चीनले ६ अर्ब ६७ करोडमा भिडाएका ५ जहाज कबाडीमा पनि बिक्री भएन

काठमाडौं । चीनले नेपाललाई भिडाएका पाँच वटा जहाजहरू बिक्री हुन सकेका छैनन् ।

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले दोस्रो पटक लिलामका लागि राखेका चिनियाँ जहाज सकार्न कसैले पनि चासो देखाएका छैनन् । कुनै पनि प्रस्ताव नपरेपछि निगमले मंगलबार पुन: ग्लोबल टेन्डर आह्वान गरेको छ ।

चीनले भिडाएका पाँच वटा जहाजहरू कवाडीको मूल्यमा पनि बिक्री नहुने अवस्था आएको छ ।

निगमले दुईवटा एमए–६० र तीनवटा वाई–१२ ई जहाजहरूलाई सकार्न पुस ५ गते लिलामीको सूचना निकालेको थियो ।

चिनियाँ जहाज सकार्न माघ २१ गतेसम्म कुनै पनि कम्पनीले प्रस्ताव राखेका छैनन् । निगमले फागुन ९ गतेसम्ममा व्यक्ति वा संस्थाले टेन्डर बुझाउन सक्ने गरी सूचना प्रकाशन गरेको छ ।

चीनले भिडाएका पाँच वटा जहाजहरू करिब साढे तीन वर्षदेखि त्रिभुवन विमानस्थलमा ग्राउन्डेड छन् । ५ वटा जहाजलाई १३ वर्षअघि चीनबाट ल्याइएको थियो ।

निगम सञ्चालक समितिले चीनबाट ल्याइएका ५ वटा जहाजको सञ्चालन खर्च धान्न नसकिएको भन्दै २०७७ साउन १५ गतेदेखि ग्राउन्डेड गरेको थियो ।

५ वटा जहाज ग्राउन्डेड भए पनि निगमले बीमा र पार्किङ शुल्क नेपाल नागरिक उड्डयन प्राधिकरणलाई भुक्तानी गर्दै आएको छ ।

पाँच वटा जहाजको अहिलेको मूल्यांकनका आधारमा ३८ करोड रूपियाँ कायम गरिएको छ । यो कबाडीको मूल्य हो ।

१३ वर्षअघि ६ वटा चिनियाँ जहाज ६ अर्ब ६७ करोड १० लाख रूपियाँमा किनिएको थियो ।

एमालेका नेता समेत रहेका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका पालामा चिनियाँ जहाजको उडान रोकिएको थियो ।

निजी क्षेत्रको एउटा विमान कम्पनीको स्वार्थमा ती जहाजलाई मन्त्री भट्टराईले उडान रोकिदिएको आरोप छ ।

नेपालले बोइङ र एयरबसका जहाज मात्र चलाउँदै आएकोमा चिनियाँ जहाज नेपाललाई भिडाइएको थियो । चीनले महँगामो भिडाएका ५ जहाजकै कारण पनि नेपाल युरोपको कालोसूचीमा परेको थियो ।

Published : Thursday, 2024 February 8, 10:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया