काठमाडौंसहितका जिल्लामा पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको विज्ञप्तिमा उल्लेख छ ।

निगमले काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपियाँ मूल्य घटाएको छ ।

तराईका जिल्लामा प्रतिलिटर साढे ७ रुपियाँ घटाएको छ । सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपियाँका दरले मूल्य घटाएको निगमले जनाएको छ ।

सञ्चालक समितिको बैठकले सो मूल्य घटाउने निर्णय गरेको हो । यसपटक भने निगमले वैज्ञानिक प्रणालीबाट मूल्य निर्धारण गरेको निगमका प्रवक्ता मनोज ठाकुरले बताएका छन् ।

तराई (चारअली, विराटनगर, जनकपुर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी)लाई पहिलो वर्गमा राखिएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ रहेका छन् । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल परेका छन् । काठमाडौं, पोखरा र दिपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपियाँ पर्नेछ । काठमाडौं, पोखरा दिपायलमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०/१५० रुपियाँ पर्नेछ ।

तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७.५ रुपियाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७.५/१४७.५ रुपियाँ पर्नेछ ।

सुर्खेतको र दाङमा भने पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपियाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९/१४९ रुपियाँ पर्नेछ ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखेको छ । हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपियाँ तथा वाह्य इन्धनको मूल्य १५ रुपियाँले घटेको छ ।

Published : Tuesday, 2023 July 4, 8:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया