चीनको अर्थतन्त्र ओरालो, बिग्रँदै गयो अवस्था

काठमाडौं । बिग्रँदै गएको आर्थिक सन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरालो लागेको छ ।

मे महिनाका निराशाजनक तथ्यांकले चीनको अर्थतन्त्र ओरालो लागेको देखाएको छ । न्यून खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त औद्योगिक उत्पादनले अवरुद्ध भएको आर्थिक पुनरुत्थानलाई संकेत गर्छ ।

मे महिनामा चीनको खुद्रा बिक्री ३.१ प्रतिशतले बढ्यो । अघिल्लो महिनामा १२.७ प्रतिशत थियो । औद्योगिक उत्पादनमा झिनो सुधार आएर ३.५ प्रतिशतबाट ४.४ प्रतिशत पुगे पनि माग सुस्त रह्यो ।

सन् २०२३ को पहिलो छ महिनामा सरकारी स्वामित्वका उद्यमहरूको लगानी ८.१ प्रतिशतले बढे पनि निजी क्षेत्रको स्थिर सम्पत्ति लगानी ०.२ प्रतिशतले संकुचित भएको छ । निजी क्षेत्रको व्यावसायिक विश्वास गुमेको संकेत गरेको छ ।

जुनमा चीनको निर्यात पनि १२.४ प्रतिशतले घटेको छभने आयात ६.८ प्रतिशतले घटेको छ । विकसित देशहरूमा उच्च मुद्रास्फीति र भूराजनीतिक अवस्थाका कारण चीनको वैदेशिक व्यापारले वर्षको अन्त्यतिर समस्याको सामना गर्नुपर्ने परिस्थिति उत्पन्न हुन सक्छ ।

प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई)को प्रवाह पनि वर्षको पहिलो पाँच महिनामा ५.६ प्रतिशतले घटेको छ । चीनमा व्यापार गर्नु जोखिमपूर्ण छ भन्ने धारणाले यहाँ पुँजीको प्रवाहलाई संकुचित गरेको हो कि भन्ने देखाउँछ । एमएससिआई चाइना इन्डेक्सले चिनियाँ कम्पनीमा विदेशी लगानी ६ प्रतिशतले घटेको देखाएको छ ।

इक्विटी बजारले पनि विश्व बजारको तुलनामा कमजोरी देखिएको छ, जसले आर्थिक वृद्धिलाई कमजोर बनाउन सक्ने देखिन्छ । राष्ट्रपति सी जिनपिङको नेतृत्वमा रहेको सरकारले सुस्त अर्थतन्त्रको समाधान खोज्न आवश्यक कदम र उपकरण परिचालन गर्ने ठानिएको छ ।

Published : Friday, 2023 July 21, 12:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया