ओलीे बैंकक जाँदा ‘रअ’का प्रमुखले दिल्ली छाडे, प्रचण्ड शसंकित

काठमाडौं । माओवादीसँगको पार्टी एकीकरण प्रक्रियालाई एमालेका दोस्रो तहका नेताहरूले नरुचाएपछि अध्यक्ष केपी ओली संकटमा परेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महाधिवेशन अगाडि एकीकृत पार्टीको अध्यक्ष दिन ओली नै सकारात्मक नदेखिएको बताइएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

एमालेका महासचिव ईश्वर पोखरेलले अहिले पनि एकीकृत पार्टीको अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री एउटै व्यक्ति रहने भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

एमालेले तीन वटै पद आफूसँग राख्ने हो भने किन पार्टी एकीकरणको अवाश्यकता प¥यो भनेर माओवादीका नेताहरूले प्रश्न गर्न थालेका छन् ।

मंगलबार बालकोटमा बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठकमा माओवादीका नेताहरूले पार्टी एकीकरणमा लिखित प्रतिवद्धता गरेर जान प्रस्ताव गरेका थिए ।

तर, ओलीले आफू उपचारका लागि बैंकक जान लागेको भनेर माओवादीको लिखित प्रतिवद्धतालाई पन्छाइदिएका थिए ।

माओवादीका एक नेताले भने,‘पार्टी एकीकरण गर्ने कुरा चलेको छ । पार्टी एकीकरण गर्नेबारे लिखित प्रतिवद्धता गरेर जाऔँभन्दा एमालेका नेताहरू मान्दैनन् ।’

एमालेले लिखित प्रतिवद्धता नगरेकै कारण विशेष मौकामा धोका दिने हो कि भनेर माओवादी नेताहरू डराइ रहेका छन् । एमाले र माओवादी केन्द्रको नयाँ सरकार बन्ने पक्का छ ।

यदि माओवादीले धोका दियो भने उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाललाई लिएर सरकार बनाउने योजनामा ओली छन् ।

एमालेका एक नेताले भने,‘माओवादीले धेरै निहूँ नखोजे पनि हुन्छ । एमालेसँग अनेक बिकल्प छन् ।’ यो कुरा थाहा पाएरै माओवादीले एमालेसँग बारम्बार लिखित प्रतिवद्धताको कुरा उठाउने गरेको हो ।

एकहप्तासम्म बैंककमा रहने ओली उताबाट कुन मुडमा फर्कने हुन् माओवादीका नेताहरू चिन्तित बनेका छन् । स्रोतका अनुसार स्वास्थ्य उपचारसँगै भारतीय गुप्तचर संस्था ‘रअ’को प्रमुख अनिल धसमानलाई भेट्न ओली बैंकक गएका हुन् । अनिल धसमान मंगलबार नयाँदिल्लीबाट बैंकक प्रथान गरेको उच्च स्रोतले जनाएको छ ।

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले केही दिन अगाडि केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोप्य रुपमा भेटेका थिए ।

सो भेटमा ओलीले मधेस केन्द्रित दल राजपा नेपाललाई सरकारमा ल्याइदिन आग्रह गरेको स्रोतको भनाई छ । त्यसपछि भारतले भने अनुसार आफू काम गर्न तयार रहेको ओलीले राजदूत पुरीलाई आश्वासन दिएका थिए । ओली बुधबार बैंकक प्रस्थान गरिसकेका छन् ।

Published : Thursday, 2018 January 11, 9:27 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया