बालकोटमा एमालेको खास निर्णय, अब के होला ?

काठमाडौं । एमालेले राजनीतिक कार्यदिशा, नेतृत्व र पार्टी एकताका प्रक्रियाबारे जथाभावी अभिव्यक्ति नदिन नेताहरूलाई निर्देशन दिएको छ ।

भक्तपुरको बालकोटमा सोमबार बसेको एमाले स्थायी समितिको बैठकले पार्टी एकीकरण प्रक्रियालाई असर पुग्ने गरेर अभिव्यक्ति नदिन निर्देशन दिएको हो । बैठकले माओवादी केन्द्रसँगको पार्टी एकीकरण प्रक्रियालाई टुंगोमा पुगाउनेमा पनि जोड दिएको छ ।

पार्टी एकीकरणका लागि एमाले र माओवादी केन्द्रका नेताहरू सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक मंगलबार बस्दैछ । सो बैठक बस्नु एकदिन अगाडि एमालेले पार्टी एकीकरणको विषयलाई गम्भीर रुपमा लिएको जनाएको छ ।

प्रतिनिधिसभा समानुपातिकको परिणाम सार्वजनिक नगरिएको र नयाँ सरकार गठन प्रक्रिया अवरुद्ध बनाइएको भन्दै एमालेले आक्रोश जनाएको छ ।

निर्वाचन आयोगले निर्वाचन परिणाम राष्ट्रपतिलाई नबुझाउनु संविधानको भावना विपरीत भएको एमालेको ठहर छ ।

एमाले बैठकले कसैको दबाब र प्रभावमा नपरी आफ्नो संवैधानिक दायित्व पूरा गर्न आयोगको र नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नु सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रदेश प्रमुख मात्र नियुक्त गर्ने तर, अस्थायी मुकाम नतोक्ने सरकारको तयारीको विरोध गरेको छ ।

प्रदेशसभा सदस्यहरुको शपथ काठमाडौंमा गराउने तयारीले सरकारको संघीयता विरोधी चरित्र उदाङ्गो हुनुका साथै सरकार आफ्नो संवैधानिक दायित्वबाट विमुख भएको र प्रदेश केन्द्र जस्तो बिषयमा सङ्कीर्ण दलीय स्वार्थबाट सञ्चालित भएको प्रष्ट भएको एमालेको ठहर छ ।

उसले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्ने काम संविधानको व्यवस्था अनुसार एकसाथ अगाडि बढाउन माग गरेको छ ।

एमालेले कामचलाउ सरकारले जथाभावी नियुक्ति, सरुवा–बढुवा र नीतिगत निर्णय गरेको भन्दै आपत्ति जनाएको छ ।

Published : Monday, 2018 January 8, 8:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया