ? कसैले भन्ने अवस्था छैन ।

के कारण सुरुङमा समस्या आएको हो ? भन्ने कुराको खोजी नगर्नु र ढाकछोप गर्न माथिल्लो तहका कर्मचारीहरूलाई निष्काषन गर्नुले शंका पैदा भएको छ ।

सानोभन्दा सानो विषयमा कमिटी गठन गरी भत्ताको समेत व्यवस्था गर्ने कम्पनीले यती गम्भीर विषयमा किन छानविन कमिटी गठन गरेन ? रहस्यको विषय बनेको छ ।

जटिल समस्यामा परामर्शदाता कम्नीमा वर्षौंदेखि कार्यरत टिम लिडर (जसको मासिक तलब मात्रै करीव ५५ लाख रहेको छ)लाई बिदा गर्ने निर्णय गर्नु, प्रशारण लाइनको विवाद समाधान अन्तिम अवस्थामा पुर्‍याएका आयोजना प्रमुखको काजफिर्ता लगायतका कम्पनीका निर्णयले शंकाको सुविधा गर्ने अवस्था सिर्जना भएको छ ।

निर्मार्णाधीन सब स्टेसनको कार्य सम्पन्न हुन अझै बाँकी रहेको अवस्था साथै ४०० केभी पलांतीदेखि लप्सीफेदी तथा खिम्तीको प्रशारण लाइनको कार्य अझै अनिश्चित रहेको समयमा किन आयोजनाले विभिन्न सञ्चारमाध्यमहरूलाई कार्यालयमा बोलाइ उनीहरूमार्फत प्रशारण लाइनको समस्या अगाडि सारेर अमूक व्यक्तिको चरित्र हत्या गर्न लागि परेको छ, सोँचनीय विषय बनेको छ । के हाल प्रशारण लाइनको कारण विद्युत् उत्पादन नभएको हो ? प्रश्न अनुत्तरित छ ।

विभिन्न श्रोतबाट प्राप्त जानकारी तथा दस्तावेजको आधारमा यस कम्पनीका माथिल्लो व्यवस्थापकले गरेका निम्न उल्लेखित गल्ती तथा बदमाशीका कारण लाखौं जनताहरूको लगानी रहेको आयोजना धरासायी बनेको कार्य शंकाको घेरामा छ ।

व्यवस्थापकले गरेको बदमासीहरू

(१) कम्पनीका पूर्व एम.डी. तथा हालका प्राविधिक प्रबन्धक विजयलाल श्रेष्ठको श्रीमती नेपाल ईन्भेष्टमेन्ट बैंकको एल.सी. विभागको प्रमुख भएको कारण व्यक्तिगत तथा आर्थिक फाइदाको लागि विजयलाल श्रेष्ठले अर्बौं रकम बराबरको एल.सी. खोल्दा सार्वजनिक सूचना प्रकाशित नगरी विनाप्रतिस्पर्धा नेपाल ईन्भेस्टमेन्ट बैंकलाई दिइ आर्थिक तथा अन्य अनियमितता गरेको स्रोतले जनाएको छ । श्रेष्ठकी श्रीमती नियमित अवकाश पश्चात पनि कानून विपरित उक्त बैंकको दरबारमार्ग शाखामा थप सुविधासहित कार्यरत रहेकी छिन् ।

(२) कम्पनीले खोलेको सीइओको आवेदनमा सेटिङ गरि उमेर हद पहिलो आवेदनमा भएको ५७ वर्षबाट बढाई ६० वर्ष कायम गरिएको तथा कम्पनीको साइट कार्यालयमा कम्तीमा १५ दिन अनिर्वाय उपस्थित हुनु पर्ने भनी उल्लेख गरि रामगोपाल शिवाकोटीलाई नियुक्ति गरेको तर, शिवाकोटी विगत ४ वर्षदेखि साइट कार्यालयमा हाजिर नभइ केन्द्रीय कार्यालयमा बसी सम्पूर्ण सेवा सुविधा लिइरहेको आरोप कर्मचारीहरूको छ । बाहिर सार्वजनिक हुने डरले कम्पनीको वेभ साइटबाट कान्तिपुरमा प्रकाशित उक्त आवेदनको सूचना हटाइएको पाएको छ ।

(३) शिवाकोटीले सीईओमा आफूलाई नियुक्त गरेवापत साधारण शेयरबाट संकलित रकम कम्पनीको हितमा जम्मा नगरी केही सञ्चालकहरूलाई खुसी पार्न उनीहरू अनुकूलको बैंकमा जम्मा गरि आर्थिक फाइदा तथा उक्त बैंकमा कार्यरत निज सञ्चालकको आफन्त तह तथा सेवा सुविधाको वृद्धिका लागि आर्थिक अपचलन गरेको समेत पाइएको कर्मचारीहरूको दाबी छ ।

(४) इलेक्ट्रोमेकानिकलको ठेकेदार एण्ड्रिज हाइड्रोसँग सन् २०१३ मा प्रि.क्वालिफिकेशनको लागि भएको सम्झौतामा उल्लेख भएअनुसारका पावरहाउसका मेशिन तथा उपकरण सप्लाई गर्ने विभिन्न कम्पनीहरूबाट उपकरण नल्याई अर्कै कम्पनीको सामानहरू सप्लाई गर्छु भनी एण्ड्रिज हाइड्रोले अनुमति माग गरि पत्राचार गरेकोमा तत्कालीन समयका निमित्त सीईओ विजयलाल श्रेष्ठ तथा उनी पछाडिका सीईओ मणिकुमार काफ्लेले कुनै हालतमा स्वीकार्य हुँदैन भनी करीव सात वर्षदेखि नमानेको अवस्थामा शिवाकोटीको नियुक्ति पश्चात सन् २०२१ मा उनीमार्फत् अन्यलाई बाइपास गरि तुरुन्त निर्णय गर्न लगाई सम्झौताभन्दा बाहिरका निम्न बमोजिमका कम्पनीका उपकरण ल्याई जडान गरि सो बापत करोडौं रुपियाँको अनियमितता गरेको आरोप कर्मचारीहरूको छ ।

निर्णय वरिष्ठ व्यवस्थापकहरूको हस्ताक्षर हुनु पर्नेमा उक्त कार्य गलत भन्दै सो समयमा प्राविधिक प्रबन्धक विजयलाल श्रेष्ठ, करार महाशाखा प्रमुख रामप्रसाद सिलवाल र आयोजना प्रमुख सूर्यनाथ भुर्तेलले हस्ताक्षर नगरेको एक कर्मचारीले दाबी गरेका छन् ।

(क) २४५ केभी एसएफ ६ जीआईएस भन्ने उपकरण सप्लाईको लागि पी.क्यू.गर्दा एबीबी एलटिडी (इण्डिया÷चाइना) अथवा हिओसुङ लिमिटेड कोरिया भन्ने कम्पनीको जडान गर्ने सम्झौता भएकोमा हाल सो बाहेकको जीई इण्डिया भन्ने कम्पनीको जडान गरि आर्थिक अनियमितता गरेको हुन सक्ने स्रोतको भनाइ छ ।

(ख) जेनरेटर ट्रान्सफर्मर भन्ने उपकरण सप्लाईको लागि पी.क्यू. गर्दा एबीबी लिमिटेड इण्डिया वा ईएमसीओ इण्डिया नाम गरेका कम्पनीमध्येको जडान गर्ने भनिएकोमा सम्झौता विपरित सो बाहेकको ईण्डो–टेक इण्डिया भन्ने कम्पनीको जडान गरिएको छ ।

(ग) २४५ केभी एसएफ ६ जीआईबी भन्ने उपकरण सप्लाईको लागि पी.क्यू.गर्दा एबीबी लिमिटेड (इण्डिाय÷चाइना) अथवा हिओसुङ लिमिटेड कोरिया भन्ने कम्पनीको जडान गर्ने सम्झौता भएकोमा हाल सो बाहेक जीई इण्डिया भन्ने कम्पनीको जडान गरि आर्थिक अनियमितता गरेको आशंका गरिएको स्रोतको भनाइ छ ।

नेपालमा पी.क्यू. पास गरि ठेक्का प्राप्त गर्नको लागि सम्झौतामा एउटा, पछि ठूलो आर्थिक लाभ लिएर भेण्डर परिवर्तन गरि अर्बौं रुपियाँको अनियमितता गर्ने प्रथा विद्यमान रहेकोले माथि उल्लेखित उपकरणका साथै पावर हाउसमा प्रयोग भएका एलिभेटवर तथा अन्य धेरै महँगो उपकरणहरू सम्झौता विपरीतका कम्पनीका ल्याई जडान गरि अर्बौं रुपियाँ अनियमितता गर्नकै लागि शिवाकोटीलाई जालसाजीपूर्ण विज्ञापन गरि नियुक्ति गरिएको आशंका कर्मचारीहरूको छ ।

पी.क्यू.मा एकदम राम्रो गुणस्तरको उपकरण सप्लाई गर्छौं भनि एकथरि कम्पनीको नाममा ठेक्का सम्झौता गर्ने, पछि विभिन्न बहानाबाजी गरि कम्पनी परिवर्तन गर्न विभिन्न शक्ति केन्द्र धाउने र दवाव सिर्जना गरेर अर्बौंको चलखेल गर्ने परम्पराको निरन्तरता स्वरुप मध्यभोटेकोशी जलविद्युत् आयोजनामा पनि विगत ७ वर्षदेखि पत्राचारमार्फत शुरु भएको भेण्डर परिवर्तनको मिशन एण्ड्रिज नामक ठेकेदार कम्पनीले अन्ततः पदका लोभी शिवाकोटीमार्फत पूरा गरेको जानकारहरूको भनाइ छ ।

५. मध्यभोटेकोशी कम्पनी लिमिटेड अर्धसरकारी संस्था भएकोमा विभिन्न बहानामा शिवाकोटीले २२ मेगावाट क्षमताको शिव श्री हाईड्रो पावर कम्पनी लिमिटेडलाई आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको प्रशारण लाइनको निर्माण गर्ने भन्ने बहानामा कम्पनीको नियम र सार्वजनिक खरिद ऐनको बर्खिलापमा गई पाँच करोड निकाशा गरि आर्थिक अपचलन गरि अख्तियारको दुरुपयोग गरेको आरोप छ ।

साथै उनले परामर्शदाता कम्पनीमा समेत सम्झौता विपरित तोकिएका मापदण्ड पूरा नगरिका आफू अनुकूलमा व्यक्तिलाई दवाव सिर्जना गरेर नियुक्ति गर्न लगाएका थिए ।

(६) २२० के.भी. प्रशारण लाइन निर्माणको ठेक्का पाएको ठेकेदार कम्पनीलाई आर्थिक प्रलोभनमा पारि निर्माणाधीन सब स्टेशनको करोडौंको थप निर्माण कार्यविना प्रतिस्पर्धा ठेक्का दिइ अख्तियारको चरम दुरुपयोग गरेको आरोप छ ।

(७) सुरुङ निर्माणको क्रममा हाल पानी चुहिएको स्थानमा कंक्रिटको ढलान गर्नुपर्ने भएको भएतापनि माथि उल्लेखित विभिन्न अनैतिक कार्यमार्फत डरलाग्दो आर्थिक अनियमितता गरि आफ्नो पदीय अधिकारको चरम दुरुपयोग गरेको कुरा ढाकछोप गर्न छिटो बत्ति बाल्ने भन्दै प्राविधिक प्रबन्धक विजयलाल श्रेष्ठ र रामगोपाल शिवाकोटीले परामर्शदातालाई चरम दवाव दिई ठेकेदार कम्पनीलाई उक्त चुहिएको स्थानमा ढलान गर्न नदिएको कारणले हाल पानी चुहिन गएको र उक्त ठाउँमा मर्मत गर्न करीव १ वर्ष लाग्ने देखिएको एक प्राविधिकले बताएका छन् ।

आफ्नो यस हर्कतको कारण अर्बौं रुपियाँको क्षतिको दोषबाट बच्नको लागि तत्कालीन आयोजना प्रमुख सूर्यनाथ भुर्तेल, परामर्शदाताका प्रमुखहरू लगायतका व्यक्तिहरूलाई हटाई शिवाकोटीले आफू निकटकाहरूलाई परामर्शदता कम्पनीको प्रमुख र सुरुङको कार्य सुपरभिजन कार्य गर्न लगाइरहेका छन् । हाल आयोजना प्रमुखको समेत जिम्मा आफैले लिइ उक्त विषयलाई विषयान्तर गरि सम्पूर्ण दोष प्रशारण लाईन बन्न नसकेको कारण देखाई आफू पन्छिन खोज्दै विभिन्न सञ्चारमाध्यमलाई आर्थिक प्रलोभनमा पारी दोष अरुमाथि थुपारी भ्रम छरिरहेका छन् ।

सामाजिक उत्तर दायित्व अन्तर्गतका केही कार्य गर्न प्रशारण लाइनमुनिका जग्गाधनी लगायत त्यस भेटका जनताहरूले जनप्रतिनिधिमार्फत आफ्नो गुनासो राख्दा मौकामा चौका हाने जस्तै शिवाकोटीले आफ्नो कारण अझै एक वर्ष पछाडि धकेलिएको आयोजनाको दोष विभिन्न सञ्चारमाध्यममार्फत अरुलाई लगाइ बदनाम गराउने कुचेष्टा गरेको चर्चा हाइड्रोभित्र छ ।

हाल स्थानीय लगानीकर्ता तथा विभिन्न सरोकारवालाहरूले जननिर्वाचित जनप्रतिनिधिको रोहवरमा पानी चुहिएको सुरुङको स्थलगत निरीक्षण तथा जडान गरिएका विभिन्न उपकरणहरूको वास्तविक अवस्थाको बारे गहन अध्ययन गर्ने तत्पश्चात माथि उल्लेखित आरोपको बारेमा सत्य तथ्य पत्ता लगाउन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका संयोजकमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण, जालसाजी तथा मानहानी मुद्धा दर्ताको लागि अदालत लगायत सम्बन्धित निकायहरूलाई दोषी उपर आवश्यक कडाभन्दा कडा कारबाहीको लागि पत्राचार गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

सत्यतथ्य छानविन नभएसम्म विभिन्न स्थानीय सरोकारवालाहरूले दैनिक एक घण्टाको दरले निरन्तर धर्ना तथा दवावमूलक कार्यक्रमको आयोजना गर्ने समेत स्थानीयले बताएका छन् । विभिन्न निकायहरूलाई बुझाउने ज्ञापनपत्र तथा चरणबद्ध विरोधको कार्यक्रमको बारेमा पत्रकार सम्मेलनमार्फत त्यसै दिन जानकारी दिने तयारी भएको स्थानीयहरूको गृहकार्य भइरहेको बुझिएको छ । हाइड्रोलाई बचाउन र अनियमितताको छानविन गरि दोषीउपर कारबाहीका लागि कर्मचारी र स्थानीयले सरोकारवाला निकायमा उजुरी दिने तयारी गरेका छन् । आरोपहरूका विषयमा प्रतिक्रिया लिन शिवाकोटी लगायत हाइड्रोका कर्मचारीहरूसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

Published : Thursday, 2024 June 6, 6:19 pm

1 प्रतिकृया प्राप्त “मध्यभोटेकोशी हाइड्रोका सीईओ र सञ्चालकको अनियमितता, अर्बौंको घोटाला आरोप, सावाँ व्याज २१ अर्ब पुग्यो”

Comments are closed.

फेसबुकबाट तपाईको प्रतिक्रिया