करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक पारित

काठमाडौं । आर्थिक विधेयक, २०८० प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक बहुमतले पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथि परेका संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएपछि विधेयक पारित भएको छ ।

विधेयकमाथि सांसदहरू प्रेम सुवाल, सुमना श्रेष्ठ, शिशिर खनालले संशोधन प्रस्ताव पेस गरेका थिए । विधेयकमाथि सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.महतले सरकारले स्वदेशी उत्पादनकर्ताहरूलाई प्रोत्साहन गर्ने गरि बजेट ल्याएको बताएका छन् ।

किसानले उत्पादनको उचित मूल्य नपाएको र बिचौलियाको चलखेल भएको सम्बन्धमा सरकार गम्भीर भएकाले नै सरकारले साना किसानको उत्पादन बजारमा लैजाँदा भ्याट नलाग्ने व्यवस्था गरिएको उनले बताएका छन् ।

अर्थमन्त्री डा.महतले सूर्तीजन्य पदार्थमा सरकारले आवश्यक कर थप गरेको बताए । उनले विपत् अथवा भैपरी आउने अवस्थाका लागि विविध शीर्षकमा जहिले पनि केहि बजेट राख्ने गरिएको बताए ।

विधेयकको छलफलका क्रममा सांसदहरूले विद्युतीय धुम्रपानका वस्तुमा भन्सार शुल्क नलगाएको तर, विद्यार्थीले प्रयोग गर्ने वस्तुहरूमा कर लगाइएको बताएका छन् ।

उनीहरूले स्वदेशी उद्योग र उत्पादनका लागि कच्चापदार्थ आयातमा सहज हुनेगरी भन्सार शुल्क निर्धारण गर्नुपर्ने बताएका छन् ।

Published : Sunday, 2023 July 2, 5:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया