ओली नभएका बेला प्रचण्डले बढाए सक्रियता, सिंहसँग गम्भीर परामर्श

ललितपुर । एमाले र माओवादीबीच पार्टी एकीकरणका विषयमा छलफल सुरु भएका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहबीच भेट भएको छ ।

बिहीबार बिहान अध्यक्ष प्रचण्डलाई भेट्न महामन्त्री सिंह प्रचण्ड निवास खुमलटार पुगेका थिए । भेटमा बाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारेमा कुराकानी भएको प्रेस नोटमा उल्लेख छ ।

भेटमा नेता सिंहले बामपन्थीहरू मिलेर अघि बढ्दा मात्रै मुलुकमा राजनीतिकस्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिएका थिए ।

माओवादी अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बामपन्थीहरू मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताएका थिए ।

प्रचण्ड र सिंह राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेद्वार खडा गर्दै बामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत भएका छन् ।

एमालेका अध्यक्ष केपी ओली उपचारका लागि बैंकक प्रस्थान गरेको दोस्रो दिन प्रचण्ड र मोहनविक्रम सिंहबीच भेटवार्ता भएको छ । ओली नेपालमा नरहेका बेला प्रचण्डले राजनीतिक वार्तालाई तीब्रता दिएका विषयमा एमालेका नेताहरूले चासोका रुपमा हेरेका छन् ।

Published : Thursday, 2018 January 11, 9:04 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया