मध्य भोटेकोशी हाइड्रोका सीईओ शिवाकोटीद्वारा समाचार र आरोपहरूको खण्डन

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल शिवाकोटीले आयोजनामा कुनै पनि अनियमितता नभएको दाबी गर्दै ‘मध्यभोटेकोशी हाइड्रोका सीईओ र सञ्चालकको अनियमितता, अर्बौंको घोटाला आरोप, सावाँ व्याज २१ अर्ब पुग्यो’ शीर्षकको समाचारको खण्डन गरेका छन् ।

शिवाकोटीले सोमबार खण्डन पठाएर समाचार भ्रामक मात्र नभई पूर्णता यथार्थभन्दा बाहिर रहेको जनाएका छन् ।

‘यो समाचार सर्वसाधारणलाई भ्रममा पार्ने उद्देश्यले आयोजनालाई विभिन्न बहानामा अवरोध गर्दै आएको समूहको स्वार्थपूर्तिको लागि मात्र प्रकाशित भएको हो’, शिवाकोटीले भनेका छन् ।

उनले भने, ‘यो समाचारमा उल्लेखित कुनै पनि आरोप पुष्टि हुँदैन । व्यक्तिगत चरित्रहत्या गर्ने उद्देश्यले प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘यो आयोजनाको सुरुङमा पानी भरेपछि एकठाउँमा लिकेज भएको हो’, शिवाकोटीले भने, ‘यसको निर्माण कम्पनीले मर्मत गरिरहेको छ । यसमा आयोजनाले कुनै पनि अतिरिक्त खर्च बेहोर्न पर्दैन । सुरुङमा आएको लिकेजको समस्याको बारेमा ढाकछोप गर्ने कुनै प्रयास भएको छैन ।’

मध्यभोटेकोशी हाइड्रोका सीईओ र सञ्चालकको अनियमितता, अर्बौंको घोटाला आरोप, सावाँ व्याज २१ अर्ब पुग्यो

‘हामीले कानूनले तोकेको बाहेक भत्ता लिने र दिने काम गरेका छैनौँ । साविकको टिम लिडरको आफ्नो व्यक्तिगत कारणले परामर्शदाताको टिम डिरको रुपमा नियुक्त गर्ने व्यवस्था रहेको छ’, शिवाकोटीले भने, ‘परामर्शदाताको टिम लिडरको नियुक्ति वा राजीनामा प्रक्रियामा यस कम्पनीको प्रत्यक्ष रुपमा कुनै पन भूमिका नरहने हुन्छ ।’

उनले भने, ‘प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटी साइट कार्यालयमा नगएको भन्ने विषयमा पनि भ्रामक रहेको जानकारी गराउन चाहन्छु । सम्झौताअनुसार पावर हाउसमा मेसिन तथा उपकरण कानूनीबाटो बाट लिइएको छ । आर्थिक अपचलन गरेको विषय कुनकुन हुन् र कुन कानूनअनुसार आर्थिक अपचलन हो त्यो तथ्य प्रमाणसहित उल्लेख गरेर समाचार किन प्रकाशित गरिएन ? यो त आयोजनाका उच्च तहका कर्मचारीहरूलाई बदनाम गर्न रचेको षड्यन्त्रको पत्र मात्रै हो, समाचार हुन सक्तैन ।’

यसैबीच, रिपब्लिका दैनिक डटकमलाई मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडभित्र भएका अनियमितता र गतिविधिहरूका विषयमा कम्पनीका कर्मचारीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नियामक निकायमा दिन ठीक पारेको कागजपत्रसहितको करीव ७० पेजको दस्तावेज सुरक्षित छ । ती दस्तावेजका आधारमा क्रमशः समाचार प्रकाशित हुनेछन् ।

Published : Monday, 2024 June 10, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया