पार्टी एकता भाँड्ने प्रयास भयोः ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले नयाँ सरकार गठनको विषय प्रतिनिधिसभाको स्वतन्त्र अधिकार भएको बताएका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार थाइल्याण्डको बैंकक प्रस्थान गर्नुअघि विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सरकार र निर्वाचन आयोगले निर्वाचन भएको एक महिना बिते पनि सत्ता हस्तान्तरणमा ढिलाइ गरेकामा असन्तोष व्यक्त गरे ।

उनले भने, ‘नयाँ सरकार बनाउने प्रतिनिधिसभाको स्वतन्त्र अधिकार हो । तर, यसलाई ३३ प्रतिशत महिलाको विषयका नाममा राष्ट्रियसभासँग जोडेर अवरोध गरिएको छ ।’

अध्यक्ष ओलीले संविधान कार्यान्वयन र जनताको हितका विषयमा संशोधन गर्नुपर्नेमा नकारात्मक व्याख्या गरेर लोकतन्त्रको गतिलाई अड्काउने काम भएको टिप्पणी गरे ।

निर्वाचनबाट प्राप्त जनताको अभिमतको अवमूल्यन गरेर लोकतन्त्रअघि बढ्न नसक्ने बताउँदै उनले वर्तमान सरकारले सत्ता हस्तान्तरणसँग सम्बन्धित प्रदेश प्रमुख नियुक्ति, प्रदेशको अस्थायी राजधानी तोक्नेजस्ता काम मात्र गर्न सक्ने उल्लेख गरे ।

अध्यक्ष ओलीले माओवादी केन्द्रसँगको एकता चाँडै हुने जनाउँदै एकता भाँड्न गरिएका सबै षड्यन्त्र असफल हुने दाबी गरे । ‘हामीलाई नेताहरूको पदको व्यवस्थापनको चिन्ता छैन, जनताको सुख र समृद्धिको चिन्ता छ, म विदेशबाट फर्केपछि तीव्रताका साथ एकता प्रक्रिया अघि बढ्छ’, उनले भने ।

अध्यक्ष ओली बैंककस्थित बुङ्रुगाड अस्पतालमा स्वास्थ्य परीक्षण गराई आगामी माघ २ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Published : Wednesday, 2018 January 10, 5:17 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया