प्रचण्डले स्वघोषणा गरेका हजारौँ शहीदलाई डा.प्रकाशशरण महतले पैसा बाँड्न दिनु भएन : बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले समय परिस्थितिले गठबन्धनसँग सँगै राष्ट्रिय सभाका कुर्सी बस्ने साथीहरू पनि बदलिएको बताएका छन् ।

बुधबार राष्ट्रिय सभामा विशेष समयमा बोल्दै बस्नेतले भने, ‘सत्तापक्ष बस्ने सिटहरूमा बिगतको प्रतिपक्ष र प्रतिपक्षमा बिगतको सत्तासाझेदर दल नेपाली कांग्रेसका साथीहरू छौँ ।’

उनले भने, ‘राष्ट्रिय सभाका आसनहरू परिवर्तन गराउनुभएकोमा पनि प्रधानमन्त्रीज्यूलाई बधाइ छ । कार्यपालिकामा प्रधानमन्त्रीज्यू बाहेकका मन्त्रीहरू पनि फेरिनु भएको छ ।’

‘केही दिन उपप्रधानमन्त्रीहरूसहित मन्त्रीहरू बनेर बाहिरिनुभएको साथीहरू धोको फेर्ने फर्किनुभएको छ’, उनले भने, ‘यस नयाँ मन्त्रिपरिषद जनतामा देखिएको निरासा, बादलहरू हटाएर आशाका किरणहरू छर्नेछन् भन्ने कुरामा हामी पनि विश्वास गरेका छौँ ।’

सांसद बस्नेतले भने, ‘रातारात गठबन्धन भत्काएर उथलपुथल ल्याउने भाषण गरे जस्तो हुँदैन भन्ने पनि विश्वस्त छौँ ।’

‘प्रधानमन्त्री रुखको छहारीको जाडो लाग्यो भन्दै घाम तापेर घण्टी बजाउन शुरु गर्नुभएको छ’, बस्नेतले भने, ‘प्रधानमन्त्रीज्यूले बोकेर हिँड्नुभएको घण्टी नयाँ छ । पानी पार्दै बजाउनु होला । घाममा बसेर बजाउनु होला । घाममा बसेर बजाउन खोज्नुभएको त्यो घण्टी बलियो गरी बजोस् ।’

‘भ्रष्टाचारीको कानमा बजोस् । सुशासनको पक्षमा बजोस् । संविधान र लोकतन्त्रको रक्षामा बजोस्’, उनले भने, ‘त्यो घण्टीको रालो नचुडियोस् । चुडिने स्थिति सिर्जना नहोस् ।’

सांसद बस्नेतले भने, ‘प्रधानमन्त्री रुखको छहारी छाडेर घाममा बस्न खोज्ने । अनि छाता ओढ्न खोज्ने । यो अलिक बिरोधाभाष देखिएको छ ।’

‘बिरोधाभाष रोजाइ भएको प्रधानमन्त्रीको बिगतले पुष्टि गर्छ । वर्तमानमा म रहेसम्म उथलपुथल गर्छु, लात्ती हान्छु भन्ने जस्ता गैह्र जिम्मेवारी अभिव्यक्ति बिगतलाई छोड्न नचाहेको स्पष्ट गर्छ’, बस्नेतले भने ।

‘प्रधानमन्त्रीले देश र जनतालाई फुटबल सम्झनु भएको हो भने म दोधारमा परेको छु’, उनले भने, ‘प्रधानमन्त्रीले धेरै खुट्टा उचाल्छु नभन्नु भएको भए पदीय गरिमा जोगिन्थ्यो होला ।’

उनले भने, ‘कहिले काहिँ खुट्टा उचाल्ने क्रममा सन्तुलन नमिल्दा पैतला चिप्लेर कम्मर भाँचिने जोखिम पनि उत्तिकै हुन्छ । सजग रहनु होला ।’

‘प्रधानमन्त्रीले तत्कालीन अर्थमन्त्रीले सहयोग नगरेको आरोप लगाउनुभएको छ । आरोप लगाउनु अगाडि एक पटक तथ्याङ्क जानेको र बुझाउन सक्ने व्यक्तिलाई राखेर केलाउनु भएको भए, यस्ता भ्रममा पर्नुपर्ने थिएन’, बस्नेतले भने ।

सांसद बस्नतले भने, ‘अर्थमन्त्री आउनु अगाडि आर्थिक बृद्धि १ दशमलव ८६ प्रतिशत थियो । बाहिरिदा ३ दशमलव २ प्रतिशत पुगेको छ । मूल्य बृद्धि ७ दशमलव २६ प्रतिशतबाट घटेर ५ दशमलव २५ प्रतिशतमा झरेको छ ।’

‘विदेशी विनिमय १३ खर्ब २७ अर्ब बढेर १८ खर्ब १६ अर्ब पुगेको छ । भुक्तानी सन्तुलन ९७ अर्ब १० करोडबाट बढेर २ खर्ब ७३ अर्ब पुगेको छ । बजेट खर्च ७ खर्ब २२ अर्बबाट बढेर ७ खर्ब ५२ अर्ब पुगेको छ’, उनले भने ।

‘राजस्व संकलन ५ खर्ब ४९ अर्बबाट बढेर ६ खर्ब ७ अर्ब पुगेको छ । विदेशी लगानी १८ अर्ब ६३ करोडबाट बढेर २२ अर्ब ६८ करोड पुगेको छ । यो तथ्याङ्क केलाएर हेर्नु भयो भने प्रधानमन्त्री आफैलाई पनि लाज लाग्न सक्छ’, उनले भने ।

‘कांग्रेसले अर्थ मन्त्रालय सम्हाल्दै गर्दा देश डुब्यो, अब बिकल्प छैन भन्दै झटपटाउने पनि नीतिग तथ्याङ्क सुधार गर्दै संकटमा परेको अर्थतन्त्र र त्यसलाई ट्रयाकमा ल्याउनु अर्थमन्त्री (डा.प्रकाशशरण महत)ले के गल्ती गर्नुभयो ? जनताले दिनभर पसिना बगाएर छाक काटेर राज्यलाई तिरेको करको पैसा स्वघोषणा गरेका हजारौँ शहीदहरूलाई बाँड्ने काम कतिको न्यायचित हो भनेर एक पटक आफ्नै छातीमा राखेको भए प्रधानमन्त्रीबाटै जवाफ आउँथ्यो होला’, बस्नेतले भने ।

‘उहाँले भन्नुभएको आर्थिक क्रान्ति भनेको जनताले तिरको करलाई कार्यकर्तालाई बाँड्नु नै हो त ? प्रधानमन्त्रीले यस्ता नीतिगत सुधार, तथ्याङ्कमा खासै विश्वास छैन होला । प्रधानमन्त्री उथलपुथलमा व्यस्त हुनु हुँदो रहेछ’, उनले भने ।

‘अनि हाम्रो देशको बिडम्बना पनि कस्तो त्यहि व्यक्ति जो विषयमा अध्ययन गरेर देश हितको काम गर्छु भन्दा उल्टै लाञ्छित हुनुपर्ने अनि देशमा किन बस्ने ?’, उनले भने ।

‘प्रधानमन्त्रीज्यूलाई बधाइ दिन चाहन्छु । आफन्तको लागि जुन हदसम्म उहाँले मेहनत गर्नुभएको छ’, उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूबाट अन्य दलका शीर्ष नेताले सिको गर्ने हो भने देश कहाँ पुग्ला र जनताले कसलाई विश्वास गर्नु होला भन्ने यज्ञ प्रश्न हाम्रो सामु छ ।’

Published : Wednesday, 2024 March 20, 6:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया