आलोचना भइरहेका बेला बजेटबारे डा.महतले इमान्दारिता देखाए

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभइकन पास हुने बताएका छन् ।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा.महतले बजेट असार १३ गते कुनैपनि संशोधनबिना पास हुने बताएका हुन् । उनले आफूले बजेट ल्याउँदा सीमित श्रोत, साधनलाई मध्यनजर गरेर ल्याएको बताएका छन् ।

अर्थमन्त्री डा.महतले आजको वास्तविकतामा बजेट आएको बताएका छन् । उनले बजेटमा समानता भएन भन्ने सांसदहरूको भनाइ आफूले मागेअनुसारको नआएको भन्नेमा मात्रै सीमित रहेको बताए ।

बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने पनि उनले बताएका छन् ।

‘बजेट पास हुन्छ त्यसमा दुईमत नै छैन । थोरै साधन श्रोत, आवश्यकता धेरै यो आजको वास्तविकता हो’, उनले भने, ‘आजको सम्भावित श्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो ।’

‘हाम्रो सम्भावित श्रोतलाई मध्यनजर राखेर कति खर्च गर्न सकिन्छ भन्ने हो’, उनले भने, ‘बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँ सम्बोधन हुनेछन् ।’

‘आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन । पहिला नै धेरै सुझाव लिइसकेर बजेट ल्याएका हौँ’, डा.महतले भने, ‘विधिभित्र रहेर काम गर्नेछौँ ।’

डा.महतले बजेट ल्याउनुपूर्व नै धेरै छलफल गरेर ल्याइएको बताएका छन् । उनले विधिभित्र रहेर बजेट पास हुने बताए ।

Published : Monday, 2023 June 26, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया