ओली–प्रचण्डबीच गोप्य वार्ता, कार्यदलका दुई सदस्य आएनन्

भक्तपुर । एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठन गरेको कार्यदलले बिहीबारदेखि आफ्नो काम शुरु गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बुधबार एमाले ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको कार्यदलको बैठकले काम गर्न निर्देशन दिएपछि कार्यदलले काम शुरु गर्ने भएको हो ।

कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले कार्यदलले चारवटा मापदण्डका आधारमा काम शुरु गर्ने सहमति भएको जानकारी दिए ।

उनले बैठकमा कार्यदलको काम गर्ने आधारबारे छलफल भएको बताउँदै राष्ट्रियसभा र प्रदेशसभाका विभिन्न पदाधिकारीको व्यवस्थाबारे प्रारम्भिक छलफल भएको बताए । कार्यदलले सघन रूपमा काम शुरु गर्ने बताएका पुनले भने, ‘यो बीचमा पार्टी एकता भए कार्यदलको काम रहने छैन । दुई पार्टी छिट्टै एक हुनेछन् ।’

कार्यदलले गृहकार्य गरेर राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्ने भएको छ ।

प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको सिट सङ्ख्या र मतभारलाई आधार बनाएर, विभिन्न व्यक्तिले खेल्न सक्ने भूमिकालाई ख्याल गरी प्रभावकारी ढंगले सरकार र संसद्मा नेतृत्व गर्न सक्नेलाई तथा एकताको गतिमा, दुवै पक्षको सन्तुलनलाई ख्याल राखेर सिट विभाजन गरेर काम गर्न कार्यदलले म्याण्डेड पाएको पुनले जानकारी दिए ।

एमाले नेता तथा कार्यदल सदस्य शंकर पोखरेलले केपी ओली र पुष्पकमल दाहालले कार्यदललाई तत्काल काम शुरु गर्न निर्देशन दिएको बताए ।

छलफलपछि कार्यदलका सदस्य बाहिरिएपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष दाहालबीच थप छलफल भएको थियो ।

कार्यदलमा एमाले नेता सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव रहेका छन् । बुधबारको बैठकमा पाण्डे र यादव भने उपत्यकाबाहिर भएकाले बैठकमा उपस्थिति नभएको जानकारी दिइएको छ ।

Published : Wednesday, 2018 January 10, 5:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया