रुपन्देहीमा पर्यटकीय र तारे होटल सञ्चालकहरूको नयाँ संगठन

लुम्बिनी । रुपन्देहीका पर्यटकीय र तारे होटेल सञ्चालकहरू संगठित हुँदै ‘होटल एशोसिएसन अफ रुपन्देही नेपाल’ गठन गरेका छन् ।

बुटवलमा क्लब डेनोभोका सञ्चालक प्रवीणबहादुर पाठकको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ । उपाध्यक्षमा दिलीप गौचन, महासचिव विकास पाण्डे, कोषाध्यक्ष पदम केसी, सहकोषाध्यक्ष प्रनिदा दीक्षित तथा सदस्यहरूमा प्रवीण शाक्य, ध्रुव पाण्डे, शोभाखर बन्जाडे, टेकनाथ बस्याल रहेका छन् ।

होटल एशोसिएसन नेपाल (हान)मा आवद्ध हुने गरी गठन भएको एशोसिएसनमा रुपन्देहीका बुटवल, तिलोत्तमा, सिद्धार्थनगर, देवदह, सैनामैना र लुम्बिनी सांस्कृतिक गरी ६ वटै नगर र छपिया क्षेत्रका पाँचतारेसहित करिब ५० वटा होटेल आवद्ध रहेका छन् ।

रुपन्देहीमा होटेल र रेष्टुँरा मिश्रित आधा दर्जन बढी संस्था क्रियाशील भए पनि पर्यटकीय र तारे होटलहरू मात्रै आवद्ध जिल्लाव्यापी संस्था नभएकाले विशिष्टीकृत संस्थाको रुपमा काम गर्ने गरी एशोसिएसन गठन गरिएको अध्यक्ष पाठकले बताएका छन् ।

होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिलाउन, सरकारको नीति तथा कार्यक्रम, बजेट निर्माण र पर्यटनसम्बन्धी नीति निर्माणमा होटेल एशोसिएसनको प्रतिनिधित्व अनिवार्य गराउन तीनै तहका सरकारसँग पहल गर्ने एशोसिएसनको मुख्य उद्देश्य रहेको अध्यक्ष पाठकले बताए ।

भेलामा सहभागी होटेल एशोसिएसन अफ नेपाल (हान)का केन्द्रीय सदस्य गोपाल राना, अग्रज होटेल व्यवसायी माधव नेपाल, महेन्द्रनारायण श्रेष्ठलगायतले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र यथाशीघ्र सञ्चालनमा ल्याउन, बुटवल–नारायणगढ सडक निर्माण छिटो पूरा गराउन एशोसिएसनले सरकारलाई दबाब दिनुपर्ने जनाएको छ ।

विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु पर्याप्त नहुँदा र बुटवल–नारायणगढ सडक निर्माण समयमा पूरा नहुँदा ६० प्रतिशत ब्यापार घटेको व्यवसायीको गुनासो छ ।

भारतीय पर्यटकलाई सीमा नाका, अध्यागमन कार्यालय र नेपाल प्रवेश गरेपछि सडकमा ट्राफिक प्रहरीबाट सम्मानजनक व्यवहारको साटो दु:ख दिने काम भएको भन्दै यसलाई रोक्नुपर्ने, भारतीय पर्यटकका गाडीलाई रुपन्देही जिल्लाभर चल्न दिनुपर्ने, भारतीय नागरिकलाई भारु २५ हजार मात्र साथमा लिएर हिंड्न पाउने प्रावधान अव्यवहारिक भएकाले सरकार स्तरमा वार्ता गरी सहज बनाउनुपर्ने व्यवसायीको माग रहेको छ ।

अन्तर्राष्ट्रिय हवाई भाडा दरमा नेपाली र विदेशीका बीच ठूलो अन्तर हुँदा विदेशी पर्यटकमा नकारात्मक असर परेकाले विदेशी पर्यटकका लागि हवाई भाडा दर घटाउन एशोसिएसनले पहल गर्नेछ ।

रुपन्देहीका ठूला होटेलहरु भारतीयका लागि विवाह–व्रतबन्ध पर्यटन (माइस टुरिज्म) को माध्यम हुन सक्ने भएकाले सरकारले नीतिगत सुधार गर्नुपर्ने व्यवसायीको माग छ ।

Published : Saturday, 2023 September 23, 10:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया